‘ए निर्मलाका बलात्कारी ! आऊ ! जनतासामु आत्मसमर्पण गर’

निर्मला, निर्मला, निर्मला ! वाक्क लाग्यो । दिक्क लाग्यो । कानको जाली फुट्ला जस्तो भइसक्यो । आँखाको गेडी टुप्लुक्क निक्लिन्छ कि झैँ लाग्न थालिसक्यो, ‘बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त’ पढ्दा पढ्दा । उफ् ! अब त फेसबुक, टिभी, रेडियो, न्यूजपेपर न खोल्न मन लाग्छ, न हेर्न मन लाग्छ, न सुन्न मन लाग्छ न त पढ्न नै । वाक्क लाग्यो । दिक्क लाग्यो । 

ए अपराधी ! तिमीलाई दिक्क लागेन भन्या । आत्मसमर्पण गरुँ गरुँ लागेन ? विचरी ! १३ वर्षीय निर्मला । के के मात्रै रहर साँचेकी थिइन् होला । ठूलो मान्छे बनौँला । आमालाई पालौँला, डाक्टर बनौँला भन्दै के के सपना मात्रै बुनेकी थिइनन् होला । भर्खरै फुलेकी फुल, सुगन्ध छर्न नपाउँदै, फक्रन नपाउँदै ओइलाई । झरी । निमोठिई । 

ए बलात्कारी ! तिमीलाई उनको चिच्याहटले छोएन है ! उनलाई लछारपछार गर्दा थोरै दया आएन तिम्रो मनमा ? सम्झिएनौँ आफ्नी दीदिबहिनी ? के तिमी सहन्थ्यौ ? आफ्नी कलिली बहिनीलाई कसैको दुष्कर्मले रित्याएको । सिध्याएको । 

null

जुन दिन निर्मलालाई फकाएर, तर्साएर लुट्यौ अनि हत्या गर्यौ नि ! त्यसदिन त खुब मस्तीले निदायौ होला हैन ! तिम्रो यौन कुण्ठा, चाहना जो पुरा भएको थियो । पक्कै पनि त्यही दिन थियो तिमीले आरामको निन्द्रा र चयनको श्वास लिएको । सपना पनि मिठै देख्यौं होला नि हगि ! फेरि अर्की निर्मलालाई शिकार बनाउँला, प्यास मेटाउँला भन्दै । 

मलाई लाग्छ त्यसपछिका तिम्रा दिनहरु छटपटिमै बिते । सोचेका थियौ होला, सदाझैँ त्यो नाथे बलात्कार पनि त्यही गुपचुपमै निप्टिएला । अहँ ! त्यसो भएन । निर्मलाको न्यायका लागि दिनदिनै सडक तातिए, लाखौं निर्मलाहरु सडकमा उत्रिए । टायर बालिए, कार्यालय घेरिए । कतिलाई पुलिसले समाते, कतिलाई लछारे कतिलाई पछारे । कतिलाई धम्क्याए ‘मैँले मारेको’ भन् भन्दै । कतिको डिएनए परिक्षण गरिए । अहँ पत्तै लागेनौ तिमी । कहाँ लुकेका थियौ होला ? आमाको थैलोमा थियौ कि, जमिनमुनि । कतै आकाश माथि बादलमा लुकिरहेका त छैनौं ? जमिनमाथि भए त पक्कै समातिन्थ्यौ होला । 

कहिलेकाहीँ त तिम्रो दिमाग र होशियारीलाई सलाम ठोकु झैँ लाग्छ । यसरी सधैं भरि लूकेर जिवन चल्ने भए त हुन्थ्यो नी । तिमी दुनियाँका नजरमा लुक्यौं, तर, आफ्नै अन्तरआत्माबाट लुक्न सकिरहेका पक्कै छैनौं होला । तिमीलाई जन्म दिने आमा तिम्री बहिनी अब त तिम्रो नाम लिँदा पनि डराउने भए होलान् । बलात्कारी जो पर्यौं । केथा, भोली जन्मदिने आमालाई, दादा भनेर बोलाउने बहिनीलाई बाँकी राख्दैनौं कि ? 

