पशु क्वारेन्टाइन गड्डाचोकी चेकपोष्टमा तालाबन्दी

कैलाली, ७ वैशाख । पशु क्वारेन्टाइन गड्डाचोकी चेकपोष्ट कैलालीमा तालाबन्दी गरिएको छ । उच्च अदालत ईजलाश महेन्द्रनगरले दिएको अन्तरिम आदेश समेत नमानेको भन्दै त्रिनगर नाकामा रहेको क्वारेन्टाइनको चेकपोष्टमा तालाबन्दी गरिएको हो । 

पशु क्वारेन्टाइनले चैत २० गतेदेखि दाना उद्योगीहरुका कच्चा पदार्थ बोकेका गाडीहरु आयातमा रोक लगाएको छ । क्वारेन्टाइनले भारतीय क्वारेन्टाइनको स्वस्थ्यताको प्रमाणपत्र भए मात्रै गाडी छोड्ने अडान लिएपछि व्यवसायीहरुले उच्च अदालमा रिट हालेका थिए । कच्चा पदार्थ चेकजाँच गर्दै तत्काल गाडी छोड्न उच्च अदालत ईजलाश महेन्द्रनगरले अन्तरिम आदेश दिईसकेको छ । तर, क्वारेन्टाईनले गाडी छोड्न र अदालतको आदेश मान्न अटेरी गरेपछि आज उद्योग वाणिज्य संघको नेतृत्वमा गएका व्यवसायीहरुले क्वारेन्टाइनमा तालाबन्दी गरेका हुन् । चैत २० गतेदेखि क्वारेन्टाइनले भन्सारमा १६ वटा ट्रक रोकेको छ । आयातमा रोक लगाइँदा कैलालीका सञ्चालित दाना उद्योगहरु संकटमा परेका छन् भने पोल्ट्री व्यवसायमा गरिएको ५ अर्व बढि लगानी डुब्ने खतरा बढेको छ ।यस्तै कैलाली उद्योग वाणिज्य संघले उच्च अदालतको आदेशपछि पनि भारतबाट ल्याईएको कच्चा पदार्थ नछोड्ने क्वारेन्टाइन विरुद्ध कडा संघर्षमा उत्रिने निर्णय गरेको छ । आज धनगढीमा भएको छलफलपछि क्वारेन्टाइन विरुद्ध कडा संघर्षमा उत्रिने निर्णय भएको हो । सोही अन्तरगत आज तालाबन्दी गरिएको हो भने भोलीदेखि विभिन्न संघर्षका कार्यक्रमहरु गर्ने तयारी भएको छ । यस्तै उच्च अदालतको आदेश नमानेपछि क्वारेन्टाइन विरुद्ध अबहेलना मुद्धा हाल्ने पनि निर्णय भएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =