‘नेपाललाई अन्तराष्ट्रिय शैक्षिक हव बनाउन सरकार तयार छ’ प्रधानमन्त्री
जेठ ९, काठमाडौं । राजधानीमा आजबाट छैटौं हिसान एडु फेयर (शैक्षिक मेला) सुरु भएको छ । प्रदर्शनीमार्ग स्थित भृकुटिमण्डपमा सुरु भएको शैक्षिक मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । उद्घाटन समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अन्तराष्ट्रिय शैक्षिक हवका रुपमा विकास गर्न सरकार लागि परेको बताए ।
पछिल्ला वर्षहरु उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीलाई स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा दिने वातावरण बनाउन सरकारले ठोस योजना ल्याउने बताउँदै प्रधानमन्त्री ओलीले यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न सरकार तयार रहेको जिकिर गरे । ‘नेपाललाई अन्तराष्ट्रिय शैक्षिक हव बनाउन हाम्रो पाठ्यक्रम, वातावरण र ऐन समेत परिवर्तन गर्नुपर्ने अवस्था छ, जनतालाई सरकार गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध छ ।’ ओलीले भने–‘यसका लागि निजी क्षेत्रका शैक्षिक संस्थासँग सहकार्य गरेर अगाडी बढ्न सरकार प्रतिबद्ध छ ।’
null
प्रधानमन्त्रीले शैक्षिक क्षेत्रमा विद्यमान विक्रिति विसंगति न्यूनिकरण गर्दै विद्यार्थीलाई जिवनोपयोगी शिक्षा दिनुपर्नेमा जोड दिए । उनले ब्यवहारिक र देशलाई चाहिएको शिक्षा नयाँ पुस्ताले ग्रहण गरे, समृद्ध नेपाल सुखी नेपालीको नारा सफल हुने समेत बताए । उनले गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रले गरेको लगानीको सुरक्षा र संरक्षण राज्यले गर्ने बताए ।
‘अहिले राज्यले सबैभन्दा बढी लगानी शिक्षामा गरेको छ । जहाँ निजी क्षेत्रले लगानी गर्छ, त्यहाँ राज्यलाई खुकुलो र सजिलो हुन्छ,’ प्रधानमन्त्रीले भने । सरकारले सार्वजनिक शिक्षालाई स्तर वृद्धि गरेर निजी क्षेत्रका शैक्षिक संस्थालाई अप्ठ्यारोमा पार्ने भन्दै उनले भने–‘अहिले मिलेर काम गरौं, कोही विद्यार्थी पढ्नका लागि बाहिर जान नपर्ने वातावरण बनाऔं ।’
उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले शिक्षामा निजी क्षेत्रले गरेको लगानी र योगदानलाई सम्मान गर्दै जाने बताए । पोखरेलले सबै विद्यार्थीले देशभित्रै शिक्षा प्राप्त गर्ने वातारण बनाउन सरकार लागि परेको जनाए ।
‘उत्कृष्ठ शिक्षा नेपालमै’ भन्ने मुल नाराका साथ सुरु भएको शैक्षिक मेलाका बारेमा बोल्दै उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघका केन्द्रिय अध्यक्ष रमेश सिलवालले मुलुकको शिक्षा प्रणालीमा उल्लेख्य सुधार आएको बताउँदै अब विद्यार्थीले उच्च शिक्षाका लागि विदेश गइरहनुपर्ने अवस्था नरहेको बताए ।
नेपालको शिक्षा प्रणाली सुधारोन्मुख रहेकोले उच्च शिक्षाकै लागि विदेश जानै पर्छ भन्ने बाध्यता नरहेको स्पष्ट पारे । ‘पाँच सात वर्ष यता नेपालको शैक्षिक अवस्थामा ब्यापक परिवर्तन आएको छ, विद्यार्थीले ब्यवहारिक र जिवनोपयोगी शिक्षा पाउन थालेका छन्, अब लाखौं खर्च गरेर घरपरिवारबाट टाढा भएर विद्यार्थीले पढ्नुपर्ने अवस्था छैन ।’ उनले भने ।
अध्यक्ष सिलवालले मुलुकको शैक्षिक अवस्थालाई उकास्न निजी क्षेत्रले ठूलो योगदान दिएको स्मरण गराउँदै सरकारले निजी क्षेत्रको योगदानलाई भने विर्सिएको औल्याए । सरकारले शिक्षा नियमावली, ऐन नियम बनाउने सन्दर्भमा निजी क्षेत्रलाई सदैव पाखा लगाउने गरेको सिलवालको धारणा थियो ।
एसईई, कक्षा ११ र १२ को परीक्षा दिएर बसेका तथा विश्वविद्यालय पढ्ने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला आयोजना गरिएको हो । एसईई परीक्षाको नतिजा पर्खाइमा रहेका देखि उच्च शिक्षा कहाँ, कुन र कस्तो विषय पढ्ने भन्नेबारे सम्पूर्ण जानकारी दिने शैक्षिक मेलाको मुख्य उद्देश्य रहेको छ । ४ दिनसम्म चल्ने शैक्षिक मेलामा राजधानीका उत्कृष्ठ कलेज, विद्यालयहरुको सहभागिता रहेको छ । शैक्षिक मेलामा विद्यार्थीले देशका उत्कृष्ठ विद्यालय, कलेजका पाठ्यक्रम, कलेजको भौतिक, शैक्षिक, आर्थिक अवस्था आफुले पढ्न चाहेका विषयका बारेमा विज्ञहरुबाट परामर्श लिन सक्नेछन् ।