टी–२० श्रृङ्खलामा घरेलु टोली श्रीलंकालाई हराउँदै न्यूजिल्याण्ड विजयी

भदौ १८, काठमाडौँ । टी–२० श्रृङ्खला अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा श्रीलंकालाई हराउँदै न्यूजिल्याण्ड विजयी भएको छ । घरेलु टिमलाई चार विकेटले हराउँदै पाहुना टिम न्यूजिल्याण्ड विजयी भएको हो ।
यसअघि पहिलो खेलमा पनि न्यूजिल्याण्ड पाँच विकेटले विजयी भएको थियो । श्रीलंकाको पेल्लेकेले रंगाशालामा भएको खेलमा न्यूजिल्याण्डलाई घरेलु टिमले दिएको १६२ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाउँदै न्युजिल्याण्डले पूरा गरेको थियो ।
खेलमा न्यूजिल्याण्डको इनिङमा कोलिन डी ग्राण्डहोम र टम ब्रुसले उत्कृष्ट प्रदर्शन गरेका थिए । पाँचौं विकेटका लागि ग्राण्डहोम र ब्रुसले १०९ रनको उत्कृष्ट साझेदारी गर्दै जितको आधार खडा गरे । ब्यक्तिगततर्फ ग्राण्डहोमले ५९ रन बनाए भने ब्रुसले ५३ रन जोड्न सफल भएका थिए ।
null
बलिङतर्फ अकिला धनञ्जयाले तीन विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा नौ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।
श्रीलंकाका लागि निरोसन डिकवेल्लाले ३९ रन बनाए भने अभिष्का फर्नाण्डोले ३७ रन बनाए । यस्तै कुशल मेन्डिसले २६ तथा सेहान जयसुरियाले २० रन बनाए । बलिङतर्फ न्यूजिल्याण्डका सेठ रान्सले तीन विकेट लिए भने टिम साउथी र स्कट कुग्गेलिनले दुई दुुई विकेट लिए ।








