आज सातौँ विश्व रेडियो दिवस, बिभिन्न कार्यक्रम हुदै

“
काठमाडौं, फागुन १ । आज सातौँ विश्व रेडियो दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘रेडियो र खेलकुद’ भन्ने नाराका साथ यसपालीको विश्व रेडियो दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले रुपन्देहीको बुटवलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमको दिउँसो एक बजे उद्घाटन गरिने अकोराबका महासचिव गोविन्द देवकोटाले जानकारी दिनुभयो । रेडियोको महत्व र योगदान, चुनौतिहरुको समीक्षा गर्ने दिनको रुपमा हेरिएको विश्व रेडियो दिवसको अवसरमा अकोराबका प्रदेश कमिटी तथा सामुदायिक रेडियोहरुको आयोजनामा आज देशभर विविध कार्यक्रमको आयोजना गरिएको छ ।
आज भन्दा ७२ वर्षअघि संयुक्त राष्ट्रसङ्घीय रेडियो स्थापना भएको दिनको सम्झनामा सन् २०१२ बाट संयुक्त राष्ट्र संघको आह्वानमा फ्रेब्रुवरी १३ तारिखमा विश्व रेडियो दिवस मनाउन थालिएको हो । नेपालमा सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको सङ्ख्या ८ सय ३१ पुगेको छ भने नियमित प्रसारण गर्न थालेका रेडियोको सङ्ख्या ६ सय ५० छ । नेपालमा सञ्चालनमा रहेका सामुदायिक रेडियोको सख्या ३ सय १५ नाघिसकेको अकोराबका महासचिव देवकोटाले जानकारी दिनुभयो ।
देशभर सञ्चालनमा रहेका सामुदायिक रेडियोले ७० भन्दा धेरै भाषामा कार्यक्रम र समाचार प्रसारण गरिरहेका छन् । नेपालका सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक संघले सन् २०१२ देखि नै विविध कार्यक्रमको आयोजना गरी विश्व रेडियो दिवश मनाउँदै आएको छ । आम सञ्चारका माध्यमहरुमा रेडियो सबैभन्दा धेरै नागरिकको पहुँचमा पुगेको माध्यम हो । नेपालमा सरकारी स्वामित्वबाट नागरिकको हातमा एफ एम रेडियो प्रसारण थालनी भएको बीस वर्ष पुगेको छ ।
“








