ऐतिहासिक विजयपुर दरबारको अस्तित्व संकटमा

धरान, माघ २८ । सुनसरीको धरान उपमहानगरपलिका वडा नं १४ दर्नास्थित तत्कालिन विजयपुर राज्य चर्चित र शक्तिशाली राज्य मानिन्थ्यो । शक्तिशाली राज्य र बिशेष महत्व पाएको बिजयपुर दरबारको भग्नावशेष दरबार र त्यस वरपरको क्षेत्रको अस्तित्व नै हाल संकटमा परेको छ ।

विराट राजाहरुको दरबार रहेको स्थान बिजयपुर अहिले खण्डहर हुनुका साथै खानेपानी योजना अन्र्तगत खानेपानी टयाङकी निर्माण गर्न भईरहेको तयारीका कारण विजयपुरको अस्तित्व नै संकटमा पर्न लागेको हो ।

यहाँ दरबारका केही अवशेष मात्रै बाँकी छन् तर ऐतिहासिक संरचना केही पनि देखिदैनन् । दरबार रहेको विजयपुर डाडामा केवल नाङ्गो डाँडो र दरबार निर्माणमा प्रयोग भएका केही ढुंगा मात्रै रहेकाले यहाँ दरबार थियो भनेर चिन्न सकिने आधार मात्रै छन् ।

धरानका स्थानीय भक्त लिम्बु भन्छन् ‘उहिले उहिले भत्किएपछि ५ फिट सम्मका लामा लामा ढुंगाहरु देखिन्थे अहिले ति ढुंगा समेत कहाँ गए अत्तो पत्तो छैन ।’ दरबार लोप भएपनि ढुंगा बाहेक सबै कला कौशल र एतिहासिक चिजबस्तु हराएर गएको लिम्बु बताउँछन् ।

ढुगामा कुँदिएका केही मुर्ति लगायत ठुला ढुंगाका सामानहरु दरबार नजिकै वरिपरी रहेका सुकुम्बासी बस्तिका घरहरुमा रहेका देख्न पाईन्छ ।

तत्कालिन अवस्थामा निकै सुन्दर र आकर्षक देखिने विजयपुर किराँत राजाको दरबार क्षेत्र अहिले लागु औषध प्रयोगकर्ता तथा माया प्रिती साट्ने जोडिहरुको अखडा बनेको छ भने वरिपरि अनेक प्रकारका झार उम्रिएका छ ।

सदियौदेखिको विजयपुर दरबारका मुख्य हकदारहरु यहाँ नहुँदा ऐतिहासिक र पुरातात्विक क्षेत्र र सम्पदाले कुनै भाउ नपाएको र अस्तित्व नै संकटमा परेको स्थानीयहरुको भनाई छ ।

स्थानीय विजयपुर दरबार क्षेत्र परिसरमा रहेको पाथिभरा मन्दिर रेखदेख गर्ने यशोधा कोईराला भन्छिन् ‘राजाको शासन सकिएसंगै पुरानो र ऐतिहासिक महत्वको विजयपुर दरबार पनि ओझेलमा पर्यो । यस क्षेत्रको संरक्षण र सम्बद्र्धन गरि पर्यटन क्षेत्रका रुपमा विकास गर्न सके अझै पनि राम्रो हुने थियो ।’

दरबार भएको क्षेत्रलाई सार्वजनिक बनाएर सबै किरातीहरुको साझा सम्पतिका रुपमा उपयोग गर्ने विषयमा विभिन्न समयको प्रयास असफल भएको स्थानीय सुवास हुप्पा चोङवाङको भनाई छ ।

यसलाई सबैको साझा सम्पत्तिको रुपमा ग्रहण गरी यस क्षेत्रको संरक्षण गरेर पर्यटन क्षेत्रका रुपमा विकास गर्न जरुरी रहेको उनले बताए ।

