धरानमा पाँचाैँ संस्करणकाे पानवारी भलिबल कप आयोजना हुँदै

पुस २९, धरान । सुनसरीमा प्रदेश नम्बर १ स्तरीय पाँचौ संस्करणको पानवारी भलिबल रनिङ कप हुने भएको छ ।
माघ ६ गतेदेखि ११ गतेसम्म धरान–६ सिमल चौरीको खेल मैदानमा सयपत्री बोइज युनियन क्लबले पानवारी भलिबल रनिङ कप प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा १० वटा भलिबल टिमले भाग लिने आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव केदार बस्नेतले जानकारी दिए । उनका अनुसार प्रतियोगीताको विजेताले चाँदीका रनिङ ट्रफिसँगै नगद ७५ हजार पाउनेछन् भने उपविजेताले ४१ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

खेलका लागि हाल टिमहरु पूर्ण रुपमा तयार नभएपनि सम्भावित टिमहरुमा १ नं प्रदेश प्रहरी विराटनगर, महेन्द्र क्याम्पस धरान, सशस्त्र प्रहरी बल पकली, याङशिला युवा भलिबल टिम मोरङ, फुङ्नाम स्पोर्टिङ क्लब इलाम, नेपाल आर्मी इटहरी, डुम्राहा क्लब रामधुनी, भोजपुर भलिबल क्लब भोजपुर, डाँडाबजार भलिबल क्लब धनकुटा रहेका छन् ।
धरान उपमहागनरपालिका र ६ नम्बर वडा कार्यालयको संयोजनमा हुने सो प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग वियर, सह प्रायोजकमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि, निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहने आयोजकले जनाएको छ ।
सोही प्रतियोगिताको पहिलो संस्करण त्रिवेणी युवा क्लब मोरङले जितेको थियो भने दोस्रो संस्करण डुम्राहा भलिबल क्लब सुनसरी, तेस्रो संस्करण १ नम्बर प्रदेश प्रहरी विराटनगर र चौँथो संस्करण आयोजक आयोजक आफैँले जितेको थियो ।








