गाँजाका फाइदा अनेकः सांसद भन्छन्– ‘नेपाली किसान मालामाल हुन्छन् !’

फागुन २१, काठमाडौं । गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्न दुई दिन अघि (फागुन १९) नेकपा सांसद शेरबहादुर तामाङ्गले प्रतिनिधि सभाको विधेयक शाखामा निजी (गैरसरकारी) विधेयक दर्ता गराए ।   

गाँजामा औषधीय गुण रहेको भन्दै यसको खेतीलाई व्यावसायिक बनाउनु पर्ने माग राखी उनले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गराएका हुन् । प्रतिनिधिसभामा मात्र होइन, वाग्मती प्रदेशमा पनि मंगलबार गाँजा विधेयक दर्ता भयो । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सांसद केशव स्थापितले गैरसरकारी विधेयकको रूपमा दर्ता गराएका हुन् । 

त्यस्तै नेकपाकै अर्का सांसद विरोध खतिवडाले गएको माघमा उत्पादन, बिक्री तथा वितरण प्रतिबन्ध लगाउने कानुन हटाउन जरुरी सार्वजनिक महत्व प्रस्ताव संसदमा दर्ता गराएका थिए । उनको प्रस्तावलाई नेकपाकै ४६ जना सांसदहरुले समर्थन गरेका थिए ।   

प्रस्तावको समर्थन पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती, पूर्व गृहमन्त्री जनार्दन शर्मा, जयपुरी घर्ती, नवराज सिलवाल, धर्मशिला चापागाईं, झपट रावल, गणेश ठगुन्ना, नारदमुनि रानालगायतले गरेका थिए । उद्योगी, व्यवसायी, बुद्धिजीवीदेखि कलाकारहरुले समेत गाँजा खेतीमाथिको प्रतिबन्ध फुकाउनुपर्ने धारणा राख्दै आएका छन् ।   

गाँजा औषधि हो, खेतीबाट किसान मालामालः सांसद विरोध खतिवडा 

सांसद खतिवडा भन्छन्– ‘विश्व स्वास्थ्य संगठनले गाँजालाई औषधिको रुपमा व्याख्या गरिसकेको छ । विश्वका ठुलाठुला, सम्पन्न देशहरुले गाँजालाई आम्दानीको स्रोत बनाइसके । हामीले पनि अब यसलाई आम्दानीको स्रोत बनाउनु पर्छ । गाँजामाथिको प्रतिबन्ध फुकाउनु पर्छ ।’ 

गाँजामा लगानी गर्न ऋण तथा धेरै लगानी नपर्ने र नेपालमा स्वतः प्राकृतिक रुपमै पनि गाँजा उत्पादन हुने भएका कारण किसानलाई फाइदा पुग्ने उनको भनाइ छ ।   

‘गाँजा खेतीका लागि ऋण लिनु पर्दैन, धेरै लगानी गर्नुपर्दैन । किसानको हात–हातमा पैसा पुग्छ । किसानहरुले धेरै पैसा कमाउन सक्छन् । गरिबी घट्छ’, उनले मकालु खबरसँग भने ।   

‘विदेशमा १० वर्षमा कमाएको पैसा नेपालमा एकै वर्षमा !’ 

सांसद खतिवडाले गाँजाको सम्भावनाबारे पनि प्रष्ट पारे । प्रतिबन्ध खुला गरी वैधानिकता दिएमा  सरकारको नियमन, निगरानीमा, तोकेको क्षेत्रमा गाँजा खेती गरेर यसलाई औषधीजन्य प्रयोगका लागि मल्टीनेशन कम्पनीहरुमा बिक्री गर्ने, अथवा नेपालमा नै मल्टीनेश्नल कम्पनी खोलेर औषधी उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिने उनले बताए ।   

‘नेपाली किसानहरु जति नै गरिब भनेपनि हिमाल, पहाड, तराई जहाँसुकै भएपनि उनीहरुको ५ देखि १०÷१५ रोपनीसम्म जग्गा हुन्छ पाखा पखेरामा’, सांसद खतिवडाले भने, ‘त्यहाँ गाँजा खेती गर्ने हो भने वैदेशिक रोजगारमा गएर १० वर्षमा कमाएको पैसाभन्दा बढी एकै वर्षमा नेपालमै आम्दानी हुन्छ ।’ 

यसले स्वदेशमै रोजगारीको सिर्जना हुने र नेपालमै खेती किसानी बढ्ने उनको भनाइ छ । यसले नेपाल र नेपालीलाई थप आत्मनिर्भर हुन मद्दत गर्ने उनले बताए ।   

गाँजा खेती खुला गरे नेपालको बजेट ६० खर्बः सांसद शेरबहादुर तामाङ्ग 

गएको सोमबार विधेयक दर्ता गराउँदै सांसद शेरबहादुर तामाङ्गले विश्व स्वास्थ्य संगठनले पनि खुला गर्न लागेको र नेपालको गाँजाको गुणस्तर अन्य मुलुकको भन्दा उच्च स्तरको रहेकाले यसलाई व्यावसायिक मान्यता दिनुपर्ने बताएका थिए ।   

‘विधेयक पास भएर गाँजा खेती सुरु भए नेपालले आर्थिक उन्नति गर्छ । नेपाली किसान धनी बनाउन यो विधेयक ल्याएका हौँ । यसले नेपालको बजेट ६० खर्बसम्म हुने आँकलन गरेका छौँ । यो नेपालको महत्वपूर्ण राष्ट्रिय उत्पादन भएकाले यसको खेती खुला गर्नुपर्ने हाम्रो तर्क हो’, सांसद तामाङ्गको भनाइ थियो । गाँजा खेती सुरु गरे विदेश गएका ८० प्रतिशत नेपाली स्वदेश फर्केर यसको खेतीमा लाग्ने उनको दाबी थियो ।   

गाँजालाई लागुऔषधको रुपमा लिन नहुने उनको तर्क छ । पूर्वकानूनमन्त्री समेत रहेका तामाङ्गका अनुसार ‘यसलाई ड्रगको रूपमा लिन सकिन्न । त्यसो त चिनी, चुरोट, रक्सी खाएर पनि मान्छेको मृत्यु भएको हुन्छ त्यसलाई रोक लगाइएको छैन ।’ 

गाँजाका फाइदा अनेक   

सांसद शेरबहादुर तामाङ्गले तयार पारेको विधेयकमा गाँजाको उपयोग औषधि निर्माण तथा यसको बोक्राको रेसाबाट कपडालगायतका सामग्रीको उत्पादनमा गर्न सकिने उल्लेख गरिएको छ । त्यस्तै गाँजाको डाँठ फर्निचर बोर्ड तथा इँटासमेतका लागि उपयोगी हुन सक्ने गुण यसमा रहेको छ ।   

‘गाँजा वा भाङको दाना अचार खानको लागि वा तेल निकाली प्रयोग गर्ने गरी खाद्य पदार्थको रुपमा उपयोग गरिनुका साथै औषधिय गुणयुक्त मह उत्पादन समेत हुन्छ । गाँजा खेतीबाट हरियाली वातावरण संरक्षण हुन गई जलवायु परिवर्तनलाई न्यून गर्न समेत सहयोग पुग्ने मानिने भएकोले यसको आर्थिक, सामाजिक तथा औद्योगिक महत्व रहेको छ’, विधेयकमा उल्लेख छ ।   

सांसद खतिवडाको पनि यसमा एकमत छ । गाँजाबाट देशलाई विदेशी मुद्रा समेत आर्जन हुने उनको भनाइ छ ।   

‘विदेशी किसान गाँजाबाट मालामाल, नेपाली किसान जेल’ 

सांसद विरोध खतिवडाका अनुसार विश्वका ६५ भन्दा बढी देशले गाँजामाथि लगाएको प्रतिबन्ध हटाइ सकेका छन् । गाँजाबाट औषध उत्पादन र औषधि निर्माणमा प्रयोग हुन्छ । 

 उनी भन्छन्– ‘ठुलाठुला विकसित देशहरुले गाँजालाई व्यवसायिक बनाइसके । अरु देशमा किसान गाँजाबाट पैसा कमाउँछन् । हाम्रो किसानहरु चाहीँ जेल जानुपर्ने । त्यस्तो नाजायज सामाजिक विभेद हुनुहुँदैन । विश्व सानो भइसक्यो अहिले । त्यसैले हामी पनि विश्वकै स्पीडमा हिँड्नुपर्छ ।’ 

प्रहरीले चालु आवमा मकवानपुरका विभिन्न स्थानमा ६ सय ३० बिघा जमिनमा लगाएको गाँजा खेती र ७० बिघा जमिनमा लगाएको अफिम नष्ट गरेको प्रहरीले जनाएको छ । यो चालु आवको ८ महिनामा मात्र प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा २ सय ९० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश गाँजा ओसारपसारमा संलग्न रहेकाहरू छन् ।   

प्रतिबन्ध फुकुवापछिको चुनौती… 

गाँजा खेतीमाथिको प्रतिबन्ध हटाएपछि विभिन्न चुनौतिहरु पनि देखा पर्न सक्छ । दुरुपयोग पनि बढ्न सक्छ । ‘जे चीज पनि धेरै खाँदा तीतो हुन्छ । हरेकको फाइदा–बेफाइदा हुन्छ । त्यसमाथि हामीले खाने प्रयोजनका लागि भन्दा पनि औषधिका लागि प्रतिबन्ध फुकाउन मुख्य जोड गरेका हौँ’, सांसद खतिवडा भन्छन्– ‘यो खुला गर्ने भनेर नाङ्गलोमा, पसलमा, दोकानमा राखेर आलु तरकारी बेचेजस्तो गरी बेच्ने भनेको होइन । सरकारको नियमन, निगरानी र कानून बमोजिम तोकिएका क्षेत्रमा उत्पादन गर्ने, बिक्री गर्ने प्रक्रिया मिलाउनुपर्छ ।’ 

चुनौति भनेको हुन्छन् नै । अहिले पनि कयौँ कानूनहरु बनेको छ, कानून उल्लंघन भएको छैन र ? नदिजन्य पदार्थ उत्खनन् गर्न हुँदैन भनिएको छ, काठ चोर्न पाइँदैन भनिएको छ, भ्रष्टाचार गर्न पाइँदैन भनिएको छ, तर रोकिएको छ त ? उनी प्रश्न गर्छन् ।   

उनले भने, ‘हो, कानून उल्लंघन गर्ने समाजमा जहाँ पनि हुन्छन् । त्यसैले पहिले नै कल्पना गरेर कानून उल्लंघन भएमा यसो गर्ने भन्ने द्दण्डको व्यवस्था पनि हुनुपर्छ, हुन्छ नै । नियम कानून उल्लंघन गर्नेलाई द्दण्ड दिनुपर्छ ।’ 

गाँजा खेतीका लागि जिल्ला, क्षेत्र, गाउँ अथावा व्यक्तिगत रुपबाट गर्न दिने हो भने कति विघामा गर्न दिने, त्यो गाँजा कहाँ बिक्री गर्ने यी सबै सरकार तथा औद्योगिक सरोकार राख्ने मान्छेहरुसँग छलफल गरी तय गर्नुपर्ने उनले बताए ।   

यदि सरकार उक्त विधेयकमा जानको लागि तयार भएमा त्यसपछि बल्ल त्यसका राम्रा–नराम्रा पक्ष, नियन्त्रण, नियमनका विषयहरुमा छलफल हुने उनको भनाइ छ ।   

फुक्ला त ४ दशकदेखिको प्रतिबन्ध ? 

नेपालमा लागू औषध नियन्त्रण ऐन २०३३ ले गाँजा, भाङ जस्ता पदार्थको उत्पादन बिक्री वितरण गर्न रोक लगाइएको छ । उक्त ऐनले गाँजाको बिक्री वितरणलाई गम्भीर अपराधको रुपमा व्याख्या गर्दै कडा सजायको व्यवस्था समेत गरेको छ ।   

१९७० को दशकमा अमेरिका तथा युरोपेली देशसँगै नेपालले पनि गाँजामा प्रतिबन्ध लगाएको थियो । अहिले अमेरिका र युरोपेली देशले गाँजा खुला गरेकाले नेपालले पनि प्रतिबन्ध लगाउने कानून खुला गरेर किसानहरुलाई आर्थिक उपार्जन गर्ने अवसर दिनुपर्ने सांसदहरुले आवाज उठाउँदै आएका छन् । 

यस्ताे छ संसदमा दर्ता भएकाे गाँजा विधेयकः 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =