राजपा नेताले यौन शोषण गरेको भन्दै संसद गेटमा हंगामा !
“
जनकपुरधाम, चैत १२ । राष्ट्रिय जनता पार्टी(राजपा)का नेता रमनसिंहले यौन शोषण गरेको भन्दै एक महिलाले सांसदहरुसँग हारगुहार गरेकी छन् । ति महिला हुन् धनुषाको एक स्वास्थ्य चौकीमा कार्यरत स्वाथ्यकर्मी निशा झा ।
प्रदेश नं २ को प्रदेश सभा बैठक स्थलबाहिर निशाले राजपाका महामन्त्री मनिष सुमनसँग गुहार मागेकी हुन् । सोमबार प्रदेशसभा बैठक सकेर बाहिर निस्कँदै गर्दा मनिषलाई गेटमै भेटेर निशाले रमनसिंहलाई कारवाही गर्न र आफुलाई न्याय दिन आग्रह गरिन् ।
सरुवा गराइदिन्छु भन्दै राजपाका नेता रमन सिंहले आफूलाई शारीरिक शोषण गर्नुका साथै रकम समेत लिएर भागेको उनको आरोप छ । पूर्व चिनजान भएका रमनले राजपा नेता राजेन्द्र महतोलाई भेटाउँछु भन्दै काठमाडौं ल्याएको भन्दै उनले भनिन्, ‘त्यसपछि उनले दुव्र्यहार र शोषण गरे ।’
राजपा केन्द्रीय सदस्य रमनले प्रलोभन देखाएर यौन शोषण गरेको उनको आरोप छ । आफ्नो सञ्चयकोषमा भएको रकम समेत लगेको उनले दाबी गरेकी छन् ।
निशाको कुराले अल्मलिएका मनिष सुमनले घटनाबारे छानविन गर्ने आश्वासन दिएर हिंडेका थिए ।
यता, राजपा नेता रमन सिंहले भने निशाले महतोलाई भेटेर सरुवाबारे कुरा गरेको भएपनि आफूले नलगेको दाबी गरेका छन् ।
निशा र रमनले एक अर्काविरुद्ध धनुषा प्रहरीमा उजुरी पनि दिएका छन् । निशाले ६ लाख लगेर ठगेको भन्दै रमनले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिएका छन् । निशाले पनि सरुवा गराउँछु भनेर यौन शोषण गर्नुका साथै रकम लिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।
निशा केही समय अघि ठगीको आरोपमा जेल समेत परेकी थिइन् ।”