‘हिजोको जस्तो पजनी शैलीले अब संगठन चल्दैन, धन्न काँग्रेस टिकेको पो छ, सरकारको राष्ट्रवाद लुते भयो’

नेपाली काँग्रेस सोलुखुम्बुका युवा नेता राम बहादुर बस्नेतले लोकतान्त्रिक पद्दतीमा नविनतम एकताकासाथ पार्टी सञ्चालन गर्नु पर्ने बताएका छन् । नेता बस्नेतसँग पार्टीकाे अवस्था, केन्द्रमा उठेकाे विवाद, सरकारकाे काम कारवाही र आजको सन्दर्भमा राष्ट्रिय राजनीति र सोलुखुम्बु नेपाली काँग्रेसको संगठनको बारेमा गरिएकाे संक्षिप्त कुराकानीः
नेपाली काँग्रेस यतिबेला केन्द्रमा के गर्दै छ ?
नेपाली काँग्रेस एउटा गर्विलाे इतिहास बोकेको लोकतान्त्रिक पार्टी हो । नेपालको राजनीतिक इतिहासमा नेपाली जनताको हक र अधिकारको निम्ति लोकतन्त्रको लागि कुनै किसिमका तानाशाही शासकसँग सम्झौता नगरि लोकतान्त्रिक पद्दतिका लागि आजका दिनसम्म लडिरहेको पार्टी हो ।

आज पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई संस्थागत गर्न जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको छ । सत्ता स्वार्थको एकमात्र उद्देश्यको गठबन्धनबाट प्राप्त परिणामले बन्न पुगेको दुई तिहाइको सरकारले निर्माण गर्न लागिरहेको कम्युनिष्ट अधिनायकवादी शासनको विरुद्ध खबरदारी गर्दै झन संगठित रुपमा लोकतान्त्रिक विधिको रक्षाका निम्ति एउटा प्रभावकारी अभियानमा जुट्ने क्रममा छ काँग्रेस ।
उपनिर्वाचनको परिणामलाइ कसरी हेर्नु भएकाे छ ?
नेकपाको केन्द्रमा दुईतिहाइको सरकार, सातवटै प्रदेशमा सरकार र अधिकांश स्थानीय तहमा उनिहरुको सरकार छ । कार्यकाल अझै करिव तीन वर्ष बाँकी छ । यो उपनिर्वाचनले कुनै पनि सत्ता परिवर्तन गर्ने कुरा थिएन । हामीले भोट माग्दा पनि जनतासँग त्यहि कुरा राख्यौं । उपनिर्वाचनले सरकार बनाउन या बदल्न भैराखेको छैन तर तपाईको एक मतले सरकारलाई सच्याउन योगदान गर्न सक्छ भनेर मतदाताहरुलाई अपिल गरेका थियौं । यो चुनावले सरकार सच्चिनु पर्ने सन्देश प्रष्ट दिएको छ । चितवन, भक्तपुर र धरानको जीत र मत परिणामलाई हेर्दा हामीलाई सन्तोष मिलेको छ, तर उत्साही बनाएको छैन । हामीले भोलिको दिनमा अझैं संगठित भएर मेहेनत गर्न आवश्यक छ । लोकतन्त्र विनाको विकास मात्रले नेपाली जनता मान्ने पक्षमा छैनन् भन्ने कुरा सत्ताधारीले बुझ्न जरुरी छ ।
पार्टीको अहिलेको केन्द्रको विवाद चाँहि के हो ?
हामीले संस्कार भुल्यौं । पार्टीलाई संस्कार युक्त बनाउन सकेनौं । एउटा लोकतान्त्रिक पार्टी विधिविधान र संस्कारले बाँधिएको हुनुपर्छ । पार्टी संस्थागत चलाउनु पर्यो । विधानलाई च्यालेन्ज गरेर गुट झाँगिन थाले, जसले गर्दा संगठन कमजोर भएर गयो । हिजो पार्टी मिटिङ नै बहिस्कार गर्नु हुँदैन थियो । यो नेपाली काँग्रेसको दुर्भाग्य हो । आजको परिस्थितिमा सबै विभाग र भातृसंस्थाहरुलाई पूर्णता दिएर एउटा स्वच्छ लोकतान्त्रिक अभ्यासबाट नेपाली काँग्रेस पार्टीलाई एक ढिक्का बनाएर लानुको विकल्प छैन, लोकतन्त्र बचाउनुको खातिर । सधैं संस्थापन इतर पक्षले जे भन्यो त्यही हुबहु गर्नु पर्ने हो भने सभापति र सभापतिसँग भएको बहुमतको के काम भयो त ? त्यसैले अधिकतम सहमतिमा आएर पार्टीलाई अनिर्णयको बन्धि बनाउने काम कसैले पनि गर्नु हुन्न । हिजो जो जसले बसाएको भएपनि गलत नजिर, प्रथालाई अव सुधार गरेर नगए आज पार्टीमात्र होइन मूलक नै बर्बाद हुने निश्चित छ ।
प्रतिपक्षको भूमिका निर्वाह गर्न काँग्रेस असफल भएकै हो त ?
नेपाली काँग्रेस एउटा जिम्मेवार पार्टी हो । यो सँधैं लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्दछ । आजसम्म भएका सबै ऐतिहासिक राजनीतिक परिवर्तनहरुको सफल नेतृत्व नेपाली काँग्रेसले मात्र गर्दै आएको छ । जे जस्तो वातावरण र परिस्थितिमा निर्वाचन भए पनि प्रतिष्पर्धाको लोकतान्त्रिक अभ्यासबाट प्राप्त परिणामलाई सिरोधार्य गर्ने संस्कार र परम्परा अनुरुप सरकारले आफ्नो काम अगाडि बढाओस् र जनताको पक्षमा काम गरोस् भन्ने हाम्रो चाहना हो ।
हामी गैह्रजिम्मेवार ढंगले हिजोको जस्तो कम्युनिष्टहरुले गरेको बन्द हड्ताल र रेरिङ भाच्ने काम त हामीले नगरेको चाहि पकै हो । नेपालकै इतिहासमा यो शक्तिशाली सरकार हो । यसलाई केही पनि अप्ठ्यारो छैन, यति जिम्मेवार प्रतिपक्षले पाएको छ, तै पनि सरकार सबै सेक्टरमा बदनाम र असफल भइ सक्यो । प्रतिपक्षले मुलुकको विकासको लागि हैन, लोकतान्त्रिक मुल्यमान्यता र पद्दतिको निम्ति लड्नु पर्ने बाध्यता भइसक्यो । अब सरकारको कार्यशैली सुधार गर्न जनताको पक्षमा निष्पक्ष काम होस् भनेर प्रतिपक्ष सडक र सदन दुवै ठाउँमा शसक्त ढंगले अगाडि बढ्छ र बढ्नुपर्छ । यो विषयमा हामीसँग पार्टीभित्र कुनै मतमतान्तर छैन । अव प्रतिपक्ष देखिन्छ ।
सोलुखुम्बु नेपाली काँग्रेसको संगठनको अवस्था र विद्यमान विवादको विषयमा तपाईको भनाई के हो ?
सोलुखुम्बु जिल्लाको नेपाली काँग्रेसमा धेरै लामाे समयदेखि विवाद रहेको इतिहास छ । तर पछिल्लो समयमा बैधानिक रुपमा नै जिल्ला कार्यसमितिको निर्वाचनको बारेमा विवाद सिर्जना भयो । त्यस सम्बन्धमा भएको उजुरी, अनसन, छानवीन समिति गठन र छानवीन समितिको प्रतिवेदन यी सबैको विषयमा सबैलाई राम्रोसँग जानकारी छ । यस विषयमा जिम्मेवार पक्ष नराम्रोसँग चुुकेकै हो । जसको परिणाम स्वरुप हामी स्थानीय तहमा नराम्रोसँग पराजीत भयौं, जसको प्रत्यक्ष असर केन्द्र र प्रदेश सभाको निर्वाचनमा पनि पर्यो । नेताहरु अझै यस सबकबाट पनि ज्ञान आएको देखिदैन ।
मुलुकको राष्ट्रिय राजनीतिले सत्ता स्वार्थलाई केन्द्रमा राखेर गठबन्धन गरी मुलुकमा सर्वसत्ता लाद्न खोजिरहेको बेला हामी सबैले आजको दिनमा विगतका सबै कुरा विर्सिएर पार्टीभित्र बृहत्तर र भावनात्मक एकताको लागि साझा धारणा बनाउन आवश्यक छ । हिजो नेतृत्वमा रहेर पार्टी हाक्ने साथीहरुले पार्टीभित्र राजनीतिक सन्तुलन कायम गर्न नसक्दा, निषेध शैली अपनाउँदा र अनुशासन कायम गर्न नसक्दा आज हामी सबै यो अवस्थामा आइपुग्यौं । हामी आफ्नै कार्य शैलीका कारण पार्टीभित्र कमजोर हुुँदै छौं, यहातिर हामी सबैले गम्भिरतापूर्वक नसोच्ने हो भने कसैको पनि राजनीतिक भविष्य सोलुखुम्बमा छैन । अब केन्द्रको मात्र मुख ताकेर नबसि सबै नेता कार्यकर्ता एक ठाउँमा बसेर एउटा राजनीतिक निर्णय गर्दै पार्टीमा एउटा थलोबाट संगठनको बारेमा चिन्तन, मनन र निर्णयमा पुर्याउने गरि गतिलो अभियान सुरु गर्न आवश्यक भैसक्यो ।
जिल्ला अधिवेशन नजिकिँदै गर्दा तपाईकाे सभापतिमा उठ्ने योजनामा हो ?
मैले प्रत्येक जिल्ला अधिवेशनमा सवै सभापतिका आकांक्षी भन्दा धेरै मत अगाडि ल्याएको छु । मैले बाह्रौ जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार हुने मत मात्र होइन चाहना राखेको थिए । तेह्रौं जिल्ला अधिवेशनमा मैले सभापति पदमा उम्मेदवारीको दरखास्त नै दिएको हुँ, यस विषयमा त्यो सिङ्गो जिल्ला नै साक्षी छ । वास्तबमा हाम्रो जिल्लामा लामो समयदेखि निषेध, सिन्डिकेट पद्दतिमा पार्टीलाई यसम्यान उत्पादन कारखाना बनाउने काम भयो । हिजोको जस्तो पजनी शैलीले अब संगठन चल्दैन । हिजो एक ढंगले चल्यो त्यो बेग्लै कुरा हो ।
आज पार्टीभित्र खुल्ला बहस र छलफल आवश्यक छ, हामीले कहाँ गल्ति गर्यौ ? अब कस्तो काँग्रेस र कसको नेतृत्वमा अगाडि जाने भन्ने विषयमा गम्भिर रुपमा सोच्नु पर्ने बेला आयो । इच्छाशक्ति सबै करा होइन, निष्ठा, इमान्दारीता र योग्यता पनि हुनुपर्दछ । अबको जिल्ला हाक्ने नेतृत्वले एउटा नयाँ भिजन र मिसन सहितको राजनीतिक तरंग ल्याउन सक्नु पर्दछ । सबैलाई समेटेर डाइनामिक संगठन बनाउने योजना हुनुपर्दछ । पार्टीको अधिवेसनले मात्र पार्टीलाई लोकतान्त्रिक बनाउछ, खुल्ला राजनीतिक प्रतिष्पर्धा र अन्तरपार्टी पुर्ण लोकतान्त्रिक अभ्यास आजको अपिरिहार्यता हो । म २०४७ सालदेखि जिल्ला कार्यसमितिमा छु । आजसम्म एउटा पनि पार्टीको जिल्ला सम्मेलन हुन सकेन, गराइएन । विधानमा प्रत्येक वर्ष जिल्ला सम्मेलन गर्ने व्यवस्था छ, पार्टीको विधान र नियामवलीमा भएको सवै व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गरियो भने मात्र पनि ७० प्रतिशत संगठनको काम हुन्छ । यतातिर कुनै पनि सभापतिले ध्यान नै दिएनन्, धन्न काँग्रेस टिकेको पो छ ।
अब चौधौं महाधिवेशनको कार्यतालिका पनि आउँदछ, जसले सबै तहको अधिवेशन अवको १५ महिना भित्र सम्पन्न हुनु पर्छ । त्यसैले सोलुखुम्बुमा चौधौं जिल्ला अधिवेशन सम्मपन्न हुँदै गर्दा कसैले पनि आफ्नो योग्यता, क्षमता र निष्ठाका आधारमा उम्मेदवार हुन पाउने वैधानिक अधिकारबाट वन्चित हुने वातावरण नबनोस् र त्यस्तो चेष्टा कसैले पनि नगरोस् भन्ने कुरामा सबैको गम्भिर रुपमा ध्यान जानु आवश्यक छ । जसका कारणले हामीले भोगिरहेको पीडा र कठिनाइ ताजै छन् । आजसम्मका राजनीतिक करियर दाउमा राखेर भएपनि मिलाउन र विधि पद्दति एवं संस्कारयुक्त पार्टी निमार्ण गर्न कुनै कसर पनि बाँकि नराखी कृयाशिल हुने योजनामा छु ।
अन्तमा ने.क.पा को सरकारको बारेमा तपाईको थप टिप्पणी के छ ?
नेपाली जनताले यो सरकारसँग जुन अपेक्षा राखेका थिए त्यो हुन सकेन, सरकारबाट भएका सबै काम कार्वाही कम्युनिष्ट शासन निमार्ण गर्ने बाटोतिर तल्लिन देखिन्छ । सबै क्षेत्रमा सरकार असफल भैसक्यो । हत्या हिंसा, बलात्कार, भ्रष्टाचार, महंगी मात्र होइन अधिकार खोस्ने र निरंकुशता लाद्ने गरी एक पछि अर्को विधेक संसदमा पेश हुन थाले, यसले के देखाउँछ भने सरकार दिनप्रति दिन लोकतन्त्रको उपेक्षा मात्र होइन धज्जी उडाउने काम गरिरहेको छ ।
सरकारको राष्ट्रवाद लुते भयो, भारतबाट भएको सीमा अतिक्रमणको यति ठूलो गम्भिर र सम्बेदनशील विषयमा सिंगो राष्ट्र एकजुट भएको अवस्थामापनि कुनै प्रभावकारी ढंगले कुटनितिक माध्यमबाट पहलकदमी नदेखिनुले र प्रधानमन्त्रीको लामो समयसम्मको मौनताले हिजो केपी ओलीको राष्ट्रवाद आज लम्पसारवादको रुपमा गएको प्रष्ट देखियो । सरकार पूर्ण रुपमा डराएको देखियो, यस्तो सरकारसँग जनताले के आशा राख्ने ? सरकारका यी सबै जनविरोधी प्रवृत्ति सच्याउन प्रयाप्त जनदवाव सिर्जना गर्नुपर्ने अवस्था आइसक्यो ।








