छोराछोरीलाई सिक्रिले बाँधेर घरभित्रै बन्धक बनाउने बाउआमा पक्राउ

काठमाडौं, माघ ३ । आफ्ना १३ जना छोराछोरीलाई घरमा कैद गरेर राखेकोमा ४९ वर्षीया आमा लुइस टर्पिन र ५७ वर्षीय बाबु डेभिड टर्पिन पक्राउ परेका छन् । क्यालिफोर्नियाको अत्यन्तै भयानक अवस्थामा राखिएका १३ जना बालबालिकाको पुलिसले उद्धार गरेको बीबीसीले बताएको छ । १३ जना मध्येकी एक १७ वर्षीया युवतीले आफ्ना आमाबुवाको कैदबाट फुत्किएर मोबाइलमार्फत पुलिसलाई खबर गरेपछि यो कुरा बाहिर आएको हो ।

पुलिसहरु उक्त घरमा पुग्दा बालबालिकालाई खाटमा फलामको सिक्रिले बाँधेर दर्दनाक अवस्थामा राखिएको बताइएको छ । उनीहरुलाई कैद गरि राखिएको कोठा एकदमै दुर्गन्धित भएको र सबै बालबालिका कुपोषित फेला परेपछि बालहिंसाको आरोपमा बाबुआमा दुवै पक्राउ परेका हुन् । यो खबर सार्वजनिक भएसँगै १३ मध्ये सातजना १८–२९ वर्षका वयस्क युवकयुवती भएको थाहा भएपछि यस खबरले सबैलाई झनै आश्चर्यमा पारेको हो ।

पीडितहरु २ वर्षदेखि २९ वर्षसम्मको रहेको बताइएको छ । तिनीहरु सबै फोहोर, दुर्गन्धित, कुपोषित जस्तो देखिएको र सबैजना धेरै दिनदेखि भोकै रहेको पाइएको थियो ।

कैदबाट फुत्किएर बाहिर निस्कन सफल भएकी १७ वर्षीया युवतीलाई भने पुलिसले सोधपुछ गर्दा उनको व्यवहार १० वर्षको बच्चा जस्तो रहेकाले तिनीहरु मानसिक रुपमा समेत हिंसाको शिकार भएको हुन सक्ने अनुमान गरिएको छ । यसपछि उद्धार गरिएका सबैलाई अहिले उमेरअनुसार भिन्दाभिन्दै अस्पतालमा उपचारका लागि लगिएको समाचारमा जनाइएको छ ।

पुलिसले त्यस घरका वरिपरि बस्ने छिमेकीहरुसँग यसबारे छानबिन गर्दा उनीहरुले सो घर सधैँ सुनसान रहने र कुनैपनि बालबालिकाहरु बाहिर निस्किएको नदेखिने र उनीहरुका बाबुआमा समेत कसैसँग सम्पर्क नराख्ने गरेको बताएका हुन् । अचानक उनीहरुको अपराध पुलिससामु आएपछि चकित भएका दुवैले यसको कारण अहिलेसम्म नखुलाएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =