प्रजातान्त्रिक योद्धा राईको १११ औँ जन्मजयन्ती

फागुन १९, काठमाडौँ । वि.सं. २००७ सालको क्रान्तिका क्रान्ति योद्धा जननायक रामप्रसाद राईको १११ औँ जन्मयजन्तीका अवसरमा आइतबार रामप्रसाद राई स्मृति प्रतिष्ठान केन्द्रीय कार्यसमितिले एक विचार गोष्ठीको आयोजना गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएको ‘प्रजातान्त्रिक योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने आधार’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री ढकालले निरंकुश राणाशासनविरुद्धको क्रान्तिमा मुक्तिसेनाको अगुवाई गरी देशलाई उज्यालो बनाउन चाहने उज्यालोकर्ता जननायक रामप्रसाद राईलाई सरकारबाट राष्ट्रिय विभूति घोषणा गराउनका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता प्रकट गरे ।  

उनले भोजपुरका गाउँबाट सुरु भएको राईको अगुवाईको क्रान्तिले एक घन्टा नै भए पनि सिंहदरबार कब्जा गरेको सुनाउँदै वर्तमानको राजनीतिक व्यवस्था उनकै परिकल्पना भएको बताए । पूर्वमन्त्री एवम् संस्थाका संरक्षक वरिष्ठ साहित्यकार प्रदीप नेपालले प्रजातान्त्रिक योद्धा राईलाई सरकारले उचित सम्मान दिनुपर्ने बताए । सङ्घीय सांसद विशाल भट्टराईले जननायक राईलाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेमा मात्र उनीप्रति उचित सम्मान हुने विचार व्यक्त गरे ।   

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ लक्ष्मी माली र पूर्व सहायक मन्त्री मुकुन्दबहादुर बस्नेतले देशमा प्रजातन्त्रको बहालीका लागि ज्यानको पर्वाह नगरी क्रान्तिमा होमिँदा बेपत्ता पारिएका प्रजातान्त्रिक योद्धा राईलाई सरकारले शिघ्र राष्ट्रिय सम्मान दिनुपर्ने धारणा राखेका थिए ।   

कार्यक्रमका सभापति तथा प्रतिष्ठानका कार्यबाहक अध्यक्ष पासाङदोर्ची शेर्पाले देशको वर्तमान उपलब्धिमा रामप्रसाद राईको स्वप्न गाँसिएको हुनाले पनि सरकारले राईलाई राष्ट्रिय विभूति घोषणा गर्नुको विकल्प नरहेको धारणा व्यक्त गरे ।   

कार्यक्रममा लेखक तथा अन्वेषक भोगीराज चाम्लिङले ‘प्रजातान्त्रिक योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने आधार’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै जननायक राईलाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने आधारहरू प्रस्तुत गरेका थिए । चाम्लिङको गोष्ठीपत्रमाथि प्रा.डा. गोविन्दमानसिंह कार्कीले टिप्पणी गरेका थिए ।   

स्मृति प्रतिष्ठानका महासचिव देवान राई र सदस्य प्रमिला राईले संस्थाका गतिविधिमाथि प्रकाश पारेका थिए । कार्यक्रममा संस्थाको आजीवन सदस्यता लिने महानुभावहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।  स्मृति प्रतिष्ठानका सदस्य रेजिन श्रेष्ठले नेपाल आयाम निगम कर्मचारी सङ्घद्वारा प्रायोजित कार्यक्रममा नयाँपेज डटकम, नयाँअनलाइन डटकम र हतुवाहेराल्ड डटकम मिडिया पार्टनरका रूपमा  रहेको जानकारी गराए ।     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =