मन्त्रीको पुत्रीलाई अध्यक्ष थापाले च्याप्दा

“
काठमाडौं, माघ १८ । नियम कानुनको धज्जी उडाँउदै नेपाल रेडक्रस सोसाइटी कसरी चलिरहेको छ भन्ने यो एउटा सानो उदाहरण हो । त्यहाँ भित्रको विकृती र विसंगती लेखिसाध्य छैनन् । तिनै विकृति र किसंगतीमध्येको पछिल्लो एक उदाहरण हो यो ।
सोसाइटीका अध्यक्ष सञ्जिव थापालाई मन्त्रीले आफ्नो छोरीलाई जागिर लगाउन ठाडो आदेश दिएपछि उनले ‘नाइँ’ भन्न सकेनन् । र, संस्थाका वरिष्ठ कर्मचारीलाई पछि पार्दै तुरुन्तै छोरीलाई करारमा जागिरे बनाए । यसरी विधान र प्रक्रिया मिच्दै मन्त्रीको छोरीलाई जागिर लगाएपछि सोसाइटीका कर्मचारीहरु अध्यक्ष थापाविरुद्ध मैदानमा उत्रिएका हुन् ।
वरिष्ठलाई लात हान्दै थापाले मन्त्रीको छोरी च्यापेपछि त्यहाँका कर्मचारीहरुले थापालाई ज्ञापन पत्र नै बुझाएका थिए । तर, नेताको चाकरी गरेर शक्तिमा टिक्दै आएका थापाले कर्मचारीहरुको यो आवाज एउटा कानले सुनेर अर्काे कानले उडाइदिए । उता, कर्मचारीहरु थापा विरुद्ध उत्रिनै रहेका छन् ।
यसरी सिंचाईमन्त्री सञ्जय गौतमको ठाडो आदेशमा नेपाल रेडक्रस सोसाइटीको अधिकृत तहमा पुत्रीलाई करारमा जागिरे बनाइएको हो । नियमानुसार, अधिकृत पदमा करारमा कर्मचारी राख्न पाँइदैन । तर, अध्यक्ष थापालाई मन्त्रीको ठाडो आदेश आएसँगै शीरोधार्य गर्न बाध्य भए । नियम कानुनलाई धोती लगाँउदै त्यहाँ मन्त्रीपुत्रीलाई नियुक्ती गरियो । नेपाल रेडक्रस सोसाइटी स्रोतका अनुसार, थापाले हाल पनि कर्मचारी संघको ज्ञापन–पत्रलाई वेवास्ता गर्दै मन्त्रीको ठाडो आदेशमा धमाधम नयाँ कर्मचारी भर्ना भइरहेको छ ।
नेपाल रेडक्रस कर्मचारी संघले पुष २५ मा सोसाइटीका अध्यक्ष सञ्जीव थापालाई वुझाएको ज्ञापन पत्रको पहिलो वुँदामा विभाग वा महाशाखाबाट व्यक्ति तोकी ठाडो टिप्पणीमार्फत जनशक्ति नियुक्ति गर्ने अभ्यास तत्काल बन्द गर्न माग गरिएको छ । तर, कर्मचारी संघले ज्ञापनपत्र वुझाएको केहि दिनमै अध्यक्षको ठाडो आदेशमा सिंचाइमन्त्री सञ्जय गौतमकी छोरीलाई अधिकृत तहमा नियुक्ति दिइएको छ ।
त्यसो त त्यहाँ मन्त्रीपुत्री मात्रले करारमा नियुक्ती पाइनन् । उनले नियुक्ती पाए लगतै सिंचाई मन्त्रालय मातहतको प्रकोप व्यवस्थापन लगायतका विभागमा अन्य सात जनालाई पनि नियुक्ति गरिएको छ । यसरी विज्ञापन समेत नखुलाई ठाडो आदेशको भरमा कर्मचारीहरुलाई नियुक्ती गर्न थालेसँगै त्यहाँका कर्मचारीहरु सञ्जिवविरुद्ध उत्रिएका हुन् ।
“








