दोस्रो इक्यान पूर्वाञ्चल शैक्षिक मेला भाद्र ३० देखि हुने

भाद्र २३, विराटनगर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चल शाखाले पूर्वका दुई ठूला शहरमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । उच्च शिक्षाका लागि विदेश जाने सोच बनाइरहेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गर्ने शैक्षिक मेलामा एकै छानामुनी दर्जनौं शैक्षिक परामर्श संस्था तथा विदेशी विश्वविद्यालय र कलेजको प्रतिनिधित्व हुनेछ ।
इक्यान पूर्वाञ्चलले यहि भाद्र ३० र ३१ गते विराटनगरमा र आश्विन १ र २ गते झापाको विर्तामोडमा शैक्षिक मेलाको आयोजना गर्न लागेको हो । ‘दोस्रो पूर्वाञ्चल शैक्षिक महोत्सव २०७६’ गर्न लागिएको इक्यानले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
महोत्सवको बिराटनगरमा उद्घाटन गरी बिर्तामोडमा समापन हुनेछ । गत वर्षदेखि इक्यान पूर्वाञ्चलले आयोजना गर्न थालेको शैक्षिक मेलामा कक्षा १२ पास गरेका ब्याचलर मास्टर्स र डिप्लोमा तह अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा तिनका अभिभावकले सहभागिता जनाउन सक्ने इक्यान पूर्वाञ्चलका अध्यक्ष रोशन निरौलाले बताए ।

‘शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावकले विदेशी शिक्षा प्रणाली, त्यहाँको रहनसहन, विश्वविद्यालय, कलेजको जानकारी, लागत प्रक्रिया, भिजा प्रक्रिया लगायतका विषयमा दक्ष तथा मान्यताप्राप्त काउन्सलरबाट शैक्षिक परामर्श पाउन सक्छन् ।’ अध्यक्ष निरौलाले भने–‘शैक्षिक मेलामा विदेशी विश्वविद्यालय, कलेज र तिनका आधिकारिक प्रतिनिधि तथा नेपाल सरकार शिक्षा मन्त्रालयबाट अनुमति लिएका कन्सल्टेन्सीहरुको मात्र सहभागिता हुने भएकोले विद्यार्थी अभिभावकले विस्वसनीय सूचना पाउन सक्छन् ।’
बिराटनगर र बिर्तामोडमा हुने शैक्षिक महोत्सवमा २० हजार विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने आयोजकको दावि छ । महोत्सवमा बिराटनगर र बिर्तामोडमा ३५ –३५ वटा मात्र स्टलहरु रहने बताइएको छ । यसपटक मेलालाई ब्यवस्थित बनाउनका लागि थोरै स्टल राखिएको आयोजकको भनाई छ । ‘धेरै स्टल राखेर भन्दापनि विद्यार्थीलाई आधकिारिक र मान्यता प्राप्त शैक्षिक संस्थाहरुसँग भेट गराउने माध्यम बनाइएको छ ।’ इक्यान पूर्वाञ्चल अध्यक्ष निरौलाले मकालु खबरसँग भने ।








