इकोनोमिक्स ओलम्पियाडका उत्कृष्ट ५ ले कजाखस्तानमा प्रतिनिधित्व गर्ने

फागुन ८, काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२० सम्पन्न भएको छ । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२० राष्ट्रिय प्रतियोगिता फेब्रुअरी १४ देखि १६ सम्म राजधानीको युलेन्स स्कूलमा भएको थियो । नेपाल इकोनोमिक्स ओलम्पियाड दुई चरणमा अर्थात् क्षेत्रीय छनोट र राष्ट्रिय प्रतियोगितामा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।
क्षेत्रीय छनौट नेपालका प्रमुख शहरहरू इटहरी, वीरगन्ज, भरतपुर, काठमाडौं, पोखरा र बुटवलमा सम्पन्न भएको थियो । क्षेत्रीय छनौटबाट छानिएका ६० जना विद्यार्थीले राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए ।
काठमाडौं उपत्यका बाहिरका शहरका १० विद्यार्थीले यस प्रतियोगितामा भाग लिएका थिए । राष्ट्रिय प्रतियोगिताका उत्कृष्ट ५ जना विद्यार्थीले जुलाई २१ देखि जुलाई ३० सम्म कजाखस्तानको नूर सुल्तानमा आयोजित अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड २०२० मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

उत्कृष्ट ५ मा पर्ने विद्यार्थीहरुमा ग्लोवल कलेजका मनोज नाथ योगी, क्याम्पियन स्कुलका निशान्त श्रेष्ठ, ग्लोवल कलेज अफ मेनेजमेण्टका ह्षभ पाण्डे, न्यू होराइजन स्कुलका शुशिल खनाल तथा ट्रिनिटी इन्टरनेशनल कलेजका जिवन खड्का रहेका आयोजक यङ इकोनोमिक्स सोसाइटी नेपालका अध्यक्ष अभिषेश पाण्डेले जानकारी दिए ।








