वीपी–डीपो बचाउँ, फनपार्क सारौं भन्दै र्याली

मंसिर ६, धरान । डिपो–वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिले आज धरानमा बृहद् र्याली निकालेको छ । भोगाधिकार भित्र पर्ने जग्गालाई डिपो उच्च माविले फनपार्क निर्माणका लागि लिजमा दिएपछि संघर्षमा उत्रिएको समितिले आज धरानमा बृहद् र्याली निकालेको हो ।
null
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपो उच्च माविको विचका रहेको जग्गामा फनपार्क निर्माण गर्न विद्यालयले स्थानीय इजिराइडर विजिनेश ग्रुपलाई ३० वर्षका लागि भाडामा लगाएपछि वीपी प्रतिष्ठानले विरोध गर्दै आइरहेको थियो । अस्पताल र विद्यालय क्षेत्रभित्र विरामी र विद्यार्थीको पढाईमा समेत प्रत्यक्ष असर गर्ने भएकोले फनपार्क अन्यत्र स्थानान्तरणको माग गर्दै संघर्ष समितिले गत साता चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
घोषित कार्यक्रम अनुसार आज समितिले धरानमा नागरिक समाज, वीपी प्रतिष्ठानमा कार्यरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरु समेतको सहभागितामा र्याली निकालेको हो ।
र्यालीले धरानको विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । र्यालीमा वीपी–डीपो बचाउँ, फनपार्क सारौं लेखिएका ब्यानर तथा प्लेकार्ड प्रर्दशन गरेका थिए ।
विद्यालयले क्षेत्राधिकार, सम्झौता, सार्वजनिक खरिद ऐन, शैक्षिक उद्देश्य र मर्यादा विपरित फन पार्क निर्माणका लागि इजि राइडर्स बिजीनेस ग्रुप प्रा.लि., लाई तीन विगाहा जग्गा तीस वर्षका लागि लिजमा दिएको थियो ।
उक्त जग्गामा निर्माण भइरहेको फनपार्कको भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाबाट नक्सा पास र इजाजत समेत लिइएको छैन । उपमहानगरपालिका भित्र कुनैपनि भौतिक तथा भवन संरचना निर्माण गर्दा नगरपालिकाको घरनक्सा फाँटबाट अनिवार्य नक्सा पास गराउनुपर्ने प्रावधान छ ।
प्रतिष्ठान अन्तर्गतका मेडिकल एण्ड डेन्टल शिक्षक कल्याण समाज, कर्मचारी कल्याण समाज, जुनियर रेसिडेन्ट कल्याण समाज र विद्यार्थी कल्याण समाजको संयुक्त भेलाले गत साता डा. विष्णु पोखरेल संयोजक र सुजेन्द्र तामाङ सदस्य सचिव रहेको तथा सबै समाज, नेपाल मेडिकल एशोसिएसन र नर्सिङ एशोसिएशन अफ नेपालको समेत प्रतिनिधित्व रहने गरी संघर्ष समिति गठन गर्नुका साथै संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेको थियो ।
समितिले घोषित कार्यक्रमहरु चरणबद्ध रुपमा अगाडी बढाउने बताएको छ । यसैविच आज डिपो उच्च माविले संघर्ष समितिलाई वार्तामा बोलाएको छ । संघर्ष समितिका सदस्य सचिब सुजेन्द्र तामाङले आफुहरुलाई वार्ताको लागि बोलाएको बताउँदै फनपार्क स्थानान्तरण वाहेक अन्य कुरामा सहमत हुन नसकिने बताए । उनले संघर्ष समितिका संयोजक ब्यस्त रहेकोले आज वार्ता हुन नसक्ने बताए ।








