बलात्कार प्रकरणः सिद्धबाबालाई तेस्रो पटक तीन दिन म्याद थप

मंसिर २७, काठमाडौं । सिद्धबाबा भनिने कृष्ण गिरीलाई पुनः तेस्रो पटक म्याद थप गरिएको छ ।
प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिन म्याद थपका लागि अदालतसँग अनुमति मागेको थियो । तर शुक्रबार जिल्ला अदालत सुनसरीले तीन दिनको म्याद थप गरेको हो ।
म्याद थप पछि गिरीलाई पुनः अस्पताल नै लगिएको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए । उनका अनुसार सिद्धबाबाको मुटुमा समस्या देखिएको छ । हाल उपचाररत छन् । उनललाई अदालतले अस्पतालमै राखेर बयान लिने आदेश दिएका कारण विराट नर्सिङ होम नै पठाइएको हो ।

सुनसरी प्रहरीले मंसिर १६ गते चार दिन र मंसिर २० गते बलात्कार मुद्धामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको थियो ।
बलात्कार आरोप मुद्दामा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ ।
सिद्धबाबामाथि आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप छ ।
महिला अनुयायीले कात्तिक ४ गते आफूलाई बलात्कार गरेको भन्दै सिद्धबाबाविरुद्ध किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले मंसिर १६ गते उनलाई नियन्त्रणमा लिएको थियो ।
बलात्कारको आरोप लागेपछि कृष्णदासका अनुवाईहरुले सलिना रामदासी नाग गरेकी महिलाले फेसबुकमा पठाएको म्यासेजहरु सार्वजनिक गरेका थिए ।
जसमा कृष्णदासलाई भेट्ने, चुम्बन गर्ने र अंकमाल गर्ने इच्छा व्यक्त गरिएको छ । यस्ता म्यासेजहरुमा उनले धेरै पटक ‘एकान्तमा भेट्ने’इच्छा व्यक्त गरेकी थिइन् ।
त्यसपश्चात् ती महिलाले पनि कृष्णदासले फोन गरेर रुँदै आफुबाट गल्ती भएको भन्दै एक पल्ट माफि दिन आग्रह गरेको अडियो नै सार्वजनिक गरिदिएकी थिइन् ।








