शिवरात्री मेला : पशुपतिमा तयारी पुरा, नागाबाबाको लिङ्ग विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, माघ २९ । शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा मंगलबार लाग्ने मेलाको तयारी पूरा भएको छ ।

मेलामा एकदेखि डेढ घण्टामा पशुपतिको दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए । कोषले यसपटकदेखि पैसा तिरेपछि लाइन नलागि दर्शन गर्न पाइने व्यवस्था हटाएको छ ।

पशुपति दर्शनका लागि जाने भक्तजनका लागि चारवटै ढोका खोलिनेछ । कोषका अनुसार बत्तीसपुतली–गौशाला र कोटेश्वर एयरपोर्ट तर्फबाट आउने दर्शनार्थीका लागि पिङ्गलास्थान –चार शिवालय –पन्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको छ ।

गुहेश्वरीतिरबाट आउने दर्शनार्थीका लागि गौरीघाट –उमाकुण्ड –दक्षिणामूर्ति – रुद्रगाडेश्वर –बासुकीनाथ हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । यस्तै चावहिल तर्फबाट आउनेका लागि सिफल– जयवागेश्वरी –मित्रपार्क, जयवागेश्वरी हुदै भुवनेश्वरीस्थित फलामको ढोकाबाट प्रवेश गरी पश्चिम ढोकासँगै प्रहरी प्रहरा गणबाट मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ ।

नागाबाबाको लिङ्ग बिरुद्ध सर्वोच्चमा रिट

शिवरात्रीमा नागाबाबाहरुले पशुपति क्षेत्रमा गर्ने लिङ्ग प्रदर्शन रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ । कानुन व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर गरेको छ । न्यौपानेले धर्मको नाममा नागाबाबाद्धारा गरिने अश्लील प्रदर्शन र उच्छृङखल व्यवहार नियन्त्रण गर्न आदेश माग गरी सो रिट दायर गरेका हुन् ।
न्यौपानेले धर्मशास्त्रमा उल्लेख नै नभएको व्यवहार देखाएर नागाबाबाले समाजमा भ्रम र अन्धविश्वास फैलाइरहेको रिटमा उल्लेख छ ।

उक्त कार्य संविधानविपरीत भएको बताउँदै लिङ्गको प्रयोग गरी विभिन्न अश्लील खेलहरु खेल्ने, हेर्न बाध्य बनाउनेलगायतका कार्यबाट महिला तथा बालबालिकामाथि मनोवैज्ञानिक यौन हिंसा हुने उल्लेख गरिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =