बौद्धिक अपांगता विद्यालयलाई आर्थिक संकट,  शैक्षिक निरन्तरतामा चुनौती 

नुवाकोट, फागुन २४ । बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययन गर्दै आएको जिल्लाको एक मात्र विद्यालय आर्थिक समस्यामा परेको छ । विदुर नगरपालिका–५ माझीटारमा रहेको बौद्धिक अपांगता प्रारम्भिक विद्यालयमा २४ जना विद्यार्थी अध्ययनरत भए पनि सरकारीस्तरबाट एकजना सहयोगी शिक्षक (आया) मात्र उपलब्ध भएकाले शैक्षिक निरन्तरतामा चुनौती देखिएको हो ।

बौद्धिक अपांगता भएका बालबालिकाको अभिभावकमार्फत सञ्चालनमा रहेको विद्यालयले विदुर नगरकार्यपालिकामा कक्षा १ सम्म अध्यापन गराउने अनुमति पाए पनि शिक्षक र भौतिक संरचना अभावमा विद्यालय चलाउन कठिनाइ भएको व्यवस्थापन समितिका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार विद्यालयमा दश छात्र र १४ छात्रा छन् । जसमा तीन वर्षदेखि ३२ वर्षसम्मका बौद्धिक अपांगता विद्यार्थी अध्ययन गर्छन् । उक्त विद्यालय विसं २०६८ देखि संस्थागत रुपमा सञ्चालन गरिएको हो ।

अठार वर्षभन्दा कम उमेरका १७ जना विद्यार्थी छन्, शिक्षक अभावले पर्याप्त शिक्षा र ज्ञान दिन कठिनाइ भएको विद्यालयले जनाएको छ । “१८ वर्षभन्दा माथि उमेरका सात जना छन् । उनीहरुलाई विद्यार्थी सुविधा उपलब्ध नहुने व्यवस्थाले थप कठिनाइ छ,” उनले भने, “बौद्धिक अपांगता भएकालाई शिक्षा र स्याहार दुवै चाहिन्छ, एक जना सहयोगी शिक्षकको कोटा मात्र पाएका छौँ, अरू दुईजना शिक्षक निजी स्रोतबाट चलाउँदै आएका छौँ, सरकारी सहयोग अपुग छ ।”

विद्यार्थीलाई अक्षरको माध्यमबाट भन्दा पनि चित्र र संगीतबाट स्फूर्ति बनाउने गरेको विद्यालयका शिक्षक राजेन्द्र श्रेष्ठले बताए । अपांगता भएका बालबालिकाको अभिभावक काममा व्यस्त हुने र उनीहरुले आफ्नो शरीरको रक्षासमेत गर्न नसक्ने हुँदा असुरक्षाको कारण विद्यार्थीलाई आवासीय व्यवस्था छ ।

विद्यार्थीलाई थेरापी, संगीत, खेल, चित्र लगायतका अभ्यासबाट सिकाइने हुँदा बौद्धिकतामा सुधार गर्दै सामन्यतर्फ फर्काइने गरिएको छ, त्यसमा विद्यालय सफल ठहरिँदै आएपछि अहिले विद्यार्थी भर्ना दर वृद्धि हुँदै गएको छ । अस्थायी टहरामा सञ्चालन हुँदै आएको विद्यालयमा भर्ना हुन चाहने अन्य विद्यार्थी भए पनि भौतिक संरचना र शिक्षक अभावले लिन नसकेको विद्यालयले जनाएको छ । विद्यालय सञ्चालनसम्बन्धी अधिकार स्थानीय तहलाई प्राप्त भएकाले आगामी दिनमा सहयोग गर्ने नीति अवलम्बन गरिने वडा नं ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *