विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

“
काठमाडौं, माघ ५ । विदेश पठाइदिन्छु भन्दै विभिन्न ब्यक्तिहरुबाट झण्डै तीन करोड रुपैया लिएर ठगी गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भइ हाल ललितपुरको तिखेदेवलमा बस्दै आएका ३९ वर्षीय पारस लोहोनी छन् ।
पीडितहरुको उजुरीका आधारमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको सोह्रखुट्टेबाट उनलाई पक्राउ गरेको हो ।
लोहनीले अमेरिका, जापान, जर्मन, पोर्चुगल लगायत विभिन्न देशमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेका थिए । प्रहरीका अनुसार उनले प्रतिव्यक्ति ७ लाख रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म लिएर २ करोड ७५ लाख रुपैयाँ ठगी गरेको खुलेको छ । पीडितहरुसँग पैसा लिएपछि लोहोनी सम्पर्कबिहीन हुने गरेका थिए ।
उनीबिरुद्ध वैदेशिक रोजगारी विभाग, बुद्धनगरमा समेत वैदेशिक रोजगारी ठगी सम्बन्धि मुद्दा अनुसन्धानको क्रममा रहेको बताइएको छ ।
“








