चीनबाट आउने नेपालीलाई राख्ने ठाउँको नजिकै पुगेको छ सरकार : स्वास्थ्यमन्त्री ढकाल

माघ २१, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न आन्तरिक रुपमा धेरै तयारी गरेको स्वस्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।   

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले सरकारले चीनको वुहानमा रहेका आफ्ना नागरिकहरुलाई नेपाल ल्याउने तयारी पूरा भएको पनि जानकारी दिए । उनले त्यसका लागि संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार आदेश पनि जारी भएको जनाए । 

चीनबाट उद्दार गरिनेहरुबाट अरुमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सचेतता अपनाएको भन्दै स्वाथ्यमन्त्री ढकालले जुन जुन देशले चीनबाट आफ्ना नागरिक लगेका छन् त्यहाँबाट छिटपुट प्रतिक्रिया आएकाले  त्यसलाई समेत मध्यनजर गरी जोखिम नहुने सुनिश्चितता गरेर मात्र आफ्ना नागरिक ल्याउने तयारीमा रहेको बताए ।   

त्यसका लागि राख्ने ठाउँको नजिक सरकार पुगेको उनले बताए । उनले भने ‘ठाउँ नै नपाएर बानेश्वरको हलमा राख्ने भन्ने कुराले रोग नियन्त्रण हुने हो भने यस्ता ठाउँहरु त प्रयाप्त पाइन्छन् ।’ 

मन्त्री ढकालकाअनुसार चीनमा परीक्षण गरेर संक्रमित नभएको पुष्टि भए मात्र उनीहरुलाई नेपाल ल्याइनेछ । ‘त्यहाँ जाँच गर्दा पोजेटिभ भेटिए चीन सरकारले पठाउँदैन । संक्रमण नभएको पुष्टि भएपछि पनि सावधानीका साथ ल्याउँछौं’ उनले भने । 

त्यसपछि पनि नेपाल ल्याउन सहज छैन । वुहानमा एयरपोर्ट बन्द गरिएको छ भने सार्वजनिक यातायात पनि चन्दैन । त्यसैले चीन सरकारको समन्वयमा मात्र नेपालहीरलाई उद्दार गर्न सकिने मन्त्री ढकालले बताए ।   

नेपालको विमानस्थलमा पनि विशेष सुरक्षाको प्रविधि अपनाएका स्वास्थ्य प्राविधिकले उनीहरुलाई रिसिभ गरी १४ दिन क्वारेन्टाइनमा राख्ने मन्त्री ढकालले बताए । 

चीनबाट फर्काइएकाहरुलाई राख्ने ठाउँमा सकेसम्म एक जनालाई एउटा कोठामा र सम्भव नभए कम्तीमा ६ फिट टाढा राख्ने स्वास्थ्यमन्त्री ढकालले बताए ।   

साथै उपचारका लागि ३ वटा अस्पतालमा ४३ वटा बेडको तयारी गरेको पनि उनले संसदमार्फत जानकारी गराएका छन् ।   

पोखरा चितवन र भैरहवामा हेल्प डेस्क स्थापना गरेको बताउँदै मन्त्री ढकालले रसुवा र तातोपानीलाई पनि सम्भावित जोखिमको ठाउँमा राखिएको जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =