राष्ट्रियसभामा २४ जना निर्विरोध, ५२ जना चुनावी मैदानमा

काठमाडौं, माघ १६ । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार नेकपा एमालेका नौ, नेपाली कांग्रेसका आठ, माओवादी केन्द्रका तीन, संघीय समाजवादी फोरम र नेपाल राष्ट्रिय जनता पार्टी नेपालका दुई दुई उम्मेदवार निर्विरोध भएका हुन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ८३ मध्ये २४ जना निर्विरोध भएपछि बाँकी ५९ रहेकामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्, एकजनाको रद्द भएका छ भने ५२ जना चुनावी मैदानमा छन् ।

निर्विरोध हुने एमाले उम्मेदवारमा परशुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, नैनकला ओझा, सुमनराज प्याकुरेल, कोमल ओली, मीना बुढा, शेरबहादुर कुँवर, इन्दु कडरिया र कमलाकुमारी ओली हुनुहुन्छ ।

त्यस्तै कांग्रेसका तर्फबाट उम्मेदवार भएकामध्ये रमेशजंग रायमाझी, सरिता प्रसाईं, जीतेन्द्रनारायण देव, मुक्ताकुमारी यादव, प्रकाश पन्थी, अनिता देवकोटा, बद्री पाण्डे र तारादेवी भट्ट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका तर्फबाट वीना पोखरेल, शशीकला दाहाल र हरिराम चौधरी निर्विरोध हुनुभएको छ । फोरमका रामपुत पासवान र प्रमिला कुमारी तथा राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =