अन्तत : करिश्मा हिरोइन मात्र बन्ने भइन्, देब्रे आँखाले देखेन संसद

“
मंसिर २८, काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक तथा गोारखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सदस्य पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी राष्ट्रिय पार्टी नबन्ने भएपछि नायिका करिश्मा मानन्धर पनि सांसद नहुने भएकी छिन् । पार्टीले तीन प्रतिशत मत ल्याएको भए नयाँ शक्तिका तर्फबाट समानुपातिक बन्दसूचीमा रहेकी करिश्मासहित चार जना सांसद हुन्थे। तर, राष्ट्रिय पार्टी हुन बञ्चित भएसँगै उर्नी सांसद नबन्ने भएकी छिन् ।
वाम गठबन्धनबाट माओवादीका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भए पनि संसदमा उनी स्वतन्त्र सांसद बन्ने पक्का देखिएको छ । निर्वाचन आयोगका अनुसार कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेको थियो। बिहीबार दिउँसो साढे चार बजेसम्म ८३ लाख (बदर मत बाहेक) गणना भइसक्दा नयाँ शक्तिको आँखा चुनाव चिह्नमा देशभरबाट ७३ हजार मतमात्रै आएको छ। यो गणना भइसकेको कूल मतको १ प्रतिशतभन्दा पनि कम हो। त्यस्तै, राजमो, विवेकशिल साझा, नेमकिपा र राप्रपा पनि राष्ट्रि पार्टी बन्नबाट बञ्चित भएका छन् ।
गणना गर्न बाँकी मत धेरै नरहेकोले नयाँ शक्तिले तीन प्रतिशत मत ल्याउन सम्भव छैन। तीन प्रतिशत मत नआएसम्म समानुपातिकबाट प्रतिनिधि सभामा कुनै सिट पाइँदैन। जनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार समानुपातिकमा तीन प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेको दल मात्र राष्ट्रिय मान्यताप्राप्त दल हुन्छ।
भट्टराईले प्रत्यक्ष चुनाव जितेको गोरखाबाटै अहिलेसम्म साढे १८ हजार मतमात्रै प्रतिनिधि सभाका लागि समानुपातिकमा प्राप्त भएको छ। जबकि लोकतान्त्रिक गठबन्धनसँगको तालमेलबाट उम्मेदवार बनेका भट्टराईले ३१ हजार ८ सय मत ल्याई नारायणकाजीलाई पराजित गरेका थिए।
समग्र मतमा नयाँ शक्ति राप्रपा र विवेकशील साझा भन्दा पछाडि छ तर मतको अन्तर ठूलो छ।
प्रदेश सभामा नयाँ शक्तिले प्रदेश ४ मा एक सिट समानुपातिकमा पाउने सम्भावना भने कायम छ। प्रदेश ४ मा नयाँ शक्तिले एउटा सिट प्रत्यक्षमा पनि जितेको छ।
“








