छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काकात्तिक १६, काठमाडौँ । छठ पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले एक शुभकामना सन्देशमार्फत स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेकी छिन् ।   

राष्ट्रपति भण्डारीले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धिका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने  विश्वास व्यक्त व्यक्त गरेकी छिन् । छठ पर्वले सामाजिक एकता प्रवद्र्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिको छ । 

उपराष्ट्रपतिद्वारा छठको शुभकामना 

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार र संस्कृतिले अत्यन्त धनी रहेको बताएका छन्।   

छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले हाम्रो विविधतायुक्त संस्कार, संस्कृतिले प्राकृतिक रुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाउनुका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ् गर्दै आएको उल्लेख गरेका छन् ।   

उदाउँदो र अस्ताउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्दति मानिएको संसारकै मौलिक पर्वको रुपमा  छठलाई लिइने उनको भनाइ छ ।   

छठ पर्वको अवसरमा उपराष्ट्रपतिले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा हार्दिक शुभकामना व्यक्त गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले नेपाल भरिपूर्ण राष्ट्र भएको उल्लेख गरेका छन् ।   

उनले सन्देशमा भनेका छन् “पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्य उपसासना गरेर तराई मधेसमा मनाइने छठ पर्व आज अन्य क्षेत्रमा पनि विस्तार हुँदै आएको छ । छठले तराई–मधेसलाई पहाड हिमालसँग जोड्ने गरेर सुखद सन्देश दिंदै आएको छ ।” 

उपराष्ट्रपतिले  यस पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ् गर्ने  विश्वास व्यक्त गरेका छन् । छठ पर्वले  ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्दै समुन्नत र समृद्ध राष्ट्र निर्माणको महाअभियानमा हातमा हात मिलाएर अघि बढ्न सबै नेपालीलाई प्रेरणा दिनेनैछ भन्ने उनले कामना समेत गरेका छन् ।   

प्रधानमन्त्रीको शुभकामना   

प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गरेका छन् ।  

“यो कृतज्ञता र प्रकाशको चाड हो । यो न्यानोपनको चाड हो । यो जीवनको र सृष्टिको चाड हो” उनले  सन्देशमा भनेका छन्, “यो सम्पूर्ण सृष्टिप्रति सर्वाधिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुति गर्ने चाड हो र यसले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत गर्ने चाड हो ।” 

प्रधानमन्त्री ओलीले छठपर्वले मानव जीवनलाई उज्यालो तथा सुख समृद्धितर्फ जान उत्प्रेरित गर्ने बताएका छन् । उनले सन्देशमा भनेका छन्, “छठपर्व सूर्यको आराधना र प्रार्थना गरेर मनाउने तथा सूर्यबाट आफूले पनि तमसोमा ज्योतिर्गमय भनेर उज्यालो र सुख, समृद्धितर्फ जान प्रेरित गर्दछ ।” 

छठपर्वमा खासगरी सूर्यलाई भगवानको रुपमा पूजा गरिने स्मरण गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा सूर्यलाई नवग्रहकै उत्पत्तिकर्ता, सृष्टिकै उत्पन्नकर्ता तथा आदिदेवको रुपमा सम्झना गरिने उल्लेख गरेका छन् ।   

उनले स्वेदश तथा विदेशमा बसेर छठपर्व मनाउने सबैप्रति सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =