विश्वप्रकाशलाई डा.शर्माको प्रश्न : नेता र सांसदले कोरोनाको सावधानी अपनाउन पर्दैन ?

विराटनगर । नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माप्रति आक्रोश पोखेका छन् । समाजसेवाका माध्यमबाट चर्चा कमाइरहेका काँग्रेस महासमिति सदस्य डा.शर्माले कोरोनाको सङ्क्रमणमा अपनाउनुपर्ने सावधानीप्रति नेताहरू संवेदनशील नभएको भन्दै पार्टी प्रवक्ता शर्माप्रतिको सामाजिक सञ्जालबाटै आक्रोश प्रकट गरेका हुन् । 

शर्माले कोरोना भाइरस सोझा निमुखा, गरिब, भाउन्नेका जनतालाई मात्र लाग्छ, सांसद र नेतालाई लाग्दैन ? भन्दै प्रश्न गरेका छन् । ‘एयरकण्डिशन भएको भवन हो पार्लियामेन्ट, काँग्रेसका सांसदलाई संसद्मा जानबाट किन नरोकेको ?’ प्रवक्ता शर्मालाई प्रश्न गर्दै उनले लेखेका छन् ‘विद्यालय बन्द हुने, परीक्षा रोकिने तर सयौँ विशिष्ट व्यक्ति भेला हुने संसद् चैँ नरोकिनुपर्ने कारण को हो ?’ जोसुकैको असावधानीले पनि कोरोनाको सङ्क्रमण फैलन सक्ने हुनाले त्यसप्रति जनस्तरमा मात्र नभई केन्द्रीय नेता तथा सांसद पनि उत्तिकै सजग हुनुपर्ने उनको तर्क छ । 

कोरोनाको सङ्क्रमण रोकथामका लागि पार्टीले सार्वजनिक कार्यक्रम बन्द गर्ने क्रममा गुटबन्दी र विभेद उदाङ्गो भएको उनले उल्लेख गरेका छन् ।   

‘नेतृ मञ्जु खाँडको सिराहा र जनकपुरको कार्यक्रममा कोरोना नआउने, बालकृष्ण दाइको ललितपुरको कार्यक्रममा कोरोना नआउने, अनि मोरङको भाउन्नेमा भएको कार्यक्रम, शेखर कोइराला र सुजाता कोइरालाले गरेको कार्यक्रममा मात्रै कोरोना आउने ?’ उनले प्रश्न गरेका छन् । ‘यो कस्तो कोइरालालाई मात्र लाग्ने कोरोना हो ?’ व्यङ्ग्यात्मक शैलीमा प्रश्न गर्दै उनले सबै कार्यकर्ताले बुझ्ने गरी जवाफ दिन प्रवक्ता शर्मालाई आग्रह गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =