होटेल म्यानेजमेन्टमा महिला आकर्षण, कारण यस्तो छ

“
गोमा परियार
काठमाडौं, मंसिर २८ । धादिङकी २१ वर्षीया संगीता तामाङ भविष्यमा होटेलमा जागिर खाने लक्ष्य लिएर होटेल म्यानेजमेन्ट विषय पढिरहेकी छिन् । ललितपुर, भैँसेपाटीमा बसेर ग्वार्कोको क्वेस्ट इन्टरनेसनल कलेजमा पढ्ने संगीता भन्छिन्– सानैदेखि यो विषय र क्षेत्रमा रुचि थियो, त्यसैले यहीँ पढेँ ।
एकातिर समाजमा पुरुषले मात्रै होटेल व्यवसाय गर्नुपर्छ भन्ने सोच छ भने अर्कातिर होटेल म्यानेजमेन्ट भन्नासाथ भान्से काम गर्नुपर्छ भन्ने बुझाइ पनि छ । वास्तवमा यी दुवै गलत बुझाइ छन् । होटेल म्यानेजमेन्टमा चारवटा ‘डिपार्टमेन्ट’ हुन्छन्, फ्रन्ट अफिस, हाउस किपिङ, फुड एन्ड बेभरेज र फुड प्रोडक्सन सर्भिस । फ्रन्ट अफिसमा होटेलमा आउने पाहुनाको स्वागत, दर्ता र कोठा प्रदान गर्ने काम हुन्छ भने हाउस किपिङ भन्नाले कोठा सफा, स्वस्थ र सजाएर चिटिक्क बनाउने काम हो । फुड एन्ड बेभरेज सर्भिसमा कुन–कस्तो खाना हो, रेस्टुरेन्ट र बारमा खाने तथा पिउने कुरा कसरी सर्भ गर्ने, कुन प्लेटमा कसरी दिने भन्नेजस्ता कुरा पर्छन् । फुड प्रोडक्सन भने सामान्य भाषामा भान्से नै हो । यसमा चाइनिज, कन्टिनेन्टल, जापानी आदि विभिन्न किसिमका अन्तर्राष्ट्रिय परिकार तयार र सर्भ गर्ने तरिकामा ध्यान दिनुपर्छ ।
बुझ्ने भाषा नै गलत भएकाले पनि महिलालाई होटेल म्यानेजमेन्ट विषय पढ्ने अनुमति घरपरिवारबाट पाउन निकै मुस्किल छ । दाइले पनि यही विषय पढेकाले संगीतालाई भने घरपरिवारबाट समस्या परेन, बरु प्रोत्साहन र प्रेरणा नै मिल्यो । उनले भविष्यमा पाँचतारे होटेलको सक्षम सेफ बन्ने लक्ष्य राखेकी छिन् ।
तर, परिवारको साथले मात्र पनि पुग्दैन । समाजको सोचाइ फरक हुन्छ । संगीता भन्छिन्, ‘होटेलमा काम गर्न पनि पढ्नुपर्छ र ? भनेर सोध्छन्, म बुझाउँछु । सुरु–सुरुमा त नकारात्मक सोच्थँे, तर परिवारको साथ पाएकीले मैले समाजको टिप्पणीलाई मतलबै नगरी पढिरहेँ ।’ उनले अहिले आएर समाजको नजर पनि सकारात्मक बन्दै गएको महसुस गर्न थालेकी छिन् ।
संगीताकै कलेजमा पढ्ने ललितपुर, चापागाउँकी २० वर्षीया मनीषा तामाङलाई भने होटेल म्यानेजमेन्ट पढ्न घरपरिवारबाट सुरुमा अलि समस्या नै भएको थियो । तर, ‘कन्भिन्स’ गरेपछि पूरा साथ र सहयोग मिलेको छ । परिवार सन्तुष्ट छ, उनी खुसी छिन् । ‘सुरुमा त सानो होटेलमा भान्से काम गर्ने भई भन्नेजस्तै लाग्थ्यो, खुसी लाग्ने कुरै भएन । तर, बिस्तारै छोरीले सबै कुरो बुझाएपछि राजी भयौँ,’ मनीषाकी आमा गोमा सुनाउँछिन् ।
गोल्डेनगेट इन्टरनेसनल कलेजका सिइओ रमेश सिलवालका अनुसार यो विषय अध्ययनका लागि पोखरामा दुई, विराटनगर र चितवनमा एक–एक तथा काठमाडौंमा ४८ वटा गरी नेपालमा जम्मा ५२ वटा कलेज छन् । सबै कलेजमा गरी १० हजारको हाराहारीमा विद्यार्थी छन् । कुल विद्यार्थीमा ६० प्रतिशत छात्र र ४० प्रतिशत छात्रा छन् । पहिला यही विषय अध्ययनका लागि नेपालमा ३८ वटा कलेज थिए र छात्रभन्दा छात्रा निकै कम हुन्थे ।
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले पहिलोपटक नेपालमा सन् १९९९ बाट त्रिविसँग सम्बन्धन लिएर होटेल म्यानेजमेन्टको पठनपाठन थालेको हो । त्यसपछि नेपालमा यो विषय पढ्ने लहर सुरु भयो । सन् २०११ देखि स्नातकोत्तर कक्षा पनि चलाउँदै आएको छ । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कान्तिपुर होटेल म्यानेजमेन्ट कलेजले पनि स्नातकोत्तरको कक्षा चलाएको छ ।
नेपालमा होटेल म्यानेजमेन्टको तीन तथा चार वर्षे कोर्समा आठ सेमेस्टर पढाइ हुने गर्छ । अधिकतम कलेजमा होटेल म्यानेजमेन्ट गर्न तीनदेखि चार लाख रुपैयाँसम्म खर्च हुन्छ । दश जोड दुई वा प्रवीणता प्रमाणपत्र तहको पढाइ पूरा गरेका विद्यार्थीले होटेल म्यानेजमेन्टमा भर्ना पाउँछन्।
स्वदेशमै वा विदेश गएर काम गर्न मात्र होइन, युवाहरूलाई स्वदेशमै रोजगारी दिलाउन पनि होटेल म्यानेजमेन्टको ज्ञान तथा सीप उपयोगी सावित भएको छ । त्यसैको परिणाम हो– पछिल्लो समय नेपालमा यो विषय पढ्ने विद्यार्थी बढेका छन् र त्यसमा पनि महिला विद्यार्थीको संख्या बढिरहेको छ ।
त्यसैमध्येकी एक हुन्– आफैँले रेस्टुरेन्ट चलाउने लक्ष्य लिएकी झापाकी २० वर्षीया किरण निरौला । काठमाडौं, पुरानो बानेश्वरको महिला छात्रावासमा बसेर गोल्डेनगेट इन्टरनेसनल कलेज, सिनामंगलमा पढिरहेकी किरण भन्छिन्, ‘होटेल म्यानेजमेन्टको अहिले राम्रो स्कोप छ र मेरो रुचि पनि यही भएकाले पढेँ, सन्तुष्ट छु ।
काठमाडौं, मूलपानीकी २१ वर्षीया विद्यालाई त बुबा रवि अधिकारी आफैँले कलेजमा पुगेर भर्ना गरिदिएका थिए । घरपरिवारबाट साथ पाए पनि समाजको नजर अझै नबदलिएको महसुस विद्यार्थीले गर्ने गरेका छन् । यस मामलामा गोल्डेनगेटकी किरण र क्वेस्टकी विद्या अधिकारीको उही अनुभूति छ । उनीहरूका थुप्रै साथीहरू पनि सामाजिक सोचको सिकार भएका छन्, जसले यो विषय पढ्न चाहेर पनि घरपरिवारले अनुमति नदिँदा पढ्न पाएका छैनन् ।
पढ्ने चाहना हुँदाहुँदै पनि घरपरिवारको सहमति र साथ नहुँदा पढ्न नपाउने छोरीहरूका लागि तामाङ परिवार भने उदाहरणै बन्न पुगेको छ । होटेलको काममा राति पनि काम गर्नुपर्छ । कहिलेकाहीँ इन्टर्नसिपबाट घर फर्किंदा रात पर्छ । राति सुरक्षितसाथ होटेलको गाडीले नै घरमा पुर्याइदिन्छ । त्यस्तो वेलामा तामाङदम्पती छोरीलाई कुरेर बस्छन् । छोरा र छोरी बराबरी भनेर जतिसुकै भने पनि समाजको विभेदपूर्ण नजर पूरै फेरिइसकेको छैन । परिणामस्वरूप, कहिलेकाहीँ आफन्त, छरछिमेकले अलि बढी चासो राख्न र कुरा काट्न खोज्छन् । तर, गोमा भन्छिन्, ‘छोरीप्रति पूरा भरोसा भएपछि त्यस्ता कुराको वास्ता गरिन्न ।’
यस्तो बुझाइसँग गोल्डेनगेटकी शिक्षिका सुजा दुलाल पूरै सहमत छिन् । समाजलाई कुरो बुझाउने भावमा भन्छिन्, ‘होटेल म्यानेजमेन्टलाई समाजले हेर्ने नजर जति गलत छ, उति नै यो राम्रो र सम्भावना भएको विषय हो । महिला र पुरुष दुवैमा यो विषय पढ्ने चाहना र रुचि बराबरी भए पनि महिलाप्रति विश्वास नगर्ने सामाजिक दृष्टिदोषका कारण महिलाको संख्या कम छ ।’
घरपरिवार र समाजबाहेक कार्यस्थल पनि त्यति सहज छैन । मनीषाको अनुभवमा कहिलेकाहीँ ग्राहकबाट अप्ठ्यारो परिस्थिति आइपर्छ । कुनै–कुनै ग्राहकले कुदृष्टिले हेर्ने र मोबाइल नम्बरसमेत माग्ने गर्छन् । त्यस्तो अवस्थामा आफूसँगै इन्टर्नसिपमा गएका पुरुष साथीहरूले साथ दिने र त्यस्ता ग्राहकको प्रतिवादसमेत गर्ने गरेको उनी बताउँछिन् । इन्टर्नसिपमा जाँदा होटेलका कर्मचारीले पनि सम्मानजनक र राम्रो व्यवहार गर्ने गरेका छन् । सहपाठी पुरुष साथीहरूको व्यवहार पनि मनीषा र संगीता दुवैले सहयोगी र मिलनसार नै पाएका छन् । इन्टर्नसिपमा यदाकदा ग्राहकको गलत नजरका कारण अलिकति दुःख लागे पनि अहिलेसम्म कुनै नराम्रो घटना भने व्यहोर्नुनपरेको किरणको भनाइ छ । शिक्षिका दुलालले भने होटेलको बारेमा राम्रोसँग बुझेर मात्र इन्टर्नसिपमा पठाउँदा विद्यार्थीलाई कुनै समस्या नपर्नेमा ढुक्क हुन सकिने उपाय सुझाइन् ।
अध्ययनपछि सीपको विकाससँगै सहजै रोजगारी पाइने, प्रयोगात्मक र उपयोगी भएकाले पनि यो धेरैको छनोटको विषय बन्नु स्वाभाविक भएको किरण पढ्ने कलेजका सिइओ रमेश सिलवाल बताउँछन् । ‘हातमा सीप भएपछि संसारको जुनसुकै कुनामा अवसर पाउन सकिन्छ,’ सिलवाल भन्छन्, ‘आफैँले पनि रोजगारी सिर्जना गर्न सक्ने क्षमताको विकास यो विषयको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।’
सिलवालकै कलेजकी विद्यार्थी गीता राउत उनले भनेजस्तै चाहना राख्छिन् । काठमाडौंको चाबहिलमा दाइ र बहिनीसँग बसेर पढिरहेकी उदयपुर, गाईघाटकी २१ वर्षीया गीताको लक्ष्य स्वदेशमै सेफ बन्ने वा आफैँले होटेल चलाउने छ । यही लक्ष्यले उनलाई बिबिए पढिदिए हुन्थ्यो भन्ने घरपरिवारको चाहना पूरा गर्नभन्दा परिवारलाई मनाएर होटेल म्यानेजमेन्ट पढ्न उक्सायो, उनी ढुक्कसँग पढ्दै छिन् । काठमाडौं, टेकुकी २० वर्षीया मनीषा खड्गीले पनि भविष्यमा आफैँले होटेल चलाउने लक्ष्य लिएकी छिन् ।
होटेल म्यानेजमेन्टले नेपालमा मात्र नभएर विश्वबजारकै लागि जनशक्ति उत्पादन गर्छ । विदेश गएर पढ्ने तयारी गरिरहेका नेपाली विद्यार्थीले त्यहाँ पुगेर काम गर्दै पढ्ने मानसिकता बनाउने गरेका छन् । नेपालमै होटेल म्यानेजमेन्ट अध्ययन गरेर जाँदा सहजै रोजगारी प्राप्त गर्न सकिने विद्यार्थीको बुझाइ छ । सिलवालका अनुसार नेपालको होटेल म्यानेजमेन्टको पढाइ पनि उत्कृष्ट छ।
त्यसैले पनि हुनुपर्छ, यो विषय पढेका ६० प्रतिशत विद्यार्थी अहिले बिदेसिने गरेका छन् । सिल्भर माउन्टेन स्कुल अफ म्यानेजमेन्ट, लैनचौरका शिक्षक सुमन रेग्मी आउँदो वर्ष भने यो संख्या घट्ने अनुमान गर्छन् । नेपालमा विदेशी र पाँचतारे होटेलहरू थपिँदै गएकाले यस्तो अपेक्षा गरिएको हो ।
नेपालमा यो विषयका जनशक्ति अभाव रहेको विज्ञहरू बताउँछन् । तर, पछिल्लो समयमा नेपालमा तारे होटेल थपिँदै गएकाले धेरै विद्यार्थी अहिले स्वदेशमै पनि राम्रो काम पाउने आशामा छन् । हरेक दिन नयाँ ग्राहकसँग साक्षात्कार हुने पेसा भएकाले रमाउँदै काम गर्न सकिने होटेल म्यानेजमेन्टको क्षेत्रमा रोजगारदाताले होइन, विद्यार्थीले रोजेर काम गर्न पाउने अवस्था बन्दै गएको छ । सिलवाल पनि होटेलको संख्या बढ्दै गएकाले यो विषयका जनशक्तिको देशभित्रै थप उज्ज्वल भविष्य देख्छन् ।
परिवर्तित समयसँगै परिवार र समाजको सोचाइ, मूल्य, मान्यता मात्र नभएर पेसा व्यवसायमा पनि परिवर्तन हुनु नौलो होइन । होटेल व्यवसाय भन्नासाथ पुरुषले मात्रै गर्ने काम हो भन्ने परम्परागत सोचाइमा क्रमशः परिवर्तन हुँदै आएको छ । यही परिवर्तनको परिणाम हो, पछिल्लो समयमा होटेल म्यानेजमेन्ट पढ्ने महिलाहरूको पनि संख्या निकै बढेको छ ।
“








