धनगढीमा उपचाररत कोरोना संक्रमितको रिपोर्ट पुनः पोजेटिभ

चैत्र २९, धनगढी। धनगढीस्थित कोरोना विशेष सेती प्रादेशिक अस्पतालमा उपचाररत तीन जनाको रिपोर्ट पुनः पोजेटिभ आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवकको तेस्रो रिपोर्ट र अन्य दुई जनाको दोस्रो रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।
३४ वर्षीय युवकको रिपोर्ट नेगेटिभ आए अस्पतालले उनलाई आज डिस्चार्ज गर्ने तयारी गरेको थियो। तर, तेस्रो रिपोर्ट पनि पोजेटिभ नै आएपछि उनको अस्पताल बसाई थप लम्बिइएको छ। दुबईबाट आएका उनी चैत ११ गते अस्पतालको सम्पर्कमा आएका थिए।
कोरोना संक्रमित युवककै भाउजूको पनि उपचार भइरहेको छ। उनकी ३४ वर्षीया भाउजू र कञ्चनपुरका ४१ वर्षीय पुरुषको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको अस्पतालका प्रवक्ता जगदीश जोशीले जानकारी दिए। कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवकको रिपोर्ट भने आउन बाँकी छ। डा. जोशीका अनुसार अस्पतालमा कोरोना संक्रमित चार जना र अन्य तीन जना शंकास्पद बिरामीको उपचार भइरहेको छ।











