भारतमा लकडाउन लम्बिएसँगै अनिश्चितकालका लागि स्थगित भयो आईपीएल

वैशाख ३, काठमाडौं । आज (बुधबार) देखि सुरु हुने भनिएको १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम न्युनिकरणका लागि भारत सरकारले लकडाउनको अवधि बढाएपछि आईपीएल स्थगित भएको हो ।
आईपीएल पहिले २९ मार्चमा सुरु हुने तय भएको थियो । तर, कोरोना भाइरसका कारण १५ अप्रिलसम्मका लागि सारिएको थियो । लकडाउन लम्बिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईनले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै लकडाउन अवधि मे ३ सम्मका लागि थपिएको बताएका थिए । जसले गर्दा अहिले क्रिकेट लिग गर्ने कुनै अवस्था छैन ।

यद्यपि, बीसीसीआईले आईपीएल स्थगितबारे अहिलेसम्म औपचारिक रूपमा केही बताएको छैन । उसले विभिन्न स्टेकहोल्डर सहभागी ८ फ्रेन्चाइज, ब्रोडकास्टरहरूसँग सम्पर्क गरेर आईपीएल रोकिएको तर रद्द नभएको जानकारी दिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।