‘निर्मलाको बलात्कारीलाई कारबाही गर’ भन्दै विरुद्ध प्रदर्शन गरिरहँदा छटपटि भयो कि भएन ? कि रमायौं ! कतै बाटोमा बर्दी लगाएको पुलिस देख्दा सात्तो गएन ? 

प्रदर्शनकारीले बलात्कारीलाई फाँसी दे, फाँसी दे भनिरहँदा साँच्चिकै श्वास रोकिएको महशुस भएन ? फाँसीमा चढेझैँ लागेन ? कहिलेकाहीँ आत्मसमर्पण गरिदिउँ प्रहरीका सामु, जनताका सामु लागेन ? कठै ! कसरी सक्नु त्यो काम ? बलात्कार गर्न जस्तो सजिलो कहाँ छ र ? आत्मसमर्पण गर्न । साँच्चिकै फाँसी दिए भने भन्दै गम्दो होलाउ मनमनै ! 

तिम्रो कति बेहाल छ होला है ! न कसैलाई पीडा पोख्न सक्छौ, न कसैसँग खुलेर बोल्न । निर्मलाका खुशी निमोठिएकै दिन तिम्रो पनि त खुशी निमोठिएछ । 

साँच्चै तिमी कसका छोरा होलाउ । कति वर्षका भयौ ? कस्तो वर्णका थिएउ । कन्चनपुरकै थिएउ कि ? बाहिरबाट आयौं ? गरीब निमुखाका सन्तान होलाउ कि खान्दानीका होलाउ । राजनीतिक हिस्सेदार होलाउकी सर्वसाधारण होलाउ । कति खुल्दुली छ तिम्रो बारेमा जान्न । तिम्रो चर्चा यति चलेको देख्दा मलाई त भित्रभित्रै डाह पनि लागेर आउँछ । विश्वको समेत ध्यान तानेको छ तिम्रो कुकर्मले । राष्ट्रसंघले समेत चासोको विषय बनायो नि तिमीलाई, थाहा पायौ कि पाएनौ तिमीले ? 

तिम्रै कारण अहिले आमाबुवा सचेत भएका छन् । छोरीलाई एक्लै कतै पठाउन डराउँछन्, स्कूल पठाउन पनि आत्तिन्छन्, कतै फुल जस्तै कोमल छोरीलाई तिमी जस्ता गिद्धले चिथोर्छन् कि भनेर । 

साँचि तिमी एक्लैले भ्यायौ कि साथीहरुलाई पनि चान्स दियौ ? यो पनि त चासोकै विषय छ नि । तिमीलाई भेटे त काँच्चै खाँदा हुन् नेपाली जनताले । धन्न तिमी भाग्यमानी रहेछौ । हाम्रो देशमा जन्मियौ । यहाँ बलात्कारीलाई फाँसी छैन जो । तिमी जस्ता अपराधीलाई फाइदा हुने देश हो यो । यही सोचेर मलाई पनि कहिलेकाहीँ त विदेशिने रहर पलाउँछ भन्या । कतिखेर अफिस सकेर उज्यालैमा घरभित्र छिर्न पाउँछु जस्तो लाग्छ । काठमाडौंको ५० लाख मान्छे विच बस्छु, तैपनी गल्लीमा एक्लै हिँड्न डर लाग्छ । टेम्पोमा केटाहरु छिल्लिएर कुरा गर्दा डर लाग्छ । एकोहोरो कसैले हेर्दा छटपटि हुन्छ । खुल्ला आकाशमा उन्मुक्त हाँस्न सक्दिन के था भोली मैले हासेको सुनेर तिमी आइहाल्छौं कि मलाई पनि निमोठ्न ! सुनन, तिमी त मुटुमाथि ढुंगो राखेर हिँड्दा होउ । समतलमा हिँड्दा पनि चर्को घाममा भारी बोकेर उकालो चढेझैँ लाग्दो होला । जेलमा छैनौ तै पनि कैदी जीवनको महशुस हुँदो हो । कठै ! 

ए निर्मलाको हत्यारा ! तिमी कहिल्यै आउँछौ के हाम्रो सामु । बरु दशैँको खसी हेर्न यति कौतुहल लागेन होला, परिक्षाको नतिजा कुर्दा पनि यस्तो छटपटि भएको थिएन, जति तिम्रो क्रुर अनुहार हेर्नलाई भएको छ । तिमीलाई हेर्नका लागि तीन करोड नेपाली जनता आतुर छन् । तिमी पक्राउ पर्दा कत्रो भीड लाग्छ होला । तिमीलाई हेर्नेको त ताँती लाग्दो हो, जति अहिले सराप्नेको छ । 

तिम्रो समर्थनमा त कोही छैनन् यहाँ । ह्या बरु आत्मसमर्पण गर के । हामीलाई पनि ढुक्क, तिमीलाई पनि ढुक्क । आफ्नै अन्तरआत्मालाई बेचेर दिनरात मरेर बाँच्नु भन्दा त एक चोटी आत्मसमर्पण गरेर पश्चाताप गर्दा हुन्न ? फाँसी नै दिने होइन क्यारे । नडराऊ है ! फाँसी हुन्न के तिमीलाई । हाम्रो देशमा त्यस्तो गज्जबको कानून छैन । तिमी कस्तो अन्जान बनेको । आफ्नै देशको नियम कानून पनि थाहा नभए झैँ । तिमीलाई त धरौटीमै छोडिहाल्छन् नि, फेरि अर्की निर्मलालाई जो बलात्कार गर्नुछ तिमीले । 

मानवअधिकारकर्मी, सामाजिक अभियान्ता, प्रहरी, कञ्चनपुरका बासिन्दा, निर्मलाका आमाबुवा, राजनीतिकर्मीहरुलाई कति दुःख दिन्छौ के तिमी । 

विचरा ! ती निर्मलाका आमाबुवालाई हेर त ! कति पीडा छ । देखेनौ ? अस्ति निर्मलाका बुवालाई के भयो ? झण्डै मानसिक सन्तुलन गुमाएनन् । बालबाल बचे छोरीको न्यायका लागि लड्दा लड्दै । 

कठै आमाको मन झन् कति रुँदो हो । उनका आँखा निर्मला गएदेखि ओभाएका छैनन् । दीदीबहिनी उनीसँग खेल्न नपाएर कति छट्पटिरहेका छन् । न्याय न्याय न्याय भन्दा भन्दै उनीहरु थकित भइसके । 

अब त सरकारलाई पनी विश्वास गर्ने ठाउँँ रहेन । आजकल प्रहरीका रिपोर्ट मनगढन्ते लाग्छन् । कच्चा, देखावटी अनुसन्धान । सच्चा भए पो पत्ता लाग्नु । सत्ययुगमा झैँ दिएका श्राप सबै लाग्ने भए तिम्रो हालत के हुन्थ्यो होला । कतिले त किरै परेर मरोस् पनि भने होलान् । साँच्चै किरै परेर मर्यौ भने त । छि ! 

तिम्रा साथीहरु, परिवार पनि गज्जबकै रहेछन् । भाग्यमानी मान्नुपर्छ तिमीलाई त । हेर त तिम्रो कर्तुत थाहा हुँदा हुँदै पनि कति अन्जान बनेका । उफ् ! मेरा बा ले त यस्तो पाप गरेको भए उहिल्यै जिउँदै जलाउँथे होला मलाई । तिम्रा बा त कति जाती हुन् । डरपोक पनि । अपराधी छोरालाई गिरफ्तार गराउन पनि नसक्ने । अपराधी लुकाउनेलाई पनि त अपराधी नै मानिन्छ क्यारे । यो देशमा मेरो दम चल्ने भए तिम्रो त पुरै परिवारलाई नै फाँसीमा चढाउँदी हुँ । 

कोही त होला क्यार तेत्रो कञ्चनपुरमा तिमीलाई अपराधीका नाममा जान्ने । कहिले काहीँ त ठूलै खान्दानका हौ कि जस्तो पनि लाउँछ भन्या । सबै डराउँछन् तिम्रो बारेमा बोल्न, खोल्न । आम्मा ! कति शक्तिशाली तिमी त । छानविन समितिका सदस्य पनि डराए बाबै । सर्वसाधारण त के बोल्न सक्नु अनि । आ ! म मात्रै भए त उहिल्यै सुराकी लाइदिन्थेँ प्रहरीमा । जागिर जाओस् कि ज्यान मतलबै भएन । कमसेकम निर्मलाले न्याय त पाउँथी । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =