काकाकुल जनप्रतिनिधी, दाङको दंगीशरणमा पानीको हाहाकार

मंसिर ११, चितवन ।   भनिन्छ व्यवस्था फेरियो तर अवस्था फेरिएन । लामो राजनितिक आन्दोलनपश्चात देशमा संघीयता लागू भयो । अहिले कार्यान्वयनको चरणमा छ । देशमा व्यवस्था परिवर्तन आएपनि दाङको दंगीशरण गाउँपालिकाको अवस्थामा भने परिवर्तन आउन सकेको छैन् ।  

वर्षौदेखी यहाँका जनता शुद्ध खानेपानीको समस्याबाट गुज्रिदै आएका छन् । दंगीशरण गाउँपालिका वडा नम्वर १ र २ का स्थानीय खानेपानीका लागि गुहार माग्दै छन् भने यहाँका जनप्रतिनिधीहरु काकाकुल बनेर बसेका छन् । खानेपानीका कारण स्थानीयलाई समस्या छ भने सिंचाईको अभावमा खेतका गराहरु बाँझै रहन थालेका छन् । थोरैले इनार खनेर पानी प्रयोग गर्छन् भने धेरै जना अर्काको घरमा पानीका लागि भौतारिन्छन् ।   

दंगीशरण गाउँपालिका २ की गंगा कुसारी शुद्ध खानेपानीको अभाव रहेको बताउँछिन् । खानेपानीकै लागि ६० हजार रुपैया खर्च गरेर इनार खनेको कुसारीको भनाई छ । बरपरकाले आफ्नो घरमा आएर पानी लैजाने गरेको बताउने कुसारी चैत, बैशाखमा आफैलाई समस्या हुने सुनाउँछिन् ।  

उनको घरमा ३० वटा रिङको इनार खनिएको छ । दंगीशरण गाउँपालिका १ का दिनेश कुमार खत्री सिंचाईको अभावमा खेती उत्पादन घट्दै गएको बताउँछन् । उनले भने ‘यसपटक झन राम्रो संग वर्षा भएन’ पानीकै अभावमा किसानको बाली उत्पादन प्रत्येक वर्ष घट्दो छ ।  

दंगीशरण गाउँपालिका १ गोल्टाकुरीका खिम बहादुर पुनले आफू जन्मिए देखीनै खानेपानीको समस्या रहेको बताए । ६० वर्ष उमेर कटियो पुन भन्छन् –  पानीको समस्या उस्तै छ, सिंचाई अभावले १२ कठ्ठा खेत बेचियो । हात ग्लालिन र कम्मरमा गाग्रोमा पानी लिएर घर फर्कदै गरेको अवस्थामा भेटिएकी रेखा केसीलाई पनि शुद्ध खानेपानीको अभाब रहँदा पीडा छ । दंगीशरण गाउँपालिका २ मा उनी माईती आएको बेला घर भन्दा अलिक परबाट पानी बोकेर घर तर्फ आउँदै थिईन् ।     

 दंगीशरण गाउँपालिका २ का वडाध्यक्ष तुलसीराम देवकोटाले आफु जन्मिएदेखीनै खानेपानीको समस्या रहेको सुनाउँदै पानी ल्याउन पहल भएपनि सफल हुन नसकेको बताए । उनका अनुसार खानेपानी लिनकै लागि कतिपय ठाउँमा आधा घण्टा सम्म हिड्नु पर्छ । खानेपानीका लागि अहिले सम्म केन्द्र र प्रदेशको बजेट नपरेको वडाध्यक्ष देवकोटाको भनाई छ । दंगीशरण गाउँपालिकाको वडा नम्वर १ र २ का सवै क्षेत्रमा खानेपानी र सिंचाईको समस्या छ ।   

दाङ ३ बाट प्रतिनिधी सभामा हिराचन्द केसी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए । भने तत्कालिन एमालेबाटै निर्वाचित भएका ३ ख का प्रदेश साँसद उत्तर कुमार ओलीको निधन भएको छ । जहाँ मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । दंगीशरण गाउँपालिकाको ३, ३ वटा वडा नेपाली काँग्रेस र तत्कालिन माओवादीले जित्दा एक वटा वडा मात्रै तत्कालिन एमालेले जितेको थियो तर गाउँपालिका अध्यक्ष भने तत्कालिन एमालेलेनै जितेको थियो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =