बालबालिकामाथिको गुनासो बेवास्ता गर्नु भनेको उनीहरुको भविष्यमाथि खेलवाड गर्नु हो !

माघ ६, काठमाडौं । शिशु जन्मिएपछि बाबुआमाले आफ्नो आर्थिक अवस्था अनुसार पालनपोषण गर्नुपर्छ । शिक्षा दिक्षा, स्वास्थ्योपचार, खेलकुद तथा मनोरञ्जनका सुविधाहरु उपलब्ध गराउनुपर्छ । स्याहार–सुसारमा विशेष ध्यान पुर्याउनै पर्छ ।
यी बालबालिकाको नैसर्गिक अधिकार हुन्, दिलाउनै पर्छ ! त्यति सजिलो कहाँ छ र माता–पीता बन्न !
स–साना कुरा पाउन त केही गुमाउनैपर्छ भने अभिभावक बन्नका लागि केही थान रहरहरु मार्नैपर्यो । बढीभन्दा बढी समय उनीहरुसँग व्यतित गर्नैपर्यो । आफ्नो भविष्य दाउमा लगाउनै पर्ला ! रातको निन्द्रादेखि सौखसम्म त्याग गर्नैपर्यो !

पछिल्लो समय कामकाजी अभिभावकका बालबालिका स्याहारसुसार र पढाईमा केही हदसम्म मन्टेश्वरीले धेरै मद्दत गरेको छ । अभिभावकका आधा जिम्मेवारी काँध थापिदिएको छ । बाल–बच्चाको बौद्धिक, शारीरिक, मानसिक विकासका लागि ढाडस दिएको छ अभिभावकलाई । अभिभावकका अपुग समय, प्रेम, भावना सबै परिपूर्ति गरिदिएको छ ।
बिहान बेलुकी परिवारका साथमा हुने बाल–बालिका दिनभरी मन्टेश्वरीको काखमा हुन्छन् । त्यही प्राङ्गगणमा पढ्छन्, बढ्छन्, हुर्कन्छन् र विद्यालय जीवनका लागि तयार हुन्छन्, यदी वास्तविक मन्टेश्वरी भएमा…!
मन्टेश्वरी शिक्षा भनेको वातावरणीय र प्राकृतिक वस्तुहरूको आधारमा अध्यापन गरिने माध्यम हो । जहाँ आफ्नो जीवनमा आवश्यक पर्ने सबै काम आफैँ गर्नुपर्छ भनेर बालबालिकालाई सानै उमेरबाट आत्मनिर्भर बन्न प्रेरित गरिन्छ ।
भर्खर बोली टिप्न थालेका बालबालिकालाई सिकाएर, भनेर, रटाएर हुँदैन । भावनात्मक रुपमा सिकाइयो भने उसले सिकेका कुराहरु पछिसम्म रहन्छ भन्ने अवधारणामा विकास भएको हो मन्टेश्वरी । बच्चालाई बच्चा जस्तै बनेर हरेक चिजलाई हेर्न, छुन र अनुभव गर्न लगाएर सिकाउनुपर्छ ।
मन्टेश्वरीका शिक्षक–शिक्षिकाको स्वभाव पनि सरल, नम्र र शान्त हुनुपर्छ । बच्चाहरुलाई प्रेमको उत्तिकै आवश्यकता हुन्छ । त्यो पनि परिपूर्ति गर्न सक्नुपर्छ शिक्षकले । जोसुकैसँग बच्चालाई ह्यान्डिल गर्न सक्ने क्षमता हुँदैन ।
शिक्षकको व्यवहार उपयुक्त भएन भने बालबालिकाको कोमल भावनामा ठेस पुग्न सक्ने बालमनोविद् विजया विजुक्छे बताउँछिन्– ‘पहिले शिक्षकहरु फ्रेस हुनुपर्छ । हरेक कुरालाई मान, मर्यादा, आदरभावमा बच्चालाई बच्चाकै हिसाबले सिकाउनुपर्छ । उनीहरुको भावनामा ठेस पुर्याउनु हुँदैन ।’
मन्टेश्वरीमा प्रायः भर्खरै एसईई, +२ दिएका विद्यार्थीहरु टिचरका रुपमा हुन्छन्, जो कलिलो उमेर अर्थात् बालबालिकाकै क्याटेगोरीमा पर्छन् । जो मन्टेश्वरीको नेतृत्व गर्छन्, उनीहरु त परिपक्व हुन्छन् नै । तर जसले दिनहुँ बच्चाहरुसँग घुलमिल हुनुपर्छ, सम्झौता गनुपर्छ उनीहरु परिपक्व भइसकेका हुँदैनन् । यस्ता शिक्षक शिक्षिका राखेका मन्टेश्वरीमा बालबालिका भर्ना गर्नु गलत हो ।
किशोर–किशोरीहरु आफ्नै भावनालाई व्यवस्थापन गर्न सकिरहेका हुँदैनन्, बच्चाहरुको भावना, चाहना कसरी बुझ्न सक्छन् ? बच्चाको चिडचिडाहटले उनीहरुमा जलन हुन सक्छ । त्यसको रियाक्सन बालबालिकामा पर्न सक्छ । त्यसैले मन्टेश्वरीले शिक्षक छनौटमा विशेष ध्यान दिनुपर्छ ।
‘मन्टेश्वरीले शिक्षक छनौटमा ध्यान दिन सके बच्चाहरुलाई सिकाउन, बुझाउन र महशुष गराउन सहज हुन्छ । किशोर–किशोरीलाई भन्दा आमा भइसकेकालाई शिक्षिकाका रुपमा राख्ने हो भने उसले आमाको जस्तो हेरचाहमय वातावरण सिर्जना गर्न सक्छ’– मनोविद् विजया बताउँछिन् ।
जब बच्चा जन्मन्छ, उसको पहिलो विकास शारीरिक हुन्छ । विस्तारै उमेर बढ्दै जाँदा भावनात्मक विकास हुँदै जान्छ । त्यसपछि बुझ्ने क्षमता अर्थात् बौद्धिक विकास हुँदै जान्छ । यस्तो अवस्थामा शान्त तथा मायालु वातावरण बच्चाले पाएन भने पछि गएर समस्या हुन्छ ।
त्यसैले शिक्षक हुन् या अभिभावक, दुवैले बालबालिकाको भावनामा चोट नपर्नेगरी जीवनका विविध विषयहरु प्रयोगात्मक रुपमा सिकाउनु पर्छ । उनीहरुलाई पिट्नु हुँदैन । गाली पनि गर्नु हुँदैन । उनीहरुको भावनामा ठेस पुग्छ । भावनामा केन्द्रित भएर व्यवहार गर्नुपर्छ बालबालिकालाई । जसका लागि पर्याप्त भौतिक पूर्वाधार युक्त मन्टेश्वरी तालिम लिएका, बालमनोविज्ञान बुझ्न सक्ने शिक्षिकाहरुको रेखदेख चाहिन्छ ।
प्रि–स्कूल, मन्टेश्वरीका वातावरणमा हुर्किने बच्चाहरु प्रायः ५ वर्ष मुनिका हुन्छन् । ६ वर्षदेखि उनीहरु कक्षा एकमा जान्छन्, त्यो समयमा थोरै मात्रामा बौद्धिक विकास भइसकेको हुन्छ । ५ वर्ष मुनिका बालबालिकाको शारीरिक सँगै इमोश्नल ब्रेनको मात्रै विकास हुने हुँदा गल्ती गरेमा सम्झाउनुपर्छ, उनीहरुकै भाषामा ।
‘यस्तो गर्दा तिमीलाई गाह्रो हुन्छ, पोल्छ, मलाई चित्त दुख्छ, म तिमीसँग टाढा हुन्छु, यो काम फेरि तिमीले गरेनौ भने म फेरि तिमीसँग नजिक हुन्छु’ लगायतका भाषाहरु प्रयोग गरेर गलत कार्यबाट उनीहरुलाई रोक्नुपर्छ ।
वयस्कमा उसको बानी व्यवहार कस्तो हुन्छ, निर्धारण हुने भनेकै जन्मेदेखि ६ वर्षको उमेरसम्म हो । त्यो समयमा ऊ जस्तो खालको वातावरणमा हुर्किन्छ, त्यसैले निर्धारण गर्छ उसको भविष्य कता मोडिन्छ । कस्तो बन्छ ।
नराम्रा व्यवहारले बच्चाहरुमा देखिन सक्छन् यी समस्या !
बच्चाहरु सही र गलत छुट्याउन सक्दैनन्, कारण र परिणाम बुझ्ने ब्रेनको विकास भइसकेको हुँदैन उनीहरुमा । यस्तो अवस्थामा उनीहरुको भावनामा ठेस पुगेमा नराम्रो महशुस गर्न सक्छन् । ‘मलाई माया गरेनन्, मलाई नआउने रैछ, म नजान्ने, खराब रहेछु’ जस्ता नकारात्मक भावनाहरु आउन सक्छ मन–मस्तिष्कमा । यस्तो भावना बालबालिकामा आउन नदिनु मन्टेश्वरी र अभिभावकको जिम्मेवारी हो ।
बालबालिकालाई कराउँदा, पिट्दा उनीहरु आँखामा आँखा जुधाएर, शिर ठाडो पारेर हेर्न सक्दैनन् । आफ्नै अभिभावकसँग खुलेर बोल्न सक्दैनन् । उनीहरुमा केही नयाँ सिर्जना गर्ने आँटै आउँदैन । डर पैदा हुन्छ । र पछि गएर किशोरावस्थामा कुलततिर मोडिन सक्छन् । त्यसैले जन्मेदेखि ६ वर्षको उमेरसम्म उनीहरुलाई निकै केयर गर्नुपर्छ ।
अभिभावकले बालबच्चाको पोषणमा र शिक्षा दिक्षामा मात्रै ध्यान दिएर हुँदैन । उनीहरुलाई समय पनि दिनुपर्छ ।
आजकल अभिभावकले बच्चाहरुलाई १० महिनादेखि नै मन्टेश्वरीमा राखेको पाइन्छ । यो सबैभन्दा गलत हो । बच्चाहरु अढाई वा तीन वर्ष भएपछि मात्र मन्टेश्वरीमा राख्दा उपयुक्त हुन्छ । तीन वर्षदेखि ५ बच्चाहरुको सिक्ने समय हो ।
मन्टेश्वरीमा बालबालिकालाई दैनिक अढाई–तीन घण्टासम्म राख्नु उपयुक्त हुन्छ । ५–६ घण्टा राख्दा समस्या आउन सक्छ । बाबुआमा बाट धेरै समय टाढिँदा उनीहरुमा आमाबुवाप्रति नकारात्मक भावनाहरु उत्पन्न हुन सक्छ । पीडा, चिडचिडापन हुन्छ । रोइरहने हुन्छन् बच्चाहरु ।
बच्चाहरुमा जति हेल्दी विहेवियर हुन्छ उनीहरु हास्ने, खेल्ने, चकचक गर्ने, जिज्ञासु हुन्छन् । मनोविद् विजया भन्छिन्–‘बच्चाहरु भनेको छुकछुक गर्नैपर्छ । डिमान्ड गर्नैपर्छ । दुःख दिनैपर्छ । यदी ऊ आवश्यकताभन्दा बढी ज्ञानी छ भने त्यो ज्ञानीपन होइन, डेभलप्मेन्टल इरोअर हो । यस्तो अवस्थामा अभिभावक ढुक्क भएर बस्नु हुँदैन । विशेषज्ञसँग भेटेर काउन्सिलिङ लिनुपर्छ ।’
भावनात्मक आत्मिएता नपाएका बालबालिकामा आत्मविस्वास हुँदैन । उनीहरु खुल्ला भएर मनलाग्दी व्यवहार गर्न सक्दैनन् । त्यसैले लामो समयसम्म मन्टेश्वरीमा बच्चा छोड्नु गलत हो । १ कक्षामा पुगेपछि भने केही हदसम्म लामो समयसम्म राख्न सकिन्छ । तर, त्यही बच्चाले १६/१७ वर्षको उमेरमा बच्चा बेलाको जस्तो उपद्रो गर्छ भने फेरि त्यो गडबड हो ।
कतिपय अभिभावकलाई पनि थाहा नहुन सक्छ बच्चाहरुलाई सिकाउने, डिल गर्ने तरिका । सही रुपमा कसरी अगाडी बढाउने, सक्षम नागरिक बनाउनका लागि जरादेखि कसरी तयारी गर्ने त ? त्यति ज्ञान नहुन सक्छ अभिभावकलाई ।
सही सिद्धान्तमा आधारित मन्टेश्वरीमा टिचरले आफ्नो ड्युुटी एकदमै राम्रोसँग गरेको हुन्छ । बच्चाहरुलाई कसरी स्याहार गर्ने कसको अगाडी कसरी नजिक जाने, के कुरा कसरी याद गर्नेदेखि लिएर कसरी व्यवहार गर्ने, कसरी बोलीचाली गर्ने सबै सिकाइएको हुन्छ ।
घर आइसकेपछि बच्चाले आमाबुवासँग त्यो ब्यवहार पाएन भने ऊ घरमा भन्दा स्कूलमा बढी रमाउन थाल्छ । त्यो भनेको बच्चाहरु आमाबाबुसँग टाढा हुनु हो ।
त्यसैले मन्टेश्वरीका टिचरले अभिभावकलाई बच्चासँग कस्तो ब्यवहार गर्ने सिकाइदिनु पर्छ । त्यस्तै अभिभावकले पनि बेलाबेलामा टिचरहरुसँग आफ्नो बच्चाको व्यवहार र गुनासो सोधिरहनु पर्छ ।
टिचरहरुले बच्चाको बारेमा केही गुनासो राख्दा आफ्नो बच्चा त्यस्तो छैन भनेर टार्नु हुँदैन । बच्चाको कमीकमजोरी कसैले सुनाउँछ भने गम्भीर भएर सुन्नुपर्छ । सुझाव लिनुपर्छ । विशेषज्ञसँग भेटेर परामर्श लिनुपर्छ ।
‘मेरो बच्चा यस्तो छँदै छैन’ भनेर बेवास्ता गर्नु भनेको उनीहरुको भविष्यमाथि खेलवाड गर्नु हो !
त्यस्तै शिक्षक–शिक्षिकालेपनि अभिभावक रिसाउँछन् कि भनेर बच्चाको समस्या खुलस्त पार्न डराउनु हुँदैन । बच्चामा समस्या छ भने निर्धक्क भन्नुपर्छ । अभिभावक रिसाएर बच्चा लिएर गयो भने के गर्ने ? भन्ने सोच्नु हुँदैन ।
बच्चा स्याहार्नु भनेको बिजनेस होइन !
अभिभावकले मन्टेश्वरी छनौटमा विशेष ध्यान दिनुपर्ने डिल्लीबजारस्थित मानसी किड्स प्यालेसकी प्रधानाध्यापक सीता अर्याल बताउँछिन् ।
‘अभिभावकले बच्चा राख्नु अगावै मन्टेश्वरी शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त हो या होइन, पहिले त्यो बुझ्नुपर्छ । मन्टेश्वरीका सिद्धान्तबारे सोध्नुपर्छ । त्यहाँको वातावरण हेर्नुपर्छ । शिक्षकहरुको व्यवहार बुझ्नुपर्छ’, प्रिन्सिपल अर्याल भन्छिन् ।
अभिभावकले सही मन्टेश्वरी छनौट गर्न सके बालबालिकाको भविष्य उज्जवल हुने उनको भनाई छ ।








