कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, घरमै बसेर यसरी भर्न सकिन्छ फारम

चैत ८, काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियाली भाषा परिक्षाका लागि शुक्रबारबाट आवदेन खुल्ला गरिएको छ ।
भाषा परिक्षाका लागि आजदेखि १७ गतेसम्म आवेदन भर्न सकिनेछ । यसपटक ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत रकम भुक्तानी गर्न सकिने भएकाले लाइनमा बस्नुपर्ने झन्झट हटेको छ । घरमै बसेर अनलाइनमार्फत् रकम भुक्तानी गर्न र आवेदन भर्न सकिने शाखाले जनाएको छ।
null
परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । ग्लोबल बैंकमा रहेको एकाउन्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा उक्त वेबसाइटमा मा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिन्छ। आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ ।
अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन भर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९/ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले परिक्षा तथा आवेदन दिन सक्ने इपीएस कोरिया शाखाले जनाएको छ ।
पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने शाखाले जनाएको छ ।
परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे तथा इ–सेवामार्फत् बुझाउन सकिने इपिएस सकिने छ ।
कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ ।
सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।








