स्वास्थ्य सेवा विभाग मेरो पेवा हो,डीजी मै बन्नुपर्छ भन्ने छ र ?

तपाई काठमाडौं आएको फापेन है, डा. राजेन्द्र पन्तले देख्नै सकेनन् त ?

म विगत ३६ वर्षदेखि नेपालको दुर्गम जिल्लाहरु डडेलधुरा, बाजुरा जस्ता क्षेत्रमा काम गरेको मान्छे । ३६ वर्षको करियरमा मैले धेरै जिल्लाहरुको नेतृत्व पनि लिँए । गुल्मी जिल्लालाई मानव सुचकांकमा देशकै सर्वोत्कृष्ट जिल्ला बनाउन सफल भयौं । वुटवलकै कुरा गर्दा वार्षिक ६० लाख आम्दानी हुने ठाउँमा मेरै नेतृत्वको टिमले ९ करोड २० लाख पुर्याउन सफल भयो । बुटवलमा काम गर्दा हालका स्वास्थ्यमन्त्री दीपक बोहरा त्यहिँ क्षेत्रको भएकोले चिनजान हुँदा उहाँले मेरो काम हेर्नु भएको थियो । पोखरामा पनि राम्रो काम गरिरहेको अवस्था थियो ।

उहाँले मेरो काम गराई देखेर, संघियताको बदलिँदो अवस्थामा ‘यसले काम गर्न सक्छ’ है भनेर मलाई यहाँ ल्याएको अवस्था हो । र, डा. पन्तको विषयमा उहाँलाई नै धेरै थाहा होला मैले बोलिरहनु पर्दैन । मिल्दैन पनि । मेरो भनाई यत्ति मात्र हो की सरकारले मलाई जे जिम्मवारी दिएको छ त्यो पुरा गर्नु मेरो काम कर्तब्य र अधिकार कर्तब्य हो । म त्यहि काम गरिरहेको छु ।

तपाई नियमित प्रकृयाबाटै विभागमा आईरहँदा डा. पन्तले विवाद झिक्नुको कारण चाहिँ के हो ? कतै पहिला तपाईहरु विच कुनै तुष त थिएन ?

यो बुझाईको दृष्टिकोण हो । विभागको महानिर्देशक पद भनेको १२ औं तहको हो । डा. पन्त र म ११ औं तहका निमित्त हौं । निमित्त भनेको सरकारको दजविजको कुरा हो । सरकारले जिम्मेवारी दियो काम गर्यो जाउ भन्छ गयो । उहाँले जिकिर गर्न मिल्छ मिल्दैन उहाँलाई नै थाहा होला । उहाँले यसअघि आफुभन्दा ८ वर्ष सिनियर डा. पुष्पा चौधरीलाई हटाएर आउनु भएको पनि हो । म अहिलेसम्म काठमाडौं भ्यालीमा छिरेको पनि थिईन । म जस्तो मध्यम वर्गको ब्यक्तिले अवसर पाउँदा डा. पन्तलाई यत्रो पिडन हुनुपर्ने केहि देख्दिन । बरु मलाई कसरी हुन्छ फलाउनु, फुलाउनु पर्नेमा उल्टै अनेक बखेडा झिक्नु भयो । तुष त केहि थिएन ।

मैले जान्न चाहेको तपाईहरु एउटै लेवलको ब्यक्ति विच यसरी टकराव हुनुको कारण पहिला पनि थियो की यहाँ आएपछि मात्रै भएको हो ?

कसरी शुरु भयो, भन्ने कुरा मलाई भन्दापनि जसले टकराव गर्दैछ उसलाई नै सोध्दा ठिक होला । म सरकारले आईज भन्यो म आएँ, नियमित काम गरिरहेको थिए । आज १ महिना भयो अझैपनि कामै गरिरहेको छु । स्वास्थ्य सेवामा धेरै समस्या छ । स्थानीय निकायहरुमा आउनु भएका सरहरु इलेक्टेड हुनुहुन्छ, हामी लोकसेवाबाट आएकाहरु सेलेक्टेड छौं । अहिले इलेक्टेड र सेलेक्टेड विच द्वन्द्व भईरहेको छ । यसलाई द्वन्द्व नबनाईकन कलेक्टिभ रुपमा आपसी द्वन्द्वहरु घटाएर अगाडी बढ्नुपर्ने अवस्था छ । अब समयले यस्तै पार्यो भन्दैमा हामी विचलित पनि हुनुहुँदैन । अझ जिम्मेवारी लिएर ब्यवस्थित भएर अघि बढ्नु पर्छ ।

तपाई स्वास्थ्यमन्त्री दीपक बोहराले च्यापेर उहाँकै चाहना र स्वार्थमा आउनु भएको भनेर चर्चापनि भयो नी ?

हैन, मन्त्रीले च्याप्यो भन्दा पनि कसले कसलाई च्याप्यो भन्ने कुरा हो । ‘यसलाई विभागमा ल्याउँदा स्वास्थ्य क्षेत्रको ब्यवस्थापन गर्न सहज होला’ भनेर मन्त्री र सचिवको तजविजले आएको हो । उहाँहरुले मलाई कसरी ल्याउनु भयो त्यो उहाँहरुको पाटो हो ।

ठ्याक्कै एक महिना भयो विभागमा आउनु भयो यहाँ भित्रको समस्याहरु केके देख्नु भयो त ?

हेर्नुस्, यहाँका समस्याहरु मात्रै केलाउने हो भने, यो कोठा भरी हुन्छ । विभागको आन्तरिक समस्या, कर्मचारी ब्यवस्थापनका समस्या, चिकित्सकका समस्या, सरुवा बढुवाका समस्या छन् । यो भन्दा बढि समस्या देशमा देखिएको छ । जनताले सर्वसुलभ स्वास्थ्य सेवा पाएका छैनन् । जाजरकोट, कपिलवस्तु विरामी परेको छ । स्थानीय तहमा जनताले औषधोपचार पाएका छैनन् । त्यहाँको ब्यवस्थापन कसरी गर्ने ? स्थानीय निकाय र जिल्ला जनस्वास्थ्य कार्यालय विच समन्वय भईरहेको छैन यसलाई कसरी हल गर्ने ? यो घेराबाट उठेर अगाडी बढ्नु पर्नेमा हामी यहिँ भित्र अल्झिएर बस्दा राज्यलाई घाटा भएको छ । हामीले ब्यक्तिको समस्यालाई छाडेर राष्ट्रको समस्या हल गर्न अघि बढ्नुपर्छ ।

कसैबाट प्रभावित भएर नियुक्ति हुँदा, जनताले पाउने सेवा सर्वसुलभ र गुणस्तरीय हुन्छ भन्नेमा कसरी विस्वास गर्ने ?

प्रभावित भयो भन्ने कुरा हैन, को–कोबाट प्रभावित भयो भन्ने कुरा हो । उहाँले सात वर्ष सिनियरलाई पदबाट हटाएर डीजी बन्दा गगन थापाबाट प्रभावित हुनु भएको पो थियो की ? अझ त्यसअघि आएका पनि प्रभावित नै भएर आएकी यो सोध्नु पर्छ ।

मन्त्री र सचिवले उर्पयुक्त पात्रहरु छनौट गरेर त्यस मध्येबाट एक जना छान्नुहुन्छ । संयोगले यसपटक म परे भन्दैमा मेरै विरुद्ध लाग्नुपर्छ भन्ने त हुँदैन । कसरी सेटल गर्ने, कसरी सहयोग गर्ने, स्वास्थ्यका समस्या कसरी हल गर्ने भन्नेमा पो जानुपर्छ । स्वास्थ्य सेवा मेरो पेवा हो, यहाँको डिजी मै बन्नुपर्छ भनेर हुन्छ ? आजै यहाँ १२ औं तहका डा. विनोदमान श्रेष्ठ डीजी भएर आउनु भएको छ । अब मैलेपनि उहाँलाई किन आएको भनेर मुद्दा हाल्न त मिल्दैन । म उहाँलाई हार्दिकताका साथ स्वागत गर्न चाहन्छु ।

देशको स्वास्थ्य समस्या र विभागका समस्या केलाउँदा केके समस्या देख्नुहुन्छ ?

मैले अघिपनि भनेको छु समस्याहरु । स्वास्थ्यकर्मीको ब्यवस्थापनमा समस्या छ । दुर्गममा अझैपनि जनशक्ति नभएर र भएकालाई समेत ब्यवस्थापन गर्न नसकेर पठाउन सकिएको छैन । कर्मचारीका सरुवा बढुवा लगायत समस्या छन् । हामी आफैंले तय गरेका कार्यक्रम समेत गर्न सकिरहेका छैनौं ।

मुख्य रुपमा हामी स्वास्थ्यका मान्छेहरुमा काम गर्ने दृढ इच्छाशक्ति छैन । हामीविच काम गर्ने जनशक्ति छ तर, सम्बन्धित ठाउँमा पुर्याउन सकिरहेका छैनौं । अझैपनि ढिलो भएको छैन, हामसित जतिपनि महाशाखा र केन्द्रहरु छन् सबैले निश्चित कार्य क्षेत्र र परिधिभित्र रहेर काम गर्ने हो भने धेरै गर्न सकिन्छ ।

औषधि उपकरण खरिदमा विभागले हरेक वर्ष करोडौं खर्च गरिरहेको हुन्छ, तर, ती औषधि उपकरण सम्बन्धित क्षेत्र र जनतामा पुग्न सकिरहेका छैनन्, खरिद गरेको औषधी उपकरण कहाँ जान्छ ?

एकदमै ठिक कुरा उठाउनु भयो, हाम्रो अहिलेसम्मको सिष्टममा ‘सेन्ट्रल विडिङ लोकल पर्चेजिङ’ भन्नुको अर्थ बजेटको ७० प्रतिशत केन्द्रबाट टेण्डर हुन्थ्यो । ७० ओटा वस्तुहरु खरिद गर्दा विभिन्न झमेलाका कारण कहिले २० ओटा कहिले २२ ओटा मात्र खरिद हुन्थ्यो । यसले गर्दा जिल्लाहरुमा भनेजति औषधि जान सकेन । बरु, जिल्लाको २० प्रतिशत र क्षेत्रको १० प्रतिशत काम भने समयमै भएको पाएका छौं । टेण्डर प्रकृया झन्झटिलो र ढिलो भएको कारणले त्यस्तो भएको हो । अहिले ३५–३६ ओटा औषधि खरिद गर्न टेण्डर गरिसकेका छौं । निकट भविश्यमा सुधार हुँदै जानेमा म विस्वस्त छु ।

विभागबाट खरिद गर्ने औषधि उपकरण खरिदमा पदाधिकारीहरुको चर्को चलखेल हुन्छ, डा. राजेन्द्र पन्तको वर्हिगमन नहुनुमा पनि केहि ब्यापारीको हात छ भन्ने कुरा बजारमा आएका छन् तपाईले के पाउनु भयो ?

विगतमा चलखेल भयो भएन, यस बारेमा केहि बोल्दिन । तर, म आएको एक महिनामा त्यस्तो एउटै काम भएको छैन । विशुद्ध टेण्डरको परिधिभित्र रहेर काम गरिरहेका छौं । टेण्डर प्रकृयाको पनि आफ्नै नियम छ । सार्वजनिक खरिद नियमावलीलाई हेर्ने हो भने, आफ्नै घरको सामान समेत खरिद गर्न सकिने अवस्था छैन । ५ लाख भन्दा माथिको कुनैपनि सामान खरिदमा टेण्डरबाटै गरिएको छ ।

टेण्डर प्रकृयामै विभागका कर्मचारी र हाकिमले ब्यापारीसँग सेटिङ गर्छन् र त्यहि अनुकुलको स्पेशिफिकेशन बनाउँछन् नी ?

यो कुरा मेरो जानकारीमा छैन । मैले बोलेर काम छैन । तर, खरिद नियमावलीलाई आगामी दिनमा अझ ब्यवस्थित गर्न जरुरी छ । तपाईले भन्नु भएको विषयमा हामी सर्तक छौं ।

दुर्गम क्षेत्रमा कार्यरत कर्मचारी र चिकित्सकलाई दिने सेवा सुविधा र दरवन्दी अनुसार काम हुन नसक्नुको कारण के हो ?

यो मन्त्रालयले पोलिसी बनाएर कार्यान्वयन गर्ने कुरा हो । विभागले विभिन्न जिल्लाहरुमा रहेका डाक्टर र करारमा रहेकाहका विषयमा समस्या समाधान गर्ने कोशिष गरिरहेको छ । धेरै कुरा मन्त्रालयले गर्छ । दरबन्दीको ब्यवस्थापन २०४८ बल्लबल्ल ०६३ मा आउँदा सम्म केहि संसोधन भयो तर, अझै गर्न धेरै बाँकी छ । त्यत्तिबेलाको दरबन्दीले अहिलेको बढ्दो जनसंख्यालाई थेग्न सकिरहेको छैन । यसलाई अझ परिमार्जित गरेर जान आवश्यक छ । अहिले नयाँ संरचना अनुसार प्रत्येक गाउँपालिकाको हस्पिटल, जनस्वास्थ्य कार्यालयहरु र जनशक्तिको लेवलिङ गरिरहेका छौं । समय त लाग्छ नै तर, निराश भईहाल्नु पर्ने अवस्था चाहिँ छैन ।

खासगरी दुर्गम क्षेत्रमा जाने चिकित्सक र कर्मचारीलाई दिने सेवा सुविधा कम भयो भन्ने गुनासा किन सुनिएन ?

पक्कै कम छ, तर उहाँहरुले लोकसेवामा आउँदा नै यो सेवा सुविधामा काम गर्छु भनेर आउनु भएको हो । त्यसो भनिरहँदा उहाँहरुलाई पेल्नेपनि हैन । भत्ता ब्यवस्थापन, पारिवारिक ब्यवस्थापन कसरी गर्ने विषयमा सेवा सुविधा बढाउनै पर्ने देखिएको छ ।

देश संघिय संरचनामा गईसकेको अवस्थामा अबको स्वास्थ्य प्रणाली र नीति कसरी अगाडी बढ्ला ?

हाम्रो देशको संघिय संरचनामा केहि द्विविधाहरु रहेका छन् । जस्तो अहिले केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कुरा आएको छ । हामीले ७ ओटै प्रदेशमा स्वास्थ्य मन्त्रालय रहनु पर्छ भनेर माग गरेका छौं । देशभर ९० हजारको हाराहारीमा ३८ हजार मात्रै हाम्रा कर्मचारी छन् । तीनको ब्यवस्थापन गर्न पनि प्रदेशमा मन्त्रालय रहनुपर्छ । यो कुरा सामान्य प्रशासन मन्त्रालयलाई राम्ररी बुझाउन नसक्दा र मन्त्रालयले नबुझिदिँदा समस्या आइरहेको छ ।

यसरी प्रदेश पिच्छे हरेक मन्त्रालयबाट मन्त्रालय थप्दै जाँदा देशको अर्थतन्त्रले थाम्न सक्छ ?

फेडलिजम भनेकै त्यहि हो, यसमा राज्यलाई बढि आर्थिक भार हुन्छ भने, जनताले सेवा बढि पाउँछन् । हामी जनताको सेवा पट्टि रहेकोले यसलाई ब्यवस्थापन कसरी गर्ने कुरा त राज्यले तय गर्ने हो । आय आर्जनका स्रोत बढाउने, बैज्ञानिक र प्रगतिशिल स्वास्थ्य शिक्षा दिने, करको दायरा बढाउने कुरा राज्यले निर्धारण गर्ने कुरा हो ।

हामी समस्या थाहा पाउँछौं तर, समाधान गर्न किन लाग्दैनौं ?

तपाईको कुरा ठिक हो, यसो हुनुमा राजनीतिक अस्थिरता पनि एउटा पाटो हो । ६/६ महिनामा सरकार परिवर्तन हुँदा कर्मचारी पनि स्थिर भएनन् । विभागमै हेर्दापनि २०–३० वर्षमा २०–२१ जना डिजी भए । वर्षको एक जना डिजीसमेत स्थिर भएर काम गर्न नसकेपछि असर परिहाल्छ नी ! सबैतिर भागवण्डाको राजनीति छ । भागवण्डाको राजनीतिले देश उँभो लाग्दैन । भागवण्डाको ठाउँमा बरु एउटा शक्तिशाली आयोग बनाएर पो जाने होकी ! देशको विकास चाहने हो भने, एजेण्डा चाहिन्छ । हामीसँग कुनै एजेण्डा छैन । हाम्रो विकासको गति ‘काँशी जानु कुतिको बाटो’ जस्तो भएको छ ।

ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन के के भईरहेको छ ?

स्वास्थ्य नीति ड्राफ्ट भईरहेको छ । कुन ठाउँमा कस्तो प्रकारको हस्पिटल बनाउने कुरा आईरहेको छ । गाउँपालिकामा कम्तिमा १५ वेडको हस्पिटल बनाउने, त्यहाँ त्यहि अनुरुपको जनशक्ति ब्यवस्थापन गर्ने कुरा आएको छ । यस हिसाबले काम गर्ने हो भनेपनि, हामीले ७५३ ओटा हस्पिटल बनाउनुपर्ने देखिएको छ । त्यहि अनुसार जनशक्ति समेत ब्यवस्थापन गर्नुपर्ने अवस्था छ ।

कुरा कहाँ निर आयो भने, ७५३ ओटा हस्पिटल बनाउन योजना त चाहियो नी, त्यो योजना बनेको छैन । वर्षको सय ओटा मात्र बनाउन सकियो भनेपनि ८ वर्ष लाग्ने भयो । दुई अढाई सय ओटा बनाएर जाँँदा पनि जनताले दुखः पाउने भए । यस्तो अवस्थामा हामीले अहिले भएका संरचनालाई प्रयोग गर्दै, सुधार गर्दै आवश्यक्ताका आधारमा अगाडी बढाउनु पर्छ । कतिपय अवस्थामा हामीले शक्ति र भक्तिको भरमा पनि काम गर्नुपर्ने अवस्था छ, यसलाई हटाउनुपर्छ ।

जनताको स्वास्थ्य विमा सफल हुन नसक्नुको कारण के हो ?

सफल नभएको हैन । कार्यान्वयन तहमा केहि समस्या चाहिँ छ । जनताले सेवा खोजे, राज्यले ब्यवस्थापन गर्न सकेन । स्वास्थ्य विमा कार्यक्रम स्वास्थ्य जनशक्तिसँग जोडिएको कुरा पनि हो । आउँदो वर्ष सम्ममा ७७ ओटै जिल्लाहरुमा विमा कार्यक्रम लैजाने योजना छ । नयाँ बजेटमा कार्यक्रम पार्नका लागि योजना बनाउने क्रममा छौं ।

भोलीदेखि नयाँ डिजी आउँदै हुनुहुन्छ, तपाई पोखरा फर्कने की कतै सेटल हुने ?

म नेपाल सरकार स्वास्थ्य सेवाको कर्मचारी भएकोले सरकारले मलाई जुन किसिमको भूमिका दिन्छ निर्वाह गर्न तयार छु । म भन्दा सिनियर आउँदै हुनुहुन्छ, उहाँका विरुद्ध म अदालत जाने कुरा हुँदैन । १ महिनाको कामले मैले के सिकेँ भन्ने कुरा ठूलो हो । सिस्टम अनुसार जान सकिन, जान दिएनन् केहि खल्लो भने अवस्य भएको छ । मन्त्रालयले कहिँ न कहिँ सेटल गर्ला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =