एलेन कलेज ठगी प्रकरणः मण्डल धरौटीमा छुटे, मेहता र शर्मा भने कारागारमा

इनरुवा २२ फागुन । ठगीको आरोपमा पक्राउ परेका तीनजना मध्ये धरौटी बुझाएर इनरुवाका बिनोद भनिने बिन्देश्वर मण्डल छुटेका छन् ।मण्डल जिल्ला अदालत सुनसरीले माग गरेको ८ लाख ७५ हजार धरौटी बुझाएर तारिखमा छुटेका हुन् । 

प्रतिवादी मध्येका एलेन कलेजका संचालक बिनोद शर्मा र अध्यक्ष मनोज मेहता भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।सुनसरी जिल्ला अदालतले फागुन २१ गते प्रतिवादीहरुका नाममा थुनचेक बहसमा आदेश दिंदै धरौटी माग गरेको थियो । 

अदालतले शर्मा र मेहताका नाममा जनही १३ लाख ३८ हजार १ सय २५ रुपैंयाका दरले धरौटी माग गरेकोमा तिर्न नसकेपछि थुनाका लागि झुम्का कारागार पठाएको छ ।प्रहरीले प्रतिवादी तीनै जना उपर मुलुकी ऐन ठगीको महलको दफा १ बिरुद्धको कसुरमा ऐ.ऐनको ऐ.महलको दफा ४ बमोजिम सजाय हुन साथै मुलुकी अपराध(संहिता) ऐन २०७४को परिच्छेद २१ को दफा २४९ को उपदफा १ बमोजिम कसुर अपराध गरेको र कसुरको गम्भिरता बढाउने अवस्थाहरु ऐ.ऐनको परिच्छेद ४ को दफा ३८ को ९ग ,९ ट ,९ण समेत गरी ऐ ऐनको ऐ परिच्छेदको दफा २४९ को उपदफा ३ ९ग बमोजिमको सजायको माग दाबी गरेको थियो । 

null

 

अदालतले माग गरेको धरौटी बुझाउन नसकेपछि थुनामा राख्न दिइएको आदेश बमोजिम कारागार चलान भएका शर्मा र मेहताले तोकिएको धरौटी रकम बुझाएको खण्डमा भने तारिखमा छुट्ने छन् । मेहता र शर्मा निकट स्रोतका अनुसार धरौटीमा छुटाउन रकमको जोहो गर्ने काम भैरहेको छ ।  

सीटीईभीटीबाट इजाजत बेगर सञ्चालन गरिएको १३ सय २० घण्टाको कम्प्युटर कोर्सका नाममा झुटो प्रचारवाजी गरिएको र विद्यार्थीबाट चर्को शुल्क समेत असुलेको भन्ने उजुरीका आधारमा प्रहरी अनुसन्धानको क्रमसँगै सञ्चालक बिनोद शर्मा, अध्यक्ष मनोज मेहता र भागिदार भनिएका मण्डल क्रमशः एकपछि अर्को गर्दै पक्राउ परेका थिए । 

पक्राउ पर्नु पूर्वदेखि नै शर्मा र मेहताले आफुहरुलाई बदनाम गर्न खोजिएको भन्दै सञ्चालनमा रहेको कलेज वैधानिक रहेको दावी गर्दै आएका थिए । यद्यपी उनिहरुको दाबी प्रहरी अनुसन्धानको क्रममै झुटो सावित हुन पुगेको थियो । 

एलेन प्रकरणको मूख्य योजनाकारको आरोप लगाइएका मण्डल कलेज स्थापना ताका विद्यार्थी भर्नामा सहयोगीको भूमिका निर्वाह गर्ने र तत्कालिन समयमा कलेजको सम्वन्धित व्यक्ति रहेर कार्य गरेको प्रमाणका आधारमा पक्राउ परेका थिए । कलेजको प्रसंग बाहिरिए सँगै मण्डलले सञ्चालक र व्यवस्थापनको मनोमानीका कारण पछि हटेर विद्यार्थीको हकहीतको पक्षमा आवाज उठाएको जिकिर गर्दै आएका थिए । 

इनरुवामा सञ्चालन गरिएको एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि.विरुद्ध परेको उजुरी उपर छानविनको क्रममा प्राविधिक शिक्षाका नाममा सञ्चालित कोर्स गैर कानुनी ठहरिएको थियो । 

सीटीईभीटी क्षेत्रीय कार्यालय इटहरीले सुनसरी जिल्ला प्रशासनमा माघ ८ गते सम्बन्धन नलिई कम्प्युटर सिस्टम एडमिनिष्ट्रेटर एण्ड डेभलोपर १३२० घण्टे कार्यक्रम सञ्चालन गरेको भन्दै एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. उपर कानुनी कार्वाहीको माग सहित पत्र लेखेको थियो । प्रशासनले सोही पत्रका आधारमा आवश्यक कार्वाहीकालागि सुनसरी प्रहरीलाई आदेश दिएको थियो । 

मनोजकुमार मेहता र बिनोद शर्मा बिरुद्ध ठगी मुद्दा शिर्षकमा आदित्य कर्ण सहित १७ जनाले सुनसरी प्रहरीमा माघ २० गते जाहेरी दिएका थिए ।प्रहरीले ठगीमा संलग्नताको आधारमा संचालक शर्मालाई माघ २१ गते पक्राउ गरी अनुसन्धानकालागि म्याद थप गर्दै नियन्त्रणमा राखेको थियो । लामो समय उपचारका क्रममा अस्पताल भर्ना भएका मनोज मेहतालाई भने प्रहरीले फागुन ९ गते पक्राउ गरेको थियो । 

फागुन १२ गतेको मेहताको प्रमाणित बयानका क्रममा उक्त बारदात घटनामा बिन्देश्वर मण्डल (बिनोद)को समेत संलग्नता खुलेपछि प्रहरीले फागुन १३ गते मण्डललाई पक्राउ गरेको थियो । प्रहरीले नियन्त्रणमा रहेका तीनै जनालाई फागुन १४ गते सुनसरी जिल्ला अदालत समक्ष ठगी मुद्दामा सजायको माग दावी सहित पेश गरेको थियो । फागुन २१ गते सुनसरी जिल्ला अदालत सुनसरीले ठगी मुद्दाका तीनैजना उपर जनही रुपमा धरौटी माग गरेको थियो । 

एलेन कलेजको अनुसन्धान सूक्ष्म रुपमा अघि बढाएर निष्कर्षमा पुगेको बताउने सुनसरी प्रहरीले उजुरी परेका अन्य ठगी सम्वन्धी मुद्दाको समेत गहन अध्ययन र अनुसन्धान जारी राखेको बताएको छ । ठगी लगायत अन्य कुनैपनि प्रकृतिका घटना वा अपराधजन्य गतिविधी भए बेलैमा जानकारी गराउन समेत सुनसरी प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *