नेपाल एकीकरणका योद्धा कालु पाँडेको सालिक निर्माण, प्रधानमन्त्रीले अनावरण गर्ने

 

फागुन ७, काठमाडौं  । चन्द्रागिरिमा आधुनिक नेपालका निर्माता पृथ्वीनाराण शाहका सेनापति काजी कालु पाँडेको पूर्ण कदको सालिक निर्माण गरिएको छ । 

चन्द्रागिरि नगरपालिका–१ दहचोकमा रहेको पाँडेको समाधिस्थल नजिकै राखिने सालिक पुरातत्व विभागको सहयोगमा निर्माण गरिएको हो । सालिक करीब रु १० लाखको लागतमा निर्माण गरिएको उक्त वडाका अध्यक्ष राजेन्द्र केसीले बताए । उनका अनुसार यही फागुन ९ गते उक्त सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम रहेको छ । 

null

काठमाडौंको पश्चिममा अवस्थित दहचोक क्षेत्र धार्मिक तथा ऐतिहासिक महत्वको पुरातात्विकस्थल समेत हो । कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरेका सेनापति पाँडेको इच्छाअनुसार शिर गोरखा देखिने गरी समाधि गरिएको इतिहास पाइन्छ । 

मुलुकको एकीकरणका क्रममा कीर्तिपुर र काठमाडौं आक्रमण गर्दा सैनिक तथा हातहतियार राखिएको उक्त स्थानमा विभिन्न गढीका साथै कोतघर रहेको र गोरखास्थित मनकामनाको शक्ति प्रतिस्थापन गरि प्रतिकात्मक मनकामना मन्दिर स्थापना गरिएको छ । उक्त स्थलबाट उत्तर एवं पश्चिमतर्फका अधिकांश हिमालहरु मनास्लु, लामटाङ, गणेश, अन्नपूर्णलगायत शिवपुरी, नागार्जुन, फुल्चोकी, चम्पादेवी, चन्द्रागिरि डाँडासमेत अवलोकन गर्न सकिन्छ । त्यसैगरी इन्द्र इन्द्रायणी एवं भष्मेश्वर महादेवको मन्दिर एवं दक्षिण पूर्वतर्फ रहेको बिन्ध्यवासिनी मन्दिर तथा स्विट्जरल्याण्ड पार्कले रौनकता थपेको छ । 

सरकारले मुलुकका पछिल्लो १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा यस क्षेत्रलाई सूचीकृत गरेको छ । काठमाडौंको नैकाप डाँडादेखि इन्द्रदह हुँदै नागढुङ्गासम्मको विभिन्न पर्यटकीयस्थललाई एउटै प्याकेजमा व्यवस्थापन गरी स्थानीय पर्यटन विकासका योजनाका लागि गृहकार्य भइरहेको छ । उक्त योजनामा सरकारी तथा गैरसरकारी क्षेत्रको सहभागितामा पर्यटक पदमार्ग, विश्रामस्थल, साइकल ट्रोल, होमस्टे, होटल, सेमिनार हल, पार्कहरुलगायत पर्यटकीय पूर्वाधारको विकास गर्ने लक्ष्य राखिएको छ । समाधिस्थल नजिकै दृश्यावलोकनका लागि पाँचतले ‘भ्यू–टावर’को निर्माण कार्य भइरहेको छ । 

आगामी ५ वर्षभित्र यस क्षेत्रमा आन्तरिक तथा बाह्य गरी पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यस क्षेत्रको पूर्वाधार विकासका लागि चालू आ.व.मा काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठको सिफारिशमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत् रु ५० लाख तथा चन्द्रागिरि नगरपालिका–१ को ८९ लाख विनियोजन गरिएको थियो । 

भौतिक संरचनाको विकास, कच्ची सडकको कालोपत्रका साथै स्तरोन्नतिका लागि नपुग केही रकम आगामी आवमा थप गरिने वडाले जनाएको छ । पर्याप्त पर्यटनको सम्भावना भएर पनि यस क्षेत्रको अपेक्षाकृत विकास हुन सकेको छैन । विसं २०७३ मा इन्द्रदह एकीकृत पर्यटन विकास समिति गठन गरिएको छ । 

दहचोक लगायतका स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतले यस क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक सुझाव तथा अनुभवको आदान–प्रदान गरेका छन् । नेपाल भ्रमण सन् २०२० लाई लक्ष्य गरी यस क्षेत्रको पूर्वाधार तथा पर्यटकीय स्थलको विकास, संरक्षण गरिनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं नगरपालिकाको समन्वयमा गुरुयोजना तयार गर्ने कार्यसमेत भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =