प्रचण्डले दुवईमा पैसा लूकाएको प्रकाण्डको दावि, विप्लव भन्छन्,‘संसदीय ब्यवस्थाबाट भलो हुँदैन’

मंसिर ८, काठमाडौं । नेकपाका प्रवक्ता प्रकाण्डले पुर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड विदेशमा राखेको धन नेपाल कसरी ल्याउने ? भन्ने विषयले तनावमा रहेको दावी गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा पाँचौं वर्ष गाँठको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले नेकपाका अध्यक्ष प्रचण्डले नेपाली जनताको सम्पत्ति लुटेर दुवईमा लगेर लुकाएर राखेको भन्दै त्यो पैसा नेपाल ल्याउनेबारे योजना बनाइराखेको ठोकूवा गरे ।
उनले जनसभामा बोल्दै प्रचण्ड प्रति इङिगीत गर्दै जनयुद्धको उद्देश्यबाट विचलित भई, जनतालाई धोका दिएर थुपारिएको धन अब नेपाली जनताले नछाड्ने चेतावनी दिए ।
null
प्रकाण्डले नेपाली जनयुद्ध र जनआन्दोलनमा नेपाली छोराछोरीले बगाएको रगत खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्दै भने–‘नेपाली जनताको मुक्तिको लागि लडिरहेको महासचिव विप्लवले नेतृत्व गरिरहेका नेकपा तपाईका छोराछोरीले नेपाली क्रान्तिमा बगाएका रगत र पसिना कुनैपनि कोणमा खेर जान दिँदैनौं । यो सिंगो पार्टीको तर्फबाट प्रतिवद्धता हो’
उनले देशमा गणतन्त्र आएपनि जनताको हातमा सत्ता नपुगेको बताए । ‘सत्तामा दलाल पूँजीपति वर्ग छ । सत्ता जनताको हातमा आएको छैन । देश विकासको मुख्य बाधक दलाल पूँजीपति वर्ग हो ।’ विश्वकर्माले भने ।उनले सत्तासिन दल नेकपाले सहिद परिवार, किसान र मजदूर भुलेको आरोप पनि लगाउँदै भने–‘सत्तासिनलाई सहिद परिवारको चिन्ता छैन । कसरी कुर्सीमा जाने र राज्यको ढुकुटीलाई कसरी निजी बनाउने भन्नेभन्दा अरु केही छैन ।’
कार्यक्रममा बोल्दै नेकपा (माओवादी)का संयोजक गोपाल किराँतीले प्रचण्डलाई सत्तामा गएपछि डाँकामा परिणत भएको आरोप लगाएका छन् । ‘जनयुद्धका बेला आफुहरुले नेता मानेका हौं । त्योबेला उनले सर्वहारा वर्ग र उत्पीडित समूदायका लागि राम्रो गरेका पनि हुन्, तर अहिले सत्तामा पुगेपछि डाँकामा परिणत भएका छन् ।’
उनले भने–‘डाँकाको उद्देश्य व्यक्तिगत स्वार्थ पूरा गर्ने र त्यसकानिम्ति लुट मच्चाउने र सर्वहारा वर्गको सम्पूर्ण सम्पत्ति नीजि बनाएर कुम्ल्याउने कुकर्म गरेका छन् । त्यसकारण उनी जनताको अधिकार र सम्पत्ति लुट्ने डाँकाबाहेक केही होइनन् ।’उनले एमाले नेपालका भएको हरेक आन्दोलनको पुच्छर मात्र भएको जिकिर गरे ।
‘नाम नेकपा राखेपनि ऊ एमाले नै हो । एमालेले देशको परिवर्तनका हरेक आन्दोलनमा पुच्छरबाहेक केही भूमिका निभाएन । बरु कांग्रेसले १०४ वर्षे निरंकुश राणा शासन फाल्यो । माओवादीले २ सय ५० वर्ष लामो सामन्ती राजतन्त्र ढाल्यो’ उनले भने ।
जनसभालाई संवोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालमा नयाँ संघर्षको शुरुवात गर्न ढिलाई गर्न नहुने बताए । कट्टेलले विप्लव नेतृत्वको नेकपाले शुरु गरेको संघर्षको समर्थन गर्दै अब संयुक्त रुपमा मोर्चाबन्दी संघर्ष गर्न पनि जरुरी भएको बताए । उनले अरुण तेस्रो जलविद्युत आयोजना सम्झौतामा सरकारले राष्ट्रघात गरेको भन्दै खारेज गर्नुको विकल्प नभएको विचार राखे ।
जनसभामा बोल्दै नेकपाका पोलिटब्यूरो सदस्य (पीबीएम) पदम राई ‘विकास’ले वर्तमान सत्ताको ठाउँमा दलाल संसदीय व्यवस्थाअन्तर्गत गठित सामाजिक फासीवादी सरकार गठन भएको बताए । उनले अब जनताको साथ लिई नेकपाले अर्कै सत्ता ल्याउन एकीकृत जनक्रान्ति संचालन गरिरहेको जिकिर गरे ।
यता नेकपाका सल्लाहकार समितिका सचिव चित्रबहादुर आले ‘पवन’ले भ्रष्टाचारमा चुर्लुम्म डुबेको केपी–प्रचण्ड सरकारले नेपाली जनताको क्रान्तिकारी पार्टी नेकपाको शक्ति र परिवर्तनको एजेण्डा देखेर जनतासँग तर्सेर जनसभाको लागि ठाउँ नदिएको भन्दै भत्सर्ना गरे ।‘जनतालाई सभा गर्ने ठाउँसमेत नदिई यो सरकार फासीवादी भएको पुष्टि भएको छ’ उनले भने ।
सभालाई संवोधन गर्न महासचिव विप्लव आउने तयारी गरिएपनि सुरक्षा खतराका कारण उनी उपस्थित भएनन् । नेपाल कम्युनिस्ट पार्टी आजवाट पाँचौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा महासचिव विप्लवले पार्टी पुनर्गठन दिवसको अवसरमा सन्देश पठाएका थिए ।
विप्लवले दलाल संसदीय व्यवस्थाबाट जनता र राष्ट्रको कुनै भलो नहुने बताएका छन् । बरु संसदीय ब्यवस्थाबाट राष्ट्रियता, जनतन्त्र र जनजीविका दिनप्रतिदिन कमजोर र कष्टकर बन्दै गइरहेको विप्तवको ठहर थियो ।
चुनावपछि सरकार बनेको १० महिनासम्म पुग्दा आफुहरुले गरेको तथ्यपरक निष्कर्षहरू हुबहु सिद्ध भएको विप्लवको भनाई छ । ‘वाम’ भनेर जनतामा भ्रम छरिराखेको यो सरकार सामाजिक फासिवादी बन्न पुगेको छ । जनता यो सत्ता र सरकारबाट आजित र हैरान हुन पुगिराखेका छन् ।’ उनले पठाएको सन्देशमा भनिएको छ ।
‘भनिराख्नु पर्दैन, राष्ट्रियता, जनतन्त्र र जनजीविका त इतिहासकै गम्भीर घुम्तीमा पुगेका छन् । साथै महिला हिंसा, हत्या र बलात्कार चरम छन् । महँगी, भ्रष्टाचार, कालोबजारीले नयाँ इतिहास बनाएको छ । कहाँसम्म भने हाम्रो देशका नदी एउटा देशले अर्कैलाई बेचिदिन्छ । हत्या, हिंसा, लुटका कारण देश र जनता असुरक्षित छन् ।’
विप्लवले अहिले जनता र राष्ट्रले वैकल्पिक राज्य प्रणालीको माग गरिराखेको भन्दै त्यो वैकल्पिक राज्यप्रणाली वैज्ञानिक समाजवादी व्यवस्था भएको जिकिर गरेका छन् । र, वैज्ञानिक समाजवादको स्थापनाका लागि पार्टी अहोरात्र खटिराखेको र जनतासँग एकाकार भएर अभियानमा लागेको उनको दावि छ । नेकपाले प्रत्येक वर्ष मङ्सिर ८ गते नियमित कार्यक्रम गर्दै आएको छ ।
२०७१ साल मङ्सिर ८ गते मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी—माओवादीलाई ३ बुँदे लिखित असहमतिपत्र बुझाएर विप्लव, प्रकाण्ड र कन्चनले नेपाल कम्युनिस्ट पार्टी माओवादी पुनर्गठन गरेका थिए ।








