पर्वतका सन्दीपले पाए उपहारमा १८ लाखको कार !

“
पोखरा, माघ १४ । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ का विजेतालाई कार हस्तान्तरण गरेको छ । पर्वतको कुस्मा नगरपालिकाका सन्दीप पौडेललाई पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसी, पोखरा उद्योग वाण्ज्यि संघका अध्यक्ष विश्वशंकर पालिखे लगायतले कारको चाँबी हस्तान्तरण गरेका हुन्।
पर्वतको कुस्मा नगरपालिका घर भएका सन्दीप पौडेल उपचार गराउन गत माघ ४ गते पोखरा आएका थिए। त्यहि बेला पोखराको प्रदर्शनी केन्द्र नयाँ बजारमा ब्यपारमेला चलिरहेको थियो। उनले मेला हेर्न जानको लागि वडा प्रहरी कार्यालय बैदाममा सई पदमा कार्यरत बाबु नारायणप्रसाद पौडेलसंग आग्रह गरे।
बाबु नारायणले छोराको आग्रह अनुसारलाई साढुभाई पोषण अधिकारीको साथ व्यापार मेलामा पठाएका थिए। पोषणले माघ ४ गते टिकट काटेर सन्दीपलाई सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला हेराएका थिए।
दोस्रो दिन पुनः सन्दीपलाई पिता नारायणप्रसाद पौडेलले मेला हेर्न लगे । सन्दीपले विद्यार्थी सहुलियत ४० रुपैयाँको टिकट काटेका थिए भने आफूले ६० रुपैयाँ पर्ने टिकट काटेर मेला हेरेका थिए । मेलामा पोखरा उद्योग वाणिज्य संघले प्रवेश टिकटमा हुण्डाइ कम्पनीको करिब १८ लाख मूल्य पर्ने इवनो कार उपहार राखेको जानकारी पाएका बावु छोराले दुवै दिनको टिकट सुरक्षित राखेका थिए।
मेलाको अन्तिम दिन पत्रकार नागरिक समाजका प्रतिनिधि,उच्च अदालत पोखराका बार एसोसियसनका अध्यक्ष र पोखरा महानगरपालिकाका प्रमुख लगायतको रोहवरमा खोलिएको चिठ्ठामा भाग्यशाली टिकट नम्बर ०५४८९२ का सन्दीपलाई कार परेको थियो।
उपचार पछि पर्वत फर्कीएका सन्दीपले मेलाको अन्तिम दिन खोलीएको चिठ्ठाको वारेमा चासो राख्दै विभिन्न संचारमाध्यहरुमा हेरेपछि आफुलाई चिठ्ठा परेका जानकारी बाबुलाई फोन मार्फत गराएका थिए।
कुष्माको नमुना आवासीय मावि कक्षा ९ मा पढ्दै गरेका १५ वर्षीय सन्दीपका पिता नारायण प्रसाद पौडेल गत बुधबार टिकटसहित पोखरा उद्योग वाणिज्य संघ पुगेपछि संघका पदाधिकारीहरुले उनले लिएको टिकट र अर्धकट्टी भिडाएका थिए।
संघका अध्यक्ष विश्वशंकर पालिखे, कोषाध्यक्ष पवनकुमार प्रजापति, टिकट व्यवस्थापन उपसमितिका संयोजक प्रेमबहादुर भुजेल, संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको उपस्थितिमा संघमा सुरक्षित अर्धकट्टी र टिकटलाई भिडाएर प्रमाणित गरेपछि सन्दीप नै विजेता भएको घोषणा गरिएको थियो । संघले आइतबार परिवार सहित आएका सन्दीपलाई कार हस्तान्तरण गरेको छ।
“








