सियोन स्कुल धरानका डाइरेक्टरको प्रष्टोक्ति

माघ ९, काठमाडौं । धरानस्थित सियोन स्कुलका डाइरेक्टरले स्कुल र नेपाल तरिकाबद्ध परिषद्सँग सम्बन्धित समाचारमा आफ्नो असहमति रहेको भन्दै खण्डन पठाएका छन् ।
सियोन स्कुलका डाइरेक्टर खड्ग थापामगरले हस्त लिखित खण्डन मकालु खबरलाई इमेल मार्फत पठाउँदै समाचारमा उल्लेखित विषयका केहि बुँदाहरुको खण्डन गरेको बताएका छन् । समाचारले आफ्नो र स्कुलको समेत मान मर्यादामा आँच आएको तथा मानसिक रुपमा तनाव समेत भएको बताउँदै केहि बुँदामा आफ्नो असहमति रहेको जिकिर गरेका छन् ।
उनले रातारात स्कुल आफ्नो नाममा पारेको कुरा सत्य नरहेको बताएका छन् । ब्यवस्थापन समिति र दातालाई समेत थाहै नदिइ भन्ने सत्य नरहेको बताएका छन् । चर्चको भेटी र आम्दानी आफैं लिने समाचार पनि सत्य नरहेको बताएका छन् । साथै उनले चर्च स्कुलबाट निकाली दिएको भन्ने र स्कुललाई दान दिएको जग्गा दिनेलाई थाहै नदिई स्कुल आफ्नो नाममा दर्ता गराएको पनि सत्य नरहेको बताएका छन् ।

सियोन स्कुलका डाइरेक्टरले खण्डन पठाएपनि मकालु खबरसँग प्राप्त डकुमेन्ट अनुसार सियोन स्कुलले उपभोग गर्दै आइरहेको जग्गा नेपाल तरिकाबद्ध परिषद्का नाममा खरिद गरिएको थियो । उक्त जग्गा थापा मगरले २०७० माघ १९ गते नेपाल परिषद्को बैठकमा स्कुलकालागि जग्गा नामसारी गर्न प्रस्ताव गरेर दानपत्र दिने निर्णय गराएका थिए ।
त्यसपछि बैठकले माइन्युट गरेरै सुनसरी घोपा कित्ता नं. ६ क ३२७३ (०–२–५) दुई कठ्ठा पाँच धुर र कित्ता नं. ६ क ३२७६ (०–३–१८) तीन कठ्ठा अठार धुर जग्गा र उक्त जग्गामा निर्माण भएको भवन समेत सियोन स्कुल प्रा.लि. (दर्ता नं. ७४०२/०६६/०६७) लाई दानपत्र गरिदिने निर्णय गरेको छ ।
तर, सामाजिक संस्थाको जग्गा अर्को निजी संस्थालाई दानपत्र दिन मिल्दैन ।
उक्त बैठकमा तत्कालिन नेपाल तरिकाबद्ध परिषद्का सचिव सुमन गौतम (ना.प्र. नं. १२०/१०००) लाई जग्गा नामसारीका लागि अधिकार दिएर मालपोत कार्यालय सुनसरी, धरान पठाइएको छ । बैठकमा तत्कालिन उपाध्यक्ष सुर्यकुमार श्रेष्ठ, सचिव सुमन गौतम, कोषाध्यक्ष शान्तकृष्ण श्रेष्ठ सदस्यहरु राजेन्द्र ग्वाछा, सुवास थापा र तुलसा गहतराजले हस्ताक्षर गरेका छन् । तत्कालिन अध्यक्ष खड्ग थापामगरले भने हस्ताक्षर नै गरेका छैनन् ।
परिषद्का बर्तमान अध्यक्ष सुर्यकुमार श्रेष्ठले मकालु खबरसँग अध्यक्ष खड्ग थापामगरले सामुदायिक विद्यालयलाई जग्गा दान दिने भनेपछि माइन्युटमा हस्ताक्षर गरेको बताएका छन् । उनले मकालु खबरमा समाचार छापिएपछि मात्रै निजी विद्यालय हुँदै खड्ग थापाको नाममा स्कुल रहेको चाल पाएको बताएका थिए ।
श्रेष्ठले विगतमा गलत कृयाकलाप भएको स्विकार्दै त्यस बारेमा केन्द्रीय समितिकै बैठक डाकेर जग्गा फिर्ता गराउने निर्णय गर्ने बताएका थिए । उनले बोलेको सबै रेकर्ड मकालु खबरसँग छ ।
कोरियन नागरिक लिले जग्गा र स्कुल समेत बनाउन २ करोड २२ लाख रुपैंया सहयोग गरेको परिषद्का पदाधिकारीलाई नै थाहा छैन । परिषद्का संस्थापक अध्यक्ष डा. सुमन गौतमले समेत मकालु खबरसँग कुराकानी गर्दा आफुहरुलाई त्यत्रो रकम आएको थाहै नभएको बताएका छन् । स्कुलका तत्कालिन पिआरओ मेहरमान ह्युज लगायत चर्चका करिब एक सय सदस्यहरु अहिले बाहिर छन् । उनीहरुलाई खड्ग थापामगरले नै निकालेको उनीहरुको तर्क छ ।
‘स्कुल सञ्चालनमा विवाद उत्पन्न भएपछि डाइरेक्टर थापा मगरले स्कुलका पिआरओ ह्युज चर्च तथा स्कुलको कुनैपनि सदस्य, प्रचारक तथा पास्टरसेवकाईबाट स्वतन्त्र रहेको धरानभरीका चर्चहरुलाई पत्र पठाएका छन् । यो भन्नुको अर्थ के हो ? प्रष्ट गर्नुपर्छ ?’ धरानका एक पास्टरले भने ।
स्कुलको विवाद हल गर्न पास्टर मणी राईको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो । समितिले दुवै पक्षसँग वार्ता गरी निकास निकाल्ने प्रयत्न गरेपनि सफल नभएपछि तदर्थ समिति नै भंग गरे । यता स्कुलबाट निकालिएका भनिएका मेहरमान ह्युजले चर्चबाट निस्किएपछि आफुहरुलाई संगति गर्ने ठाउँ समेत नभएको भन्दै खड्ग थापामगरले कि चर्च बनाइदिनुपर्ने कि ५० लाख दिनुपर्ने माग राखेका थिए ।
सयजना बढिको समुह चर्चबाट बाहिरिएको तथा चर्च र स्कुलमा आफुले वर्षौं काम गरेकोले निस्किएपछि अर्को स्थानमा चर्च खोल्न ५० लाख रुपैंया पाउनुपर्ने उनीहरुको डिमाण्ड छ । स्कुलका डाइरेक्टर थापामगरले ह्युज पक्षसँग २० वर्षपछि स्कुलको श्री सम्पत्ति फिर्ता गरिदिने कागज नै गरिदिएका छन् ।
परिषद् र स्कुलका डाइरेक्टर थापामगरले गरेको कृयाकलाप गलत भएको उनीहरु स्वयंले पटक–पटक भनिरहेको अवस्थामा अहिले आएर गल्ती नै नभएको जिकिर गरेका छन् । उनले मकालु खबरले प्रकाशित गरेको समाचार नै गलत भनेर खण्डन पठाएपनि मकालु खबरसँग परिषद्का ब्यक्ति तथा स्वयं खड्ग थापामगरले ‘पटकपटक गल्ती भयो, हामी सच्चिएर जानेछौं’ भनेकाे प्रमाण सुरक्षित छ।








