धार्मिक हस्तक्षेपको नमुनाः पशुपतिनाथको जग्गामा चर्च, छानविन समिति गठन गर्दै समाज कल्याण परिषद्

माघ ६, काठमाडौं । नेपालमा इसाई धर्मको कसरी विस्तार भइरहेको छ एउटा उदाहरण यो हेरौं । काठमाडौं महानगरपालिका वडा नं. ७ ज्ञानेश्वरमा छ नेपाली इसाई मण्डली अर्थात ज्ञानेश्वर चर्च । ज्ञानेश्वरको मुख्य बाटोमै रहेको यो चर्चमा गैर इसाईलाई हत्तपत्त पस्न दिइदैन । चर्चकै पर्खालमा कोही उभियो भनेपनि सोधखोज गरिन्छ ।
चर्चमा नियमित संगती त हुन्छ नै त्यो भन्दापनि चंगाई कार्यक्रम गरी गैर ख्रिष्टियनलाई इसाई धर्मप्रति आकर्षित गरिन्छ । कसैले स्वइच्छाले धर्म परिवर्तन गर्छ उसको ब्यक्तिगत अधिकार भित्रको कुरा हो । तर, यहाँ लोभ लालच देखाएरै धर्म परिवर्तन भइरहेको छ ।
‘रोगी, अशक्त, दुखःमा परेकालाई अनेक लोभलालच देखाएर फसाइन्छ । चंगाई कार्यक्रम गरेपछि परमेश्वरले मुक्ति दिनुहुन्छ भनिन्छ जुन सरासर गलत हो ।’ ज्ञानेश्वर–७ कि महिमा श्रेष्ठ भन्छिन् ।

नेपाली इसाई ग्रुप अन्तर्गत चलेको यो चर्चमा विदेशी चर्चबाट राम्रो डोनेसन आउने गरेको छ । चर्चकै एक पूर्वपास्टरले समेत यसको पुष्टि गरे । उनले चर्चका पदाधिकारीहरुका नाममा विदेशी चर्चबाट र ब्यक्तिगत स्रोतबाट राम्रो सहयोग आउँने गरेको जिकिर गरे । ‘नेपालका जतिपनि ठूला चर्च छन् तीनमा विदेशी सहयोग आउँछ । कसैले ब्यक्तिगत रुपमा ल्याउँछन्, त कसैले संस्थागत रुपमै ।’
सामुयल कार्थक
ज्ञानेश्वर चर्चको हर्ताकर्ता सामुयल कार्थक रहेका छन् । उनका पुर्खा विदेशी हुन् । विदेशी नागरिकका सन्तान भएपनि उनका बाबु रवर्ट कार्थक सन् २०५७ (२०१४) सालमा ज्ञानेश्वर चर्च स्थापना गरेका हुन् । उनले नेपाली नागरिकता पाएपछि छोरा सामुयल कार्थकले पनि पाए ।
प्रायः विदेशी नागरिकसँग राम्रो सम्बन्ध भएका उनले दाताबाट राम्रो पैसा लिन्छन् । यसका साथै चर्चले हरेक हप्ता प्रार्थनामा भेटी संकलन गर्छ भने, चर्चका सदस्यहरुबाट दशांश समेत उठाउने गर्दछ । गुप्त दानको हिसाबकिताब चर्चका अन्य व्यक्तिलाई नै थाहा छैन । ‘चर्चकै आन्तरिक विवादका कारण ४० वर्ष अघि यहाँबाट ठूलै समुह छुट्टिएर गएको थियो । अहिले पनि त्यस्तै अवस्था छ’ चर्चका एक सदस्यले भने ।
पशुपतिनाथको जग्गामा चर्च
ज्ञानेश्वर चर्चले ओगटेको जग्गा पशुपतिनाथ गुठीको हो भन्दा जो कोहीलाई पत्यार लाग्दैन । तर, वास्तविकता यहि हो । पशुपति क्षेत्रको चारकिल्ला भित्र बनेको यस चर्चले पशुपतिनाथ गुठीको जग्गामा खुलेआम धर्मपरिवर्तनको मिसन चलाइरहँदा राज्य मात्र हैन सनातन धर्मका अनुयायी पनि मुकदर्शक भएर बसिरहेका छन् ।
जग्गा पशुपतिनाथको भएपनि चर्चले कुत बुझाउँदै आएको छ । काठमाडौं महानगरपालिका वडा नं. ७ कित्ता नं. ९९ र ३३४ २ रोपनी बढि जग्गाको कुत चर्चले वर्षको १ हजार ७ सय ८८ रुपैंया मात्र बुझाउँछ । एउटा धर्मको जग्गा अर्को धर्मले प्रयोग गर्नु नेपालको कानुनले नै बर्जित गरेको पशुपतिनाथ गुठीलाई थाहा भएपनि गुठीका पदाधिकारीहरु खुलेआम धर्म परिवर्तन गर्न दिइरहेका छन् त्योपनि कौडीको भाउमा ।
पशुपति विकास कोषका एक अधिकारी मोहीले जग्गा किनबेच गर्दागर्दै चर्चको नाममा जग्गा गएको बताउँदै पन्छीन्छन् । उनले गुठीको जग्गा भएपनि ब्यक्तिहरुले किनबेच गर्न पाउने भएकोले चर्चको नाममा गएको बताए । नेपालको कानुनले सम्पत्तीसम्बन्धी अधिकार सुनिश्चित गरेकोले पशुपतिनाथको जग्गा सोहि अनुसार किनबेच भएको बताइन्छ ।
विकास कोषले चर्चले ओगटेको जग्गा फिर्ता र गुठीका सम्पत्ती संरक्षण गर्न बृहद् गुरुयोजना बन्दै गरेकोले गुरुयोजना बनेपछि फिर्ता ल्याउने अधिकारीको धारणा छ । पशुपति क्षेत्रभित्र अन्य धार्मिक संघसंस्थाको क्रियाकलाप भूमिसुधार ऐनविपरीत हुने भूमिसुधार ऐन २०२१ को दफा ५७ मा व्यवस्था छ । यो ऐनले एउटा धार्मिक प्रयोजनका लागि राखिएका जग्गा त्यही प्रयोजनमा प्रयोग गर्नुपर्ने व्यवस्था गरेपनि ज्ञानेश्वर चर्चका हकमा नियम लागू भएको छैन ।
ऐनले गुठीको लिखितबमोजिम काम नगरी धर्मलोप गरेमा महन्थ, पुजारी या गुठियारलाई ५ सय रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । साथै रकमी खारेजी गरी अर्काे रकमी नियुक्त गर्ने व्यवस्थासमेत छ ।
भूमिसम्बन्धी नियम २०२१ को ३९(ट) मा एउटा धार्मिक प्रयोजनमा राखिएका जमिन अतिक्रमण गर्न नहुने व्यवस्था छ । भूमिसुधारसम्बन्धी गठित समितिको ३९(अ) मा एउटा उपयोगका लागि निर्धारित जग्गा अर्को उपयोगमा लगाउन नपाइने व्यवस्था छ ।
पशुपति क्षेत्र विकाष कोष ऐनमा भनिए अनुसार पशुपति क्षेत्रभित्रको जग्गा क्रिश्चियन सम्प्रदायलाई उपलब्ध गराउनु कानुनसम्मत नभएको अदालतले नजिर स्थापित गरिदिएको छ । चर्च र त्यहाँको जग्गाका विषयमा ज्ञानेश्वर चर्चका पास्टर सामुयल कार्थकसँग कुरा गर्न चर्चमै गएर कुरा गर्ने प्रयास गर्दा उनी बोल्न चाहेनन ।
नेपाल तरिकाबद्ध परिषद्को लफडा
जिल्ला प्रशासन कार्यालय काठमाडौं र समाज कल्याण परिषद्मा दर्ता भएर वातावरण, शिक्षा, स्वास्थ्य तथा समाजसेवाको काम गर्ने अधिकार पाएको नेपाल तरिकाबद्ध परिषद्ले विधान विपरित कार्य गरिरहँदा राज्यका आँखा पुग्न सकेको छैन ।
हाल ललितपुरको ग्वार्कोमा आलिसान गेष्ट हाउस (रेष्टुरेन्ट) समेत चलाउँदै आएको परिषद्ले भित्रभित्रै इसाई धर्मको प्रचार–प्रसार गर्ने गरेको छ । देशभर सञ्जाल भएको परिषद्सँग दर्जनौं चर्चहरु रहेका छन् । नेपालको कानुनले चर्च तथा बाइबलिय कलेज दर्ता गर्न नदिएको अवस्थामा परिषद्ले वातावरण क्षेत्रमा काम गर्ने भन्दै देशका विभिन्न भागमा जग्गाजमिन खरिद गरेर चर्च बनाउँदै आएको छ ।
सुनसरीको धरानमा रहेको ७ कठ्ठा १४ धुर जग्गा अहिले एउटा प्राइभेट स्कुललाई दानपत्र दिएर विवादमा आएको छ । चर्च स्थापनाका लागि लिइएको जग्गामा चर्चकै ब्यवस्थापनमा सियोन इन्टरनेशनल स्कुल स्थापना गरिएको थियो । पछि त्यसको नाम नै परिवर्तन गरेर तत्कालिन परिषद्का अध्यक्ष खड्ग थापामगरले आफ्नो ब्यक्तिगत सम्पत्ति बनाएका छन् । थापामगरले स्कुल र चर्च स्थापना गर्न आफुले ठूलो मेहनत गरेको तथा संस्थाको सम्पत्ति खान नभइ स्कुलमा लगानी थप्नका लागि बैंकबाट कर्जा लिन कागजी प्रक्रिया मात्र मिलाएको बताउँदै आएका छन् । उनले सियोन मेथोडिस्ट चर्चका केहि ब्यक्तिलाई २० वर्षपछि स्कुल फिर्ता गर्ने कागज गरिदिएका छन् ।
विदेशी नागरिकले करिब २ करोड २२ लाख सहयोग गरेर स्थापना गरीएको चर्च र विद्यालय स्कुलका डाइरेक्टर खड्ग थापामगरले विद्यालय सञ्चालक, चर्च ब्यवस्थापन समिति र नेपाल तरिकाबद्ध परिषद्लाई समेत गुमराहमा पारेर एकलौटी बनाएको सार्वजनिक भएपछि चौतर्फि विरोध भइरहेको छ ।
सोहि सन्दर्भमा परिषद्ले दुई साताअघि काठमाडौंमा केन्द्रीय कार्य समितिको बैठक बसेर जग्गा फिर्ता ल्याउनुपर्ने निष्कर्ष निकालेको परिषद्का अध्यक्ष सुर्यकुमार श्रेष्ठले मकालु खबरसँग भने । ‘हामीले केन्द्रीय बैठक नै बसेर संस्थाको जग्गा पुनः संस्थामा ल्याउनुपर्छ भनेका छौं, खड्ग थापामगरजीले जग्गा राखेर बैंकबाट ऋण लिनु भएको रहेछ, त्यसले समस्या भइरहेको छ ।’ पास्टर श्रेष्ठले भने । उनले संस्थाको वार्षिक अडिट गर्ने काम भइरहेको र चाँडै सार्वजनिक समेत गर्ने जिकिर गरे । कानुन अनुसार संस्था नविकरण गर्न नसक्नु आफुहरुको कमजोरी रहेको स्विकार्दै सियोन स्कुलले जग्गा फिर्ता गरे सबै समाधान हुने बताए ।
तर, धरानमा सियोन स्कुलको विवाद समाधान गर्न इसाई समुदायले तदर्थ समिति नै गठन गरेर छलफल गरेपनि समाधानको उपाय निकाल्न सकेका छैनन् । स्कुलका डाइरेक्टर खड्ग थापामगर र अर्का मेहरमान ह्युजको विवाद उत्सर्गमा छ । स्कुल र चर्चबाट निकालिएका मेहरमान ह्युजले खड्ग थापामगरसँग ५० लाख मागेको चर्चा छ । भने, खड्ग थापा मगरले २५ लाख दिने प्रस्ताव गरेको चर्चा छ ।
संस्थाको सम्पत्ति संस्थामै फर्काउने सन्दर्भमा सरोकारवालाको ध्यान जानुको सट्टा उल्टै संस्थाको सम्पत्ति माथि वक्रदृष्टि पर्नु उचित नभएको धरानका केही पास्टरहरुले बताइरहेका छन् ।
यता समाज कल्याण परिषद् र जिल्ला प्रशासन कार्यालयमा नेपाल तरिकाबद्ध परिषद्को विषयमा छानविनको माग गर्दै उजुरी परेको छ । समाज कल्याण परिषद्का सुचना अधिकारी दुर्गाप्रसाद भट्टराईले छानविनका लागि समिति गठन गर्ने तयारी भइरहेको बताए । ‘नेपाल तरिकाबद्ध परिषद्को विषयमा आवश्यक छानविनका लागि समिति गठन गर्ने तयारी भएको छ । सदस्य सचिब ज्यू आएपछि छानविन समिति गठन हुन्छ ।’ उनले भने ।
याे पनि हेर्नुहाेस
http://www.makalukhabar.com/news/462362
http://www.makalukhabar.com/news/302606








