नरेन्द्र मोदीलाई पत्र पठाएर ओलीले भने ‘भारतसँग सहकार्य गर्न ईच्छुक छु’

काठमाडौँ, माघ १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर आफू भारत सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने लगभग निश्चित रहेका ओलीले भारतसँग सम्बन्ध सुधार गर्न चाहेको पत्रमार्फत संकेत गरेका छन् ।

पत्रमा ओलीले लेखेका छन्, ‘नवनिर्वाचित जनप्रतिनिधि र संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतले म तपाईं र तपाईंको नेतृत्वको सरकारसँग दुई देशको हितका लागि मिलेर काम गर्न उत्सुक छु ।’ पछिल्लो समय ओली र भारतीय संस्थापन पक्षबीच चिसो सम्बन्ध रहँदै आएकोमा ओलीको पत्रले उनी भारतसँग सम्बन्ध सुधार गर्न चाहेको देखिएको छ । वाम गठबन्धनसँग भारतले पनि सम्बन्ध सुधार गर्न चाहेको देखिन्छ ।

पछिल्लो एक महिनाको अवधिमा भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष केपी ओलीलाई दुई पटक सम्म टेलिफोन गरेर प्रधानमन्त्रीका लागि अग्रिम शुभकामना दिएका थिए ।

यसैबीच, नेपालमा वाम सरकार गठनको तयारी हुँदै गर्दा भारतीय विदेशमन्त्री सुष्मा स्वराज यही बिहिबार नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी विशेषतः वाम सरकारसँग सम्बन्ध सुधारका लागि भारतीय प्रधानमन्त्री मोदीको विषेश दूत बनेर नेपाल आउन लागेको बताइएको छ ।

एमाले अध्यक्ष केपी ओली नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै रहेको अवस्थामा स्वराज नेपाल आउन लागेकी हुन् ।

सोमबार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी स्वराज बिहिबार दुई दिने भ्रमणको क्रममा नेपाल आउन लागेको जानकारी दिएको छ ।

भ्रमणका क्रममा नेपाल–भारतबीचको साझा चासो, आपसी हित र सम्बन्धका विषयमा स्वराजले राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणबाट नेपाल भारतबीचको सम्बन्ध थप मजबुत हुने विश्वास समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =