गाउँपालिका अध्यक्षको घर नजिकै बम विस्फोट, दुई वटा गाडीमा पेट्रोल बम प्रहार

नवलपरासी, १३ जेठ । विप्लव नेतृत्वको नेकपाको बन्दको क्रममा विहान नवलपरासीमा दुई वटा गाडीमा पेट्रोल बम प्रहार भएको छ । त्यसैगरी बुलिङ्गटारमा एउटा सिलिण्डर बम विस्फोट भएको छ । प्रहरीका अनुसार विहान सवा ३ बजेतिर पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ बाहुनीकुनामा पश्चिमबाट पूर्व आउँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेका छन् । 

पेट्रोल बम प्रहार गर्न खोजेको देखेपछि ट्रक चालक भाग्न खोज्दा ट्रक दुर्घटना भएको छ । वमले चालक तनहुँको ब्यास नगरपालिका ४ बस्ने ३३ बर्षका अमर विकको अनुहार र ढाडमा पोलेको र उनको अरुणखोलाका मनकामना पोलिक्लिनिकमा उपचार भईरहेको प्रहरीले जनाएको छ । आगलागीमा परी ट्रकमा समेत क्षति भएको छ ।त्यसैगरी आज विहान नै कावासोती १६ डण्डाको पत्थर खोला नजिकै एउटा जिपमा पेट्रोल बम प्रहार गरेका छन् । घटना सबै विप्लवका कार्यकर्ताले गराएको प्रहरीले अनुमान गरेको छ । डण्डामा पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गरेको हो । जीपको त्रिपालमा क्षति भएको र अन्य क्षति नभएको प्रहरीले जनाएको छ ।त्यसैगरी गएराति बुलिङ्गटार ३ मा बुलिङ्गटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीको घर नजिकै विस्फोट गराएका छन् । अध्यक्ष बस्ताकोटीको घरदेखि ३ सय मिटर पर श्रीधर गिरीको खेतमा सिलिण्डर बम विस्फोट गराइएको हो । विस्फोटबाट मानवीय क्षति भने भएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *