लकडाउनमा समस्यामा परेकालाई सहयोग गर्न परिपत्र

चैत १८, काठमाडौं। नेपाल तरुण दलले विदेशबाट आएका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन जिल्ला सभापतिहरुलाई परिपत्र गरेको छ। विदेशबाट आएकाहरुमा मात्र कोरोना भाइरसकको संक्रमण देखिएकाले थप संक्रमण फैलिन नदिन उनीहरुलाई क्वारेन्टाइनको व्यवस्था गर्न तरुण दलले आग्रह गरेको हो। 

स्थानीय प्रशासनसँगको समन्वयमा विदेशबाट आएका व्यक्ति र उनीहरुसँग घुलमिल भएकाहरुको पहिचान गरी निश्चित स्थानमा बस्ने व्यवस्था मिलाउन आग्रह गरिएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताए।   

‘बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसंग सहयोग लिई त्यसका लागि वातावरणको सिर्जना गरी सहयोग गर्न हामीले सबै जिल्ला सभापतिलाई परिपत्र गरेका हौं,’ उनले भने, ‘कोरोनाको जोखिम नेपालमा छ, सकेसम्म संक्रमण फैलिन नदिने उद्धेश्यले हामीले प्रशासनसँग मिलेर काम गर्नेछौं।’ तरुण दलले सीमामा अलपत्र नेपालीहरुलाई प्रशासनसँग समन्वय गरी नेपाल ल्याउन र उनीहरुलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ। 

मंगलबार तरुण दलले सबै जिल्ला सभापतिहरुलाई परिपत्र गरेको हो। परिपत्रमा सरकारले लागू गरेको लकडाउन कार्यान्वयन गर्न र गराउन पनि निर्देशन दिइएको छ। त्यसतै लकडाउनका कारण समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग गर्न अध्यक्ष बस्नेतले जिल्ला सभापतिलाई निर्देशन दिएका छन्।   

‘लकडाउनका कारण आफनो गन्तव्यसम्म पुग्न नपाई बीचबाटोमा अलपत्र परेका व्यक्तिलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्ने,’ अध्यक्ष बस्नेतद्वारा जारी परिपत्रमा भनिएको छ, ‘खाद्यान्न, तरकारी, दुध, औषधी, पानीलगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भीडभाड नगराई निश्चित दूरी कायम हुने गरी सहजीकरण गर्ने।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seventeen =