प्रदेश नम्बर १ मा सभामुख चयन अर्काे सोमबार

“विराटनगर, माघ २२ । प्रदेश नम्बर १ ले माघ २९ गते सभामुख पाउने भएको छ । सोमबार प्रदेशको अस्थायी मुकाम विराटनगर स्थित जिल्ला समन्वय समितिको सभाहलमा बसेको प्रदेश सभाको बैठकले माघ २९ गते सभामुख चयन गर्ने निर्णय गरेको हो ।
प्रदेशसभाको पहिलो बैठकले अन्तरिम कार्यविधी पारित गरेको छ भने सभामुख र उप–सभामुखको निर्वाचनको मिति तय गरेको छ ।
बैठकको अध्यक्षता ७३ वर्षीय ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले गरेका थिए । प्रदेश नम्बर १ मा ९३ जना सांसद छन् । बैठकमा ७ जना सांसदले सम्बोधन गरे ।
पत्रकारलाई तालिम
यसैबीच प्रदेश नं. १ को राजधानी विराटनगर घोषणा भएसगै विराटनगर र देशै भरिका सञ्चार माध्यमहरुमा १ नं. प्रदेशको संसदीय वैठकको रिपोर्टिङ गरी सिप विकासमा टेवा पुर्याउने उदेश्यले मोरङको बिराटनगरमा एक दिने संसद रिपोर्टिङ तालिम सम्पन्न भएको छ ।
पत्रकार महासंघद्धारा महासंघको सभाहलमा सो तालिम आयोजना गरिएको थियो ।
संसदीय मामिला पत्रकार समाजका पूर्व कार्यवाहक अध्यक्ष तथा पत्रकार मात्रिका पौडेलले प्रशिक्षण पत्रकारहरुलाई प्रशिक्षण दिएका थिए ।
तालिममा १ नं प्रदेश अन्र्तगतका १४ जिल्लाका गरी ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो भने तालिममा संसद भवन सभाहल भित्र समाचार सम्पे्रषण र पत्रकारका नीति नियम, आचारसंहिता लगायतका विषयमा जानकारी गराईको थियो ।
एमालेको संसदीय दलको नेता चयन २६ गते
प्रदेश नं १ मा नेकपा (एमाले) को संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ । सोमबार विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।
एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र टीकाराम पुरी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।
संसदीय दलको नेता चयनका लागि माघ २६ गते संसदीय दलको कार्यालयमा निर्वाचन गर्ने निर्णय भएको थियो ।
प्रदेश नं १ मा एमालेभित्र संसदीय दलको नेतामा केन्द्रीय सचिव भीम आचार्य, पोलिट ब्यूरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरेले दाबी गर्दै आएका छन् ।
सहमतिको प्रयास सम्भव नभएपछि अन्ततः निर्वाचन नै हुने पक्का भएको एमालेका नेताहरुले बताएका छन् । प्रदेश नं १ मा एमाले एक्लैको बहुमत रहेकाले जो पार्टीको संसदीय दलको नेता हुन्छन् त्यो नै १ नं प्रदेशको मुख्यमन्त्री बन्ने पक्का छ ।”








