एन्फा निर्वाचन : अदालत भन्छ ‘रोक’ फिफा भन्छ ‘रोके कारवाही’
“
काठमाडौँ, चैत ११ । अखिल नेपाल फुटबल संघ (एन्फा) को १४ चैतलाई तोकिएको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित गरिएको छ । उच्च अदालत, पाटनको अन्तरिम आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले आइतबार सूचना प्रकासित गरेको छ ।
निर्वाचन समितिद्वारा जारी सूचनामा लेखिएको छ, ‘कार्यसमितिको निर्वाचन रोकी पाऊँ भनी भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले एन्फालाई विपक्षी बनाई दायर गरेको निषेधाज्ञ मुद्दामा उच्च अदालत पाटनबाट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यसमितिको निर्वाचन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भएकोले १४ चैतमा हुने निर्वाचन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ।’
चुनावलाई नै लिएर फिफाले एन्फालाई निलम्बन गरेमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता र सहयोग गुमाउनु पर्ने हुन्छ ।
विश्व फुटबलको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले भने कुनैपनि सदस्य संघ अदालत जानु नै अवैधानिक भएको भन्दै उच्च अदालतको अन्तरिम आदेश पनि अवैधानिक उजुरीको आधारमा गरिएको उल्लेख गर्दै एन्फालाई तोकिएको मिति र स्थानमै चुनाव गर्न पत्राचार गरेको छ । उसले चुनाव नगरे एन्फालाई कारबाही गर्ने चेतावनी पनि दिइसकेको छ ।
एन्फाको निर्वाचन निर्देशिकाअनुसार जिल्ला संघको चुनाव ५ माघभित्र सक्नुपर्ने थियो । ४५ जिल्ला संघमध्ये भक्तपुर र मकवानपुरमा मात्र अधिवेसन भएको छैन । यी दुवैलाई केन्द्रीय कार्यसमिति निर्वाचनको मतदाता सूचिमासमावेश गरिएका छन् तर दुवैले अधिवेसन नहुदा प्रतिनिधि पठाउन सकेका छैनन्।
त्यसैले आफ्नो उपस्थिति बिना चुनाव हुँदा अधिकार हनन् हुने भन्दै निर्वाचन रोक्नका लागि भक्तपुरका अध्यक्ष गौतम सुजखु र मकवानपुरका ‘वरिष्ठ उपाध्यक्ष’ मनीष श्रेष्ठले उच्च अदालतमा ८ चैतमा निवेदन दिएका थिए । त्यसको भोलिपल्टै राजकुमान वनको इजलाशले निवेदनको टुंगो नलागेसम्म निर्वाचन नगर्न नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो। त्यससँगै १५ दिनभित्र लिखित जवाफ पेश गर्न एन्फालाई आदेश दिएपछि निर्वाचन संकटमा परेको थियो।
“