ध्वस्त संरचना र दरबारलाई पुरानै अवस्थामा फर्काउन नसके पनि ऐतिहासिक कोटको उत्खनन् गरी त्यहाँ भेटिने पुरातात्विक बस्तुलाई सोही स्थानमा सङ्ग्रहालय बनाई पर्यटन पबद्र्धनमा जोड दिनुपर्ने उनको भनाई छ ।

दरबार संगै जोडिएको मन्दिर र नजिकै रहेको ऐतिहासिक र पुरातात्विक सम्पदा पनि प्रचार प्रसार, उचित रेखदेख र संरक्षण तथा विकास हुन नसक्दा ओझेलमा परेको पुरातत्व विभाग क्षेत्रीय कार्यालय धनकुटाका प्रमुख चन्द्र प्रसाद अधिकारीको भनाई छ ।

दरबार क्षेत्रमा एडिबिद्धारा खानेपानी निर्माणको तयारी गरिएसँगै धरानमा विभिन्न जातीय संघसंस्थाद्धारा ऐतिहासिक अस्तित्व मेटिने भन्दै खानेपानी निर्माणमा रोक लागाउन विभिन्न आन्दोलनका कार्यक्रमहरु ल्याएसँगै अधिकारी अनुगमनका लागी विजयपुर दरबार आएका थिए ।

अधिकारीले पनि विजयपुर दरबारसँग सम्वन्धित भेटिएका केही प्रमाणहरुका आधारमा विजयपुरको अवस्थिती र किरात राजाको दरबार निकै कलात्मक र ऐतिहासिक रहेको अनुमान लगाउन सकिने बताए ।

अधिकारीले अनुगमनको क्रममा दरबारलाई पुनः निर्माण गर्नुपर्ने सवाल उठिरहेपनि आफुले देखेका कुरा माथिल्लो निकायमा रिपोट पठाईदिन सक्ने बताए ।

तर उनले पछिल्लो समय दरबार क्षेत्रदेखि केही तलसम्मका भुभागमा सुकुम्बासी बस्ती बसिसकेकोले सो क्षेत्रमा उत्खनन् गर्न सम्भव नरहेको बताए ।

यसले विजयपुर ऐतिहासिक दरबार र ऐतिहासिक राज्यको महत्वलाई फिका बनाईरहेको छ । तर थोरै भएपनी विजयपुर दरबारको अस्तित्व फर्काउनका लागि दरबारको सेन्ट्रीगेटलाई उत्खनन् गर्न सकिने अधिकारीको तर्क थियो ।

यता विजयपुर दरबारमा निर्माण हुन लागेको खानेपानीको ट्याङ्की निर्माण रोक्नका लागि गठन भएको संघर्ष समितिले उत्खनन्का लागी पहलकदमी गरिनु सकारात्मक भएको भएपनि दरबारको बिचमा पानी ट्याङ्की निर्माण गरिनु उचित नहुने बताउँदै आएको छ ।

हजारौ वर्ष पुरानो इतिहास बोकेको विजयपुर राज्य, त्यस वरपर रहेका अन्य ऐतिहासिक सम्पदाहरुको खोज अनुसन्धान, प्रचारप्रसार र संरक्षण हुन नसक्दा यहँको अस्तित्व संकटमा परेको संघर्ष समितीका संयोजक सुवास हुप्पाचोङवाङले जनाए ।

हालको धरान उपमहानगरपािलका १४ तत्कालिन वियपुर दरबार राज्यमा पर्ने बिभिन्न पौराणिक तथा ऐतिहासिक स्थलहरु (भग्नावशेष दरबार, ढुंगेधारा, पार्टीपौवा, आदि क्षेत्रको संरक्षण, सम्बद्र्धन, पुनःनिर्माण र प्रचारप्रसार गर्न सके एतिहासिक र धार्मीक पर्यटकिय क्षेत्रको रुपमा समेत विकास हुने स्थानीय बासिन्दाहरु बताउछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =