धर्म निरपेक्षताभित्र लुकेको अधर्मलाई केलाउँ

बिहीबार सुनसरी बराहक्षेत्रका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालतले पूर्पक्षामा राखि अनुसन्धान गर्न आदेश दियो । आफ्नै अनुयायी बलात्कार अभियोग लागेका गिरीलाई जिल्ला अदालत सुनसरीले तीन लाख रुपैंया धरौटीमा छाडेपनि उच्च अदालतले पूर्पक्षामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।   

ठगी गरेर ५ वर्षअघि गोरखामा गोरखाबाट भागेका ध्रुवबाबु जोशीलाई गएको साता ललितपुरको एउटा चर्चबाटै प्रहरीले पक्राउ गर्यो । रोगबाट मुक्ति पाउने भन्दै एक महिलालाई पटक–पटक बलात्कार गरेको आरोपमा उनी पक्राउ परे । धर्मको नाममा अधर्म गर्नेहरुको यतिबेला जगजगी छ । ‘धार्मिकताले राष्ट्रको उत्थान गर्छ’ भन्दै देशभर ख्रिष्टियन धर्मको प्रचार–प्रसार गर्नेहरुले संविधान विपरित कार्य गरिरहेपछि राज्यको ध्यान जान सकेको छैन । पास्टर, साधु सन्त र सिद्धबाबाका पद ओगटेर यौन प्यास मेटाउनेहरुले समग्र धर्मलाई बिक्रित बनाउँदै छन् । धर्मको नाममा ब्यापार गर्नेहरुको संख्या गन्न सकिन्न । जबरजस्ती धर्म परिवर्तन गराउने, स्कुले बालबालिकालाई किताबभित्र लुकाएर बाइबल बाँड्ने, धर्मको नाममा स्कुल चलाउने, अबैध रुपमा चर्च र बाइबलीय कलेज चलाउने धर्मभिरुहरुको कर्तुत बारम्बार पर्दाफास भइरहँदा पनि नियामक निकायको ध्यान नजानु भनेको यो मुलुकमा धर्मका नाममा जसले जे गर्दापनि छुट हुँदो रहेछ भन्ने प्रष्ट भएको छ ।   

समाजसेवाका नाममा टुहुरा, अपाङ्ग, असहायको फोटो देखाएर विदेशी डलर भित्र्याउने एनजिओ आइएनजिओको कमाउ धन्धा नियन्त्रण गर्न नत राज्यले चासो दिइरहेको छ नत आफुलाई सामाजिक, धार्मिक अभियान्ता भनेर पगरी गुथ्नेहरुले नै बोल्न सकेका छन् । त्यो भन्दा लज्जाको कुरा यहाँ अरु केहि छैन कि ? धर्मभिरुहरुले आफुले गरेको कूकृत्य लुकाउन राज्यलाई नै प्रयोग गरीरहेका छन् । राज्य धर्मभिरुका अगाडी नतमस्तक भएको छ । फलस्वरुप आजभोली धर्मका नाममा हाम्रा छोरीचेली, भाउजु बुहारी र आमाहरु दिन दहाडै बलात्कृत भइरहेका छन् ।   

कसैले कुनै विदेशी नागरिक वा संस्थालाई फकाई फुल्याई करोडौं रुपैंया मुलुकमा भित्र्याउँछ भने त्यो कानुन विपरित भएन ? धरानको सियोन स्कुलका डाइरेक्टर खड्ग थापामगरले दिन दहाडै राज्यको आँखा छलेर खुलेआम ‘मलाई विदेशीले करोडौं सहयोग गरेको हो, त्यो पैसा मेरो ब्यक्तिगत सम्पत्ति हो’ भनेर छाती पिटेर भनिरहँदा त्यो पैसाको स्रोत र उद्देश्य खोज्नु राज्यको दायित्व हैन ? यसरी एउटा ब्यक्तिले शक्ति र पहुँचकै भरमा विदेशी दाताबाट गैरकानुनी बाटो हुँदै लगानी भित्र्याउँदा त्यसले मुलुकको आर्थिक नितीमा असर पर्छकै पर्दैन ?   

हुण्डी कारोबारीलाई नियन्त्रण गर्न राज्यले कानुन बनाएको छ । बेलाबेलामा त्यस्ता कारोबारी राज्यका नियामक निकायबाट पक्राउ पनि पर्छन् । तर, त्यहि प्रकृत्तिको बाटो अपनाएर ब्यक्तिगत रुपमा विदेशबाट करोडौं रुपैंया ल्याउनेलाई चैं कानुनी कठघरामा  ल्याउनु आवश्यक छैन र ? 

एउटा उद्देश्य लिएर अर्को काम गर्ने संस्थाहरुले कतै नेपालकै सार्वभौमिकतामाथि आँच आउने कार्य त गर्दैछन् कि ? धर्म परिवर्तनको नाममा देशभर अबैधानिक रुपमा खोलिएका मन्दिर, चर्चदेखि मस्जिदसम्मको आयश्रोत खोज्ने दायित्व राज्यको हैन ?   

तर, यहाँ धर्मभिरुलाई राज्यले जे सुकै गर्न छुट दिएको छ । बलात्कार गरेर पटक–पटक माफी माग्ने सिद्धबाबालाई कानुनी कठघरामा उभ्याउँदै गर्दा अदालतको फैसला आउनुपूर्व नै भगाइन्छ । खुलेआम धर्मका नाममा ब्यापार गर्नेहरुलाई सम्मान गरिन्छ भने त्यहाँ न्याय हराएको छ । नागरिकको स्वतन्त्रता हराएको छ ।   

मुलुक धर्मनिरपेक्षतामा गएपछि धार्मिक गतिविधि बढिरहेका छन् । धर्मनिरपेक्षताको अर्थ हो राज्य कुनै एक धर्मको हैन । राज्यको नजर सबै धर्मप्रति समान हुनु हो । हरेक नागरिकले आ–आफ्नो धर्म स्वतन्त्र ढंगले मान्न पाउनुपर्छ भन्ने हो । तर, यहाँ धर्मनिरपेक्षताको गलत ब्याख्या गरेर धार्मिक विखण्डन र धर्मविपरितका कार्य भइरहेका छन् । यस्ता गतिविधिलाई राज्यले नियन्त्रण गर्न सकेन वा नियमन गर्न सकेन भने भोली मुलुकको राष्ट्रियता माथि नै संकट आउन सक्छ ।   

राज्यले चर्च, मस्जिद र बाइबलीय कलेजहरुलाई कुनैपनि निकायमा दर्ता गर्न दिइरहेको छैन । सनातन धर्म बाहेक देशभर फैलिएका धार्मिक संघ संगठन र संस्थाहरु अबैध रुपमा छन् । तिनलाई बैधता दिएर उनीहरुको गैरकानुनी कृयाकलाप नियन्त्रण गर्नुपनी राज्यको दायित्व हो । राज्यलाई चेतना भयाः धर्म निरपेक्षताभित्र लुकेको अधर्मले मुलुकलाई सखाप बनाउँछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =