जातीय भेदभाव गरेको आरोपमा पुजारी विरुद्ध मुद्दा
“
महेन्द्रनगर, फागुन १५ । कञ्चनपुरको एक मन्दिरमा पुजारीले जातीय भेदभाव गरेको भन्दै प्रहरीमा मुद्दा दिइएको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ‘ङ’ गाउँस्थित मन्दिरमा पूजा गर्न नपाइने भन्दै जातिय भेदभाव गरेको आरोपमा मन्दिरका पूजारी बलराम भट्टराई र स्थानीय श्रीकृष्ण नेपालविरुद्ध इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको हो ।
जातिय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ अनुसार कानूनी करबाहीको माग राख्दै ४ राजनीनिक दलका दलित भातृसंगठनका प्रतिनिधिको रोहवार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा मुद्दा दर्ता गरेका हुन् । उनीहरुले छुवाछुतलाई प्रोत्साहन दिएको भन्दै पुनर्वास नगरपालिका–६ का टेकबहादुर बिक र पुर्ण बहादुर बिकले मुद्दा दर्ता गराएका हुन् ।
एमाले समर्थित मुक्ति समाजका जिल्ला अध्यक्ष बिनोद नेपाली,माओवादी केन्द्र समर्थित दलित मुक्ति मोर्चाका बल बहादुर बिक,नेपाली काँग्रेस समर्थित नेपाल दलित संघका भिम नेपाली र नेपाल कम्युनिस्ट पार्टी बिप्लब का सुरेश सार्की लगायतको रोहबरमा मुद्दा दर्ता गरिएको हो ।
पुनर्वास नगरपालिका–६ स्थित सय नम्बर चोक मा रहेको मन्दिरमा शिवरात्रीको दिन पुजा गर्ने विषयमा भएको विवादका विषयमा दुई सातासम्म कुनै सहमती हुन नसके पछि सोमबार मुद्दा दर्ता गरिएको हो ।
यस अघि पूजारीसहित विभेद गर्ने व्यक्तिले सार्वजनिक माफी माग्ने भन्ने विषयमा छलफल गरिएपछि मूद्दा दर्ता रोकिएको थियो । पुजारीले सार्वजनिक माफी मागे पनि टिका नलगाउने अडान लिएका थिए ।
सार्वजनिक माफी माग्नका लागि पुनर्वासका सार्वजनिक कार्यक्रम समेत गरिएको थियो । स्थानीयले मुद्दा दर्ता नगर्न दबाव दिदै इलाका प्रहरी कार्यालयमा धर्ना समेत दिएका थिए ।
“