ग्याल्बो र सोनाम ल्होछार मनाइँदै, आज सार्वजनिक विदा

काठमाडौं, फागुन ४ । बौद्ध महायानी धर्मावलम्वीहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् ।

सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ । सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि केही तामाङ समुदायले आफूहरुको तिथी र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन् ।

सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार धुमधामका साथ मनाउँदैछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो । ल्होछार मान्ने समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् ।

हरेक वर्ष जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यताअनुसार यो वर्ष चरा वर्षको विदाइ गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिनुभयो ।

यसैबीच, राष्ट्रिय सोनाम ल्होछार २८५४ को अवसरमा तामाङ समुदायमा रौनक छाएको छ काठमाडौंको तिनकुनेमा आज र भोली सांस्कृतिक महोत्सव हुँदैछ ।महोत्सवको आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने ल्होछार मूल समारोह समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार औपचारिक कार्यक्रम शुरु हुनु अघि काठमाडौंको सिनामंगल, नयाँ बानेश्वर र ललितपुरको बालकुमारीबाट साँस्कृतिक झाँकीसहितको र्याली निकालिँदैछ ।आजको दिन बिहानै नुहाइधुवाइ गरी घरघरमा तथा गुम्बाहरुका गएर पूजापाठ गर्ने, नयाँ वस्त्र लगाएर शुभकामना आदानप्रदान गर्ने, मिठा परिकार खाने तथा सामुहिक नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

यस्तै आफूभन्दा ठूलाबडासँग टीका ग्रहण गरी आशिर्वाद थाप्ने प्रचलन छ । आजको दिन तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटी), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन छ ।

यसैबिच, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् पर्व ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति एवम् समृद्धिको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको सन्देशमा सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण पर्वका रुपमा रहेको ल्होसारले सबै नेपालीमा उत्साह एवम् उमङ्ग बढाउँदै नेपालीबीचको एकता, सद्भाव एवम् मित्रता कायम राख्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले शेर्पा समुदायको महान् चार्ड ग्याल्बो ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिको प्रमुख चाड ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त गर्दै अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल भएको बताउनुभएको छ ।

उहाँले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि देशमा आधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको र निर्वाचनको परिणामअनुसार देशले नयाँ प्रधानमन्त्री पाएको उल्लेख गर्नूभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seventeen =