अब,लाम लागेर गाडी चढ्नुहोस्

अच्युत रेग्मी

काठमाडौँ, पुस २ । तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ । महाशाखाले आजदेखि काठमाडौँ उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्था मिलाएको हो । तिनमा एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिल छन् ।

लाम बसेर सवारी चढ्दा जो पहिले आएको हो त्यसले पहिलो प्राथमिकता पाउनेछ । अघिल्लो सार्वजनिक यातायातमा चढ्न नपाएका यात्रु लगत्तै पछिल्लोमा जान पाउनेछन् । बूढानीलकण्ठ–एनएसी मार्गका माइक्रोबस चालक विवेक तामाङ लाम बस्ने व्यवस्थाले आफूहरुलाई मानिस उकाल्न तथा ओराल्न सहज हुने बताउछन् । “मानिस ओर्लन पाएको छैन यात्रुलाई चढ्न हतार हुँदा मानिस ठेलमठेल गर्न पुग्छन्, कोही त घाइते पनि हुन्छन्,”, उनले भने ।

यस्तै एनएसी– गोँगबु मार्गका माइक्रोबस चालक रुद्र खड्का लाम बसेर चढ्ने बानी बसाल्दा सवारी चालक तथा सहचालकलाई काम गर्न सहज हुने स्पष्ट गर्छन् । “मानिस एक मिनेट भए पनि चाँडो गन्तव्यस्थलमा जान खोज्दा सवारी भीड हुने गर्छ,”, उनले भने।

एनएसीबाट बूढानीलकण्ठ जान लागेकी राधिका सापकोटा बस कहाँ पाइन्छ भन्नेबारे सूचनापाटी नराख्दा अन्योलमा परेको गुनासो गर्छिन् “लाइन त बस्ने भनियो, कुन रुटको गाडी कुन ठाउँमा पाइन्छ भन्नेबारे हामीले कसरी थाहा पाउनू”, उनले भनिन् ।

यी केवल प्रतिनिधि पात्र मात्र हुन् । धेरै यात्रु सवारीमा हुने दैनिक धकेलाधकेलका कारण हिँडेर भए पनि गन्तव्यस्थलमा जान बाध्य छन् । केही महिना अगाडि मात्र काठमाडौँ खरीबोट– वनस्थली हुँदै रत्नपार्क चल्ने सवारी साधनले यात्रुलाई लाममा बसेर सवारी चढ्ने व्यवस्था मिलाएको थियो । उक्त कार्यक्रम अहिले पनि सञ्चालनमै छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल यात्रुले सवारी चढ्दा भोग्नुपरेको दुःखकष्टमा कमी ल्याउन महाशाखाले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिन्छन् । “यात्रु दुःख पाएर सवारीमा जानुभन्दा एकछिन संयम भएर सवारीमा सुरक्षित गन्तव्यस्थलसम्म पुग्नका लागि हामीले यो कार्यक्रम चलाएका हौँ”, उनले भने ।

 

महाशाखाले सो अभियान एक हप्तासम्म प्रत्येक दिन बिहान–बेलुका कार्यालय सञ्चालन हुने समयमा चलाउने छ । शुरुको समयमा अभियान सञ्चालनमा केही समस्या परे पनि विस्तारै बानी पर्दै जाने महाशाखाले विश्वास लिएको छ । मर्यादित र व्यवस्थित ट्राफिक होस् भन्ने चाहना महाशाखाको रहेको उनको भनाइ छ ।

सो अभियानलाई सहयोग पु¥याउन महाशाखाले स्काउट र स्वयम्सेवकसमेत परिचालन गर्नेछ । नयाँ सडकको प्रवेशद्वार एनएसीबाट मात्र काठमाडौँ उपत्यकाका ८६ स्थानमा जाने सवारी पाइन्छ । उक्त स्थानमा अभियान सञ्चालन गरे धेरै ठाउँमा सहयोग पुग्ने विश्वास महाशाखाको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =