संसद बैठक जारी, प्रधानमन्त्री ओलीलाई काँग्रेस बाहेक सबै दलको समर्थन

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका छन् । आज बसेको संसद बैठकमा प्रधानमन्त्री ओलीका पक्षमा नेपाली काँग्रेस बाहेक सबै दलका नेताहरुले समर्थन गर्ने जानकारी दिएका छन् ।

काँग्रेस बाहेकका दलहरुको समर्थन प्राप्त भएपछि प्रधानमन्त्री ओलीलाई दुई तिहाईको समर्थन प्राप्त भएको छ । संसदीय इतिहासमा यति ठुलो समर्थन पाएर प्रधानमन्त्री बनेका केपी ओली पहिलो प्रधानमन्त्री बनेका छन् ।

काँग्रेसले प्रतिपक्षीमै बसेर मत देओस् : ओली

बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गर्नु पर्ने कुनै कारण नभएको बताए । सरकारले ‘सरकार हुँ’ भनेर दम्भ देखाउन नहुने र प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्न नहुने उनले बताए । प्रदेश २ मा एमाले र माओवादीले प्रतिपक्षमा बसेर पनि सरकारलाई विश्वासको मत दिएको भन्दै उनले कांग्रेससँग पनि मत मागरेका छन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले आफू प्रधानमन्त्री हुनका लागि प्रधानमन्त्री नभएको बताए । उनले भने, ‘म भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ । दमनकारी शासक होइन, जनताको सेवक हुँ ।’

भाषण होईन एक्सनमा उत्रनुहोस् : दाहाल
संसद बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीलाई अब भाषणमा समय खेर नफालेर एक्सनमा उत्रन आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै प्रचण्डले जनताले झण्डै दुई तिहाई मत दिएर सरकारको हात बलियो बनाएको बताए । उनले भने, ‘अब जनताले भाषण होइन, एक्सन खोजेका छन् ।’

अब केही हुन्छ कि भनेर निराश भएको धेरै भएको भन्दै उनले अब एक्सनमा उत्रन आग्रह गरे ।

बोक्सीको आरोपमा भएको कुटपिट, ८ वर्षीया बालिकामाथि भएको बलात्कारका घटना उल्लेख गर्दै उनले भने, ‘भाषण होइन, सिधै दोषीमाथि कारबाही होस् भन्ने जनताले चाहेका छन् ।’

प्रतिपक्षी विनाको संसद कल्पना गर्न सकिंदैन : गच्छादार
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताए ।

संसदमा सम्बोधन गर्दै नेता गच्छादारले प्रधानमन्त्री ओलीले सबै दल मिलेर देश निर्माण गरौँ भन्नु सकारात्मक भए पनि संसदमा प्रतिपक्षी दलको आवश्यकता रहने भएकाले आफूहरु प्रतिपक्षीको बेन्चमा बस्ने स्पष्ट पारे ।

“प्रधानमन्त्रीले विकासको प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मिलेर देश विकास गरौँ भन्नुभएको छ । यो सकारात्मक हो । तर प्रतिपक्षी दलबिनाको संसदको कल्पना गर्न सकिदैन ।” उनले भने ।

प्रतिपक्षले पनि विश्वासका मत दिनुपर्छ भन्नुलाई सकारात्मक रुपमा लिएका गच्छादारले प्रतिपक्ष विना संसदको कल्पना गर्न नसकिने बताए ।

“अरु दलरुसँग छलफल गर्नुभएको छ । मधेशवादी दलसँग छलफल भइरहेको छ, शुभकामना छ राष्ट्रिय सरकार बनोस् ।” गच्छादारले भने ।

कांग्रेसले गुण र दोषको आधारमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले संसदमा व्यक्त गरेका योजना कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने विषयमा कांग्रेसले वाच डगको रुपमा हेर्ने बताए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *