यी हुन् श्रीलंकामा बम विस्फोट गराउने ८ लडाकु

बैशाख ११, कोलम्बो । श्रीलंकामा श्रृङ्खलाबद्ध विस्फोट गराउने ८ लडाकु सार्वजनिक गरिएको छ ।
३ सय १० जनाको मृत्यु र ५ सय बढी मानिसहरु घाइते हुनेगरी गरिएको विस्फोटको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले लिएसँगै ८ घटनामा संलग्न ८ लडाकु सार्वजनिक गरिएको हो ।
null
ट्विटरबाट सार्वजनिक गरिएको सो तस्बिरमा देखिएका ८ जना लडाकुले नै सो हमला गराइएको दाबी गरिएको छ । तस्बिरमा देखिएका सबैले कालो कपडा लगाएका छन् भने एक जना बाहेकले अनुहार ढाकेका छन्।
श्रीलंकामा आइतबार चर्च र होटलहरुमा भएको आठ बम विस्फोटमा परी ज्यान गुमाएका सबै जनाको मंगलबार सामूहिक अन्त्येष्टि गरिएको छ । मृतकमध्ये ३८ जना विदेशी नागरिक हुन् भने विदेशीमध्ये १० जना भारतीय पनि रहेको पुष्टि भइसकेको छ ।
मंगलबार पुरै देशमा तीन मिनेटको मौन धारण राखिएको थियो । घटनामा ३८ जनालाई पक्राउ गरिएको थियो । तर उनीहरु कसैको पनि परिचय खुलाइएको थिएन ।
यता हमलाको पहिले नै चेतावनी मिलिसक्दा पनि सरकारले केही नगरेको भन्दै श्रीलंकामा हंगामा मच्चिएको थियो । यसबाट राजनीतिक विवाद थप बढेको छ ।
राष्ट्रपति सिरीसेनाका सल्लाहकार शिराल लकथिलाकाले बीबीसलाई भनेका छन्, ‘सरकारको गल्ती भएको छ या छैन, यसको अनुसन्धान गरिन्छ ।’
श्रीलंकामा आक्रमणलगत्तै आइतबार कर्फ्यू लगाइएको थियो भने सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको थियो ।








