बराहक्षेत्रमा २४ किलोमिटरको चक्रपथ निर्माण
“
धरान, चैत १५ । सुनसरीको धार्मिक पर्यटकीय करिडोर बराहक्षेत्र नगरपालिकामा २४ किलोमिटरको चक्रपथ निर्माण कार्य सुरु भएको छ ।
नगरपालिकाको सालबनी (बीचपानी) चक्रपथ निर्माणका लागि दुव्याही–माथिल्लो जमटोकी सडक निर्माण सुरु भएको हो । नगरको गौरवको योजना अन्तर्गत दुई करोड ७५ लाखको बजेटमा सुरु भएको चक्रपथ योजनाले बराहक्षेत्रका सयौँ घरधुरीहरु पक्की सडक पहुँचमा जोडिने मेयर निलम खनाल बताउँछन् ।
उपभोक्ता समिति मार्फत् पहिलो चरणमा सुरु भएको चक्रपथको काम ४ नं. वडाबाट सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष गणेश बिष्टले जानकारी दिए ।
दुव्याही–माथिल्लो जमटोकीका लागि नगरले विनियोजन गरेको ७२ लाख ५० हजारमा काम सुरु भएको विष्टको भनाइ छ ।
१५ मिटर चौडा सडकखण्ड पहिलो चरणमा ६.८ किलोमिटर निर्माण सम्पन्न गरिने छ । स्थानीयवासीले चक्रपथका लागि १५ फुट बढी नम्बरी जग्गा दिएका छन् भने १३ लाख ३१ हजार १ सय ५४ रुपैयाँ बराबरको श्रमदान गरेका छन् । यसअघि ०७१ माघ ६ गते स्थानीय उपभोक्ताले ३४ फुटको बाटो निर्माण गर्ने निर्णय गरेका थिए ।
हाल जनप्रतिनिधि आएपछि सोही सडक ५० फुट बिस्तार गरी गौरवको आयोजनाका रूपमा विकास गरेर लैजान लागिएको हो ।
१० सेन्टिमिटर बाक्लो ग्राभेलसहितको सडकको दायाँबायाँ ९–९ फिटको चौडाइमा ड्रेनसमेत निर्माण गरिने उपभोक्ता समितिले जानकारी दिएको छ । चक्रपथ निर्माणका लागि स्थानीयवासीले ४ वटा उपभोक्ता समिति निर्माण गरी काम सुरु गर्ने बताएका छन् ।
उपभोक्ता समितिमा दुव्याही–माथिल्लो जमटोकी सडक, तीनकुने–खोरिया सडक, खोरिया–बीचपानी सडक र सालबनी–कुटीपुल सडक रहेका छन् ।
